• यी चिनियाँ : जो नेपाली बोल्छन्; गुन्द्रुक, किनिमा खान्छन्

  •  

    नेपालीहरूको बाक्लो बसोबास रहेको हङकङको जोर्डनमा एकजना चाइनिज वृद्ध आफ्नो सानो साउन्ड बक्समा नारायण गोपालको गीत बजाउँदै नेपाली पसलभित्र पसे । उनी नेपाली सामान खोज्दै आएका रहेछन् ।

    भारतको दार्जीलिङमा जन्मे–हुर्केका उनी फरर नेपाली बोल्छन् । नेपालसँग सीमा जोडिएको र नेपालीभाषीको बाक्लो बस्ती रहेको दार्जीलिङमा उनको चाइनिज नाम उच्चारण गर्न हतपत कसैले नसक्ने । त्यसपछि उनको नाम राखियो दिलिपकुमार । उनी भारतबाट १९८७ मा चाइना र चाइनाबाट १९९२ तिर हङकङ आएका रहेछन् । उनको मनपर्ने खानेकुरामा गुन्द्रुक, सिन्की पर्दोरहेछ । उनी नेपाली गीतहरू खुब सुन्दा रहेछन् । पुराना नेपाली गीत त उनलाई मुखमै कण्ठस्थ छन् । उनले नेपाली गीत गाएरै सुनाए,

    हे कान्छा मलाई सुनको तारा खसाइदेऊ न

    त्यो तारा मात्र होइन जुन पनि झारिदिउँला

    दिलिपकुमारका साथी लोङ पो साङ पनि फरर नेपाली बोल्दा रहेछन् । नेपाली अक्षर चिन्दा पनि रहेछन् । दार्जीलिङको चोकबजारमा जन्मिएका उनी सन् १९८४ मा हङकङ आएका रहेछन् । उनलाई पनि किनिमा, गुन्द्रुक मन पर्छ । उनी पनि नेपाली गीतहरू गाउन उत्तिकै रमाइलो मान्दा रहेछन् । उनको परिवारमा दिदी र अरु आफन्तले पनि नेपाली बोल्छन् । उनले दार्जीलिङमै सिकेको नेपाली गीत सुनाउने इच्छा देखाउँदै भने, “तपाईंले गाना सुन्छौ ?” त्यसपछि उनले विभिन्न गीत गाएर सुनाए ।

    दार्जीलिङमा जन्मिएका उनीहरू भारतबाट चाइना गएर पछि हङकङ आएको बताउँछन् । उहिले उनीहरूका बाबुबाजे जापानसँगको लडाइँमा भागेर दार्जीलिङ पुगेका थिए । त्यसपछि उनीहरूको उतै जन्म भयो । पछि चाइना र भारतको पनि लडाइँ भएपछि भारतले चाइनातिरै पठाइदियो । त्यसपछि चाइना सरकारले लग्यो ।

    नेपाली भाषा फरर बोले पनि उनीहरू नेपाल भने पुगेका रहेनछन् । सानैमा यता आए पनि घरमा हुँदा नेपाली भाषा नै बोल्छन् रे ।

    एक पटक दिलिपकुमार एमटीआरमा चढ्न हतार–हतार दौडिंदा नेपाली महिलासँग ठोक्किएछन् । उनले “कस्तो मात्तिएको बुढो” भनेर गाली गरिन् । उनले नेपाली बुझिहाले । त्यसपछि “माफ गरिदिनुस् बहिनी, गाडी जान लागेको थियो, हतार भयो । तपाईंलाई ठक्कर लागेछ ।” भनेपछि उनी पनि छक्कै परेर “आबुई, यो त चाइनिज होइन रहेछ !” भन्दै हिंडिन् ।

