नेपालका राजनीतिक पार्टी र विदेशमा बस्ने हामी नेपाली
तिथिमिति यकिन भएन, नेपालमा पछिल्लो आम चुनावको चहलपहल थियो । उतिवेला एमाले, माओवादी र कांग्रेस मुख्य प्रतिस्पर्धी थिए । स्वाभाविक रूपमै विदेशमा रहेका भातृ संगठनबाट चुनावी खर्चको लागि आर्थिक सहयोग मागिन्छ र जिम्मेवार पदमा बसेकाहरूले पठाउँछन् वा पठाउनैपर्छ ।
त्यहीवेलाकै सेरोफेरोमा चुनाव अगाडि एक दिन मोबाइलको घण्टी बज्यो चिरपरिचित आवाजमा–
“हेलो, भाइ नमस्कार !”
“नमस्कार दिदी !”
“लौ, नेपालमा चुनावको लागि पार्टीको विदेश विभाग, हङकङबाट आर्थिक सहयोगको माग आएको छ कमरेडहरूबाट । तपाईंको नाममा कति राखिदिऊँ ?”
मैल भनें, “पटक–पटक सरकारको साँचो हातमा लिएका कमरेडहरू र पार्टी आर्थिक रूपमा सबल छन् त ! अब त विदेशमा बसेर दुःख गर्नेहरूसँग चन्दा उठाउन छोडे हुँदैन र ? लेबी अझै उठाइन्छ रे । अझ, भ्रष्टाचारका समाचारमा पार्टीकै मान्छेहरूको नाम सुनिन्छ/मुछिन्छ त ?!”
दिदीले सधैंझैं जोसिलो स्वरमा भनिन्, “केही एकाध मान्छेहरूको नाम मुछिए पनि वा गलत गरे भन्दैमा हाम्रो सिङ्गो गौरवशाली पार्टीलाई त्यस्तो आक्षेप लगाउन भएन नि कमल भाइ, तपाईंजस्तो बुझेको मान्छेले !”
“होला दिदी ! म त कुनै राजनीतिक पार्टीको सदस्य पनि होइन । आजकलको राजनीति देखेर त साह्रै वितृष्णा पो लाग्छ । यो पार्टीसार्टीहरूलाई भन्दा नेपाल जाँदा आफ्नै हातले गरिब–गुरुवाहरूलाई दियो भने धर्म होला बरु ।”
हङकङमा एक त रेष्टुरेण्ट व्यवसायी, सबैसँग सम्बन्ध सद्भाव राख्नैपर्यो । त्यसमाथि पनि दिदीकै अगुवाइमा रेष्टुरेण्टमा विभिन्न कार्यक्रम, सभा–समारोह हुने भएकोले पाँचसय डलर राखिदिनुस् न त भनें ।
“कहाँ हुन्छ भाइ, तपाईंजस्तो हङकङको पहिलो नेपाली संस्था ‘फियोना’को संस्थापक अनि व्यवसायीले त्यति दिएर ? एकहजार डलर त कन्ट्रक्सनमा काम गर्ने भाइहरूले पनि स्वेच्छाले दिइरहेका छन् । लौ, एकहजार नै राखिदिएँ मनले जितेर । हाम्रो पार्टीलाई चुनावमा एक नम्बरमा ल्याउनु पर्छ” भन्दै फोन राखिन् ।
यी दिदीको बोलीमा आत्मविश्वास, पार्टीप्रतिको इमान्दारिता र जोस सुनेर खुशी र नरमाइलो दुवै लाग्यो । खुशी यस मानेमा कि हङकङमा एमाले पार्टी राजनीतिमा आबद्ध यी दिदीको जोस, पार्टीप्रतिको विश्वास र सकारात्मक इमान्दारिता यथावत् छ जहिल्यै । दुःख यस मानेमा कि नेताहरू पनि यी दिदीजत्तिकै नैतिक तथा आर्थिक मामिलामा देश, पार्टी र जनताप्रति इमान्दार एवं बफादार भइदिएको भए देश कस्तो हुन्थ्यो होला ?
यस्तै नेपालको अर्का ठूलो राजनीतिक पार्टीको अधिकांश कार्यक्रम कङ्गन रेष्टुरेण्टमा हुँदा यो ‘कङ्गन’ होइन ‘कांग्रेस’ रेष्टुरेण्ट भन्नुपर्ला अब भनेर हाँसो गर्छु म । हुनतः यो पार्टीका धेरै केन्द्रीय नेता तथा मसँग भेटघाट भएका पूर्व प्रधानमन्त्री र मन्त्रीहरूका तस्वीरहरू रेष्टुरेण्टको फोटो ग्यालरीमा देखेर मलाई पनि यही पार्टीको होला भनेर लख काट्छन् कतिपयले । यो पार्टीमा आस्था राख्ने मित्रहरूको पनि चुनाव आएपछि हङकङबाट आर्थिक जोहो पठाइदिने हल्लाखल्ला हुन्छ । किन हो कुन्नि, उनीहरूले चाहिं मसँग माग्दैनन् कहिल्यै । यद्यपि; दिनमा १२/१४ घण्टा काम गर्ने युवाहरू मुठी खोलेरै सहयोग गर्छन् पार्टीलाई पर्दा । अझ नेता गणहरू हङकङ आउँदा होटलको बसाइ, खानपिन, घुमफिर र प्रायोजन गर्ने मनकारी मनहरू धेरै छन् यो पार्टीमा । अझ कतिले त गरुङ्गा उपहार समेत किनेर दिन्छन् ।
“पहिलो गणतान्त्रिक राष्ट्रपति मधेसीमूलका, अहिलेकी राष्ट्रपति महिला त्यो पनि दोस्रोपटक पनि तारतम्य मिलाएर पड्काइन्, जनजातिमूलका सभामुख भैसके, प्रधानसेनापति भैसके । मन्त्रिमण्डलमा भागबण्डा र देखावटी समावेशिताकै लागि भने पनि दलित, महिला, जनजाति, मधेसी सबै छन त !”
त्यस्तै; अर्का एक दिन चिरपरिचित तर कहिल्यै फोन नगर्ने एकजना मित्रको फोन आयो । शुरूमै भने, “कमलजी लौ है कमरेडले तपाईंलाई सम्झनुभएको छ ।” हँ ! मेरो त चिनजान छैन, कसरी सम्झिएछन् ! हङकङ आएका हुनसक्छन् वा पिताजीलाई चिनेका होलान् ! सोचमग्न भएँ एकछिन ।
उनैले कुरोको पुन्तुरो खोल्दै भने, “जनजाति, मधेसी, महिला, दलित, गरिब, किसान, सर्वहाराको हकहितको लागि अब यी पार्टीबाट सम्भव छैन । अर्का क्रान्ति गर्नुपर्ने भयो ।”
फेरि उही पुरानो, प्रयोग गरिसकिएको, खासगरी चुनावताका मात्रै जनतालाई आस देखाउने विशेषगरी वामपन्थीहरूको ‘डेट एक्सपायर’ रटान यी कमरेडले पनि कण्ठै गरेछन् भन्ठानें मनमनै ।
मैले भनें, “पहिलो गणतान्त्रिक राष्ट्रपति मधेसीमूलका, अहिलेकी राष्ट्रपति महिला त्यो पनि दोस्रोपटक पनि तारतम्य मिलाएर पड्काइन्, जनजातिमूलका सभामुख भैसके, प्रधानसेनापति भैसके । मन्त्रिमण्डलमा भागबण्डा र देखावटी समावेशिताकै लागि भने पनि दलित, महिला, जनजाति, मधेसी सबै छन त !”
उनले भने, “एकाध मान्छेलाई टिपेर लगिए पनि आमजनताले हक–अधिकार पाएनन् । अब अन्य पार्टीबाट गणतान्त्रिक छलाङ मार्न नसकिने भएकोले हाम्रो पार्टीलाई जिताउन आर्थिक सहयोग चाहियो ।”
पछि थाहा भयो यी कमरेडले हङकङमा अरू धेरैलाई यही भाकामा फोन गरेका रहेछन् ।
दुई वर्ष अगाडि पुनः सशस्त्र क्रान्ति गर्ने भन्दै भूमिगत भएका यिनका नेता एक्कासी बालुवाटारमा प्रकट भए हालसालै । प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग तीन बुँदे सही गरेर एउटा गणतान्त्रिक छलाङ मारे । अब कति कहाँ–कहाँ मार्ने हुन् हेर्न बाँकी नै छ ।
जे होस्, सानै रूपमा भए पनि फैलिएको हिंसा, हत्या, चन्दा आतंकबाट भने जनताले राहत पाउने भए अब । अझ मूल कुरा त बन्दुकलाई बन्दुकले नै तह लगाउनी सरकारी निर्णयले निकै सकस खेपिरहेको यो भूमिगत पार्टीलाई सुरक्षित अवतरण गराउन यी नेता आत्तिएका थिए । दोस्रो; अहिलेको राजनीतिक बबण्डर र रडाकोमा मैले गर्दा यो भएको भन्ने काम देखाउन खड्गप्रसाद ओली पनि आतुर थिए । उही नेपाली उखानजस्तै ‘बिरामीले खोजेको नि तातोपानी, वैद्यले बताएको नि तातोपानी’ !
एमालेबाट अलग्गिएर ‘संघीय समाजवादी’ हुँदै अहिले ‘जनता समाजवादी’ भएको पार्टीले पनि मासिक लेबी र वार्षिक सदस्यता नवीकरण आदि इत्यादिको एकमुष्ट रकम केन्द्रमा पठाउने गरेको रहेछ । अझ चुनाव खर्चको लागि भनेर छुट्टै स्वेच्छिक संकलन गरेर पठाइने गरेको बताउँछन् पार्टीका एक भुक्तभोगी ।
यी बाहेक आफूहरूलाई हङकङमा नेपालको राष्ट्रवादी पार्टीको प्रतिनिधि भन्न रुचाउने युवाहरू सानै संख्यामा भए पनि सक्रिय छन् । संस्थागत र शुभचिन्तकहरूबाट सहयोग स्वरूप संकलन भएको नोटको बिटो केन्द्रीय नेतालाई यहाँका अगुवाले हस्तान्तरण गरेको सामाजिक सञ्जालमा बकाइदा आयो त्यही समयको सेरोफेरोमा ।
हङकङमा चन्दाबारेका यी प्रतिनिधