• अस्पतालभन्दा नर्सिङ होममा मर्न सस्तो

  • जीवनको अन्तिम समय नर्सिङ होममा बिताईरहेका मानिसहरुले अस्पतालमा मृत्यु हुनेले गर्ने खर्चको झण्डै पाँच भागको एक भाग मात्रै खर्च गर्ने गरेको एक अध्ययनले पत्ता लगाएको छ ।

    यो नतिजाकै कारण एल्डर्ली कमिशनका प्रमुखले आवासिय गृहमा जीवनको अन्तिम समयमा बाँचिरहेकाहरुलाई अझ धेरै सहयोग उपलब्ध गराउनेबारे विचार गर्न अधिकारीहरुलाई सुझाव दिएका छन् । कमिशनकै गैरसरकारी संस्थाले उक्त अध्ययन गरेको हो ।

    हेभन अफ होप क्रिस्चियन सर्भिसले गरेको उक्त अध्ययनले अस्पतालमा अन्तिम वर्ष बिताउने १ सय ६९ जना वृद्धहरुको लागत र समय अध्ययन गरेको थियो । सर्भिसले वृद्धहरुलाई जीवनको अन्तिम समयमा स्याहार सेवा लगायत अन्य विभिन्न स्वास्थ्य स्याहार सेवाहरु उपलब्ध गराउँदै आएको छ । अध्ययनमा सहभागीहरु सन् २०१० र अघिल्लो वर्षबीच चुङक्वानओस्थित संस्थाको नर्सिङ होममा बसेका थिए । तीमध्ये ५८ जना, त्यही मृत्युवरण गर्ने व्यवस्था रहेको नर्सिङ होमको एउटा योजनामा सहभागी भएका थिए । योजनामा सहभागी नभएका अन्य १ सय ११ जनाको अस्पतालमा मृत्यु भएको थियो ।

    शहरको जनसंख्या वृद्ध हुँदै गएको अवस्थामा अन्तिम समयसम्म उपलब्ध गराईने यस्तो स्वास्थ्य स्याहार सेवा सान्दर्भिक बन्दै गएको छ । सन् २०३८ सम्म ६५ वर्ष वा सोभन्दा माथि उमेरका मानिसहरु हङकङको कुल जनसंख्याको ३० प्रतिशत हुने सरकारको अनुमान छ । यो संख्या यो वर्षभन्दा १७ प्रतिशत बढी हो ।

    अन्तिम समयसम्म स्वास्थ्य स्याहार उपलब्ध गराउने योजनामा सहभागी हुनेहरुको मध्यिका लागत खर्च सहभागी नहुनेहरुको भन्दा ६६ हजार ८० हङकङ डलर वा १७ प्रतिशत कम रहेको अध्ययनले देखाएको छ ।

    प्रत्येक वर्ष नर्सिङ होममा बस्ने ५ हजार २ सय ५० जनाले त्यही नर्सिङ होममै मृत्युवरण गर्न चाहेको उल्लेख गर्ने अन्य अध्ययनहरुको अनुमानको आधारमा, ती सबै वृद्धहरुले आफ्नो अन्तिम समय नर्सिङ होममै बिताए अन्तिम समयको स्याहार सेवा वापतको खर्चमा सरकारले प्रति वर्ष ३४ करोड हङकङ डलर बचत गर्न सक्ने अनुसन्धाताहरुले अनुमान गरेका छन् ।

    हङकङको एल्डर्ली कमिशनका प्रमुख तथा कार्यकारी परिषद् सदस्य समेत रहेका हेभन अफ होपका प्रमुख कार्यकारी अधिकृत लाम चिङ–चोईले अस्पतालमा थोरै दिन बिताउने भएकाले नै नर्सिङ होममा मृत्यु हुनेहरको उपचार खर्च थोरै हुने गरेको बताए ।

    “सम्बन्धित व्यक्तिलाई नबचाउने बहुविधागत समूहको सहयोग र बिरामीको परिवारको मञ्जुरीले, बिरामीले नर्सिङ होममा बसेर स्याहार पाउन सक्छन्,” लामले भने,“अस्पतालभन्दा नर्सिङ होमको खर्च कम हुने भएकाले, यस्तो भिन्नताले श्रोतहरुको न्युन प्रयोग हुन्छ ।”

    हङकङमा करिब ९३ प्रतिशत मृत्युहरु अस्पतालमा हुने भएकाले, धेरै हङकङेलीले चाहेको तरिकाले मृत्युवरण गर्न कठिनाई हुने लामले बताए ।

    “धेरै वृद्धहरु एउटा पारिवारिक र शान्त वातारणमा शान्तिपूर्वक मृत्युवरण गर्न चाहन्छन्,” लामले भने,“तर हङकङमा यस्तो गर्नु सजिलो छैन ।”

    शहरका धेरै स्याहार गृहहरु मर्न लागेका बिरामीलाई निश्चित स्वास्थ्य स्याहार दिनलाई तयार नभएको, र त्यस्ता नर्सिङ होममा अन्तिम समयको स्याहार सेवा सुदृढ गर्न सरकारले अझ धैरे लगानी गरी सहयोग गर्नेबारे सरकारले विचार गर्नुपर्ने उनले बताए ।

    “ती नर्सिङ होममा अझ धेरै चिकित्सक र नर्सहरु नियुक्त गर्न, र स्वास्थ्य उपचार गर्ने कर्मचारीहरुलाई जीवनको अन्तिम समयमा गर्ने स्याहारबारे तालिम दिन अझ धेरै श्रोत थप्न सकिन्छ,” लामले भने ।

    “जीवनको अन्तिम समयमा गरिने स्याहार योजना र अस्पतालभन्दा बाहिर पनि पीडा न्युनिकरण गर्ने स्याहारको व्यवस्था सहजीकरण गर्न एउटा अझ बलियो नीति र वैधानिक ढाँचा अवलम्बनबारे विचार गर्न” सरकारले अघिल्लो वर्षको आफ्नो नीतिगत एजेन्डामा तय गरेको फुड एन्ड हेल्थ ब्युरोका एक प्रवक्ताले बताए । नीतिगत एजेन्डा शहरको कार्यकारी प्रमुखको वार्षिक नीति सम्बोधनसँग जारी गरिएको विस्तृत पूरक हो ।

    वृद्धहरुको स्वास्थ्य स्याहार सेवाको गुणस्तर अध्ययन गर्न ब्युरोेले चाईनिज युनिभर्सिटीलाई खटाएको छ । जीवनको अन्तिम अवस्थामा गर्नुपर्ने स्याहार सेवामा सुधार ल्याउन यसले व्यवस्थापिका प्रस्तावहरुलाई सिफारिश गर्नेछ ।

    -एलिजाबेथ च्योङ/एससीएमपी

  • कमेन्ट गर्नुहोस्