    उनीहरूलाई सिद्रा, कालो दाल मन पर्छ । साङ आफ्नी दिदीसँग पनि नेपालीमा बोल्छन् । दिलिपकुमारको त सन्तानै नेपाली बोल्छन् । उनीहरूका छोराछोरी पनि नेपाली बोल्छन् तर नातिनातिना भने बोल्दैनन् । उनीहरूलाई भने चाइनिजभन्दा नेपाली भाषा नै सजिलो लाग्छ रे । उनीहरू हिन्दी पनि बोल्छन् । ७४ वर्ष पुगेका साङ र उनीभन्दा जेठा दिलिपकुमार अब उमेर ढल्केकोले दार्जीलिङ जान नसक्ने बताउँछन् ।

    नेपालीहरू छक्क पर्छन्

    उनीहरू हङकङमा नेपालीसँग बोल्दा नेपालीहरू ‘चाइनिज हो कि नेपाली ?’ भनेर झुक्किंदा रहेछन् । साङ सुनाउँछन्, “तिमी गुरुङ हो ? भनेर सोध्छन् ।” कतिले त नपत्याएर चिनियाँ आईडी देखाउ भन्छन् । आईडी देखाएपछि भने उनीहरू चकित परेको उनको अनुभव छ ।

    उनको पुस्ताका अधिकांशले घरमा नेपालीमा कुरा गर्छन् तर नाति पुस्ता भने नेपाली बोल्न जान्दैनन् । उनीहरू नेपाली सिकाउन कति कोशिश गर्छन् रे तर के सिक्नु ! अहिले हङकङमा रहेका नेपालीका सन्तान त नेपाली बोल्न जान्दैनन्, उनीहरू त चाइनिज पो !

    दिलिपकुमारको ठूलो परिवारमा धेरैले नेपाली बोल्छन् । उनका अनुसार समूहका करिब सय जनाले नेपाली बोल्छन् । उनी बाटोमा हिंड्दा नारायण गोपालको गीत सुन्दै हिंड्छन् । उनले मोबाइलको एसडी कार्डमा टन्नै नेपाली गीत राखेका छन् । उनीहरू हङकङमा पनि नेपालीहरूको चाड–पर्वमा लाग्ने नेपाली मेलाहरूमा पुग्दा रहेछन्– नेपाली सामानहरू किन्न र नेपाली गीत–संगीत सुन्न । नेपालीहरू चाहिं उनीहरूले फरर नेपालीमा बोलेको सुनेर दङ्ग पर्दा रहेछन् ।

    एक पटक हङकङको खाना पाइने पसलमा पुगेर दिलिपकुमारले ‘तरकारी राम्रोसँग पोको पारेर झोलामा हालिदिनू’ भनेर नेपालीमा भनेछन् । अघिदेखि उनीसँग चाइनिज भाषामा बोलिरहेकी त्यहाँ काम गरिरहेकी नेपाली महिला चकित परिछन् । “तपाईं चाइनिज होइन र ?” भनेर सोधेपछि उनले भनेछन्, “हो त ।” तर उनले नेपाली भाषा बोलेको सुनेर हतपत पत्याइनन् । उनी अचम्ममा परिन् र अरुलाई पनि सुनाइछन् ।

    अर्को पटक उनी एमटीआरमा चढ्न हतार–हतार दौडिंदा नेपाली महिलासँग ठोक्किएछ । उनले “कस्तो मात्तिएको बुढो” भनेर गाली गरिन् । उनले नेपाली बुझिहाले । त्यसपछि “माफ गरिदिनुस् बहिनी, गाडी जान लागेको थियो, हतार भयो । तपाईंलाई ठक्कर लागेछ ।” भनेपछि उनी पनि छक्कै परेर “आबुई, यो त चाइनिज होइन रहेछ !” भन्दै हिंडिन् । उनी भन्छन्, “नेपालीमा आफूभन्दा ठूलालाई दाजु, दिदी भन्नुपर्छ, आफूभन्दा सानालाई भाइ, बहिनी भन्नुपर्छ ।”

  • कमेन्ट गर्नुहोस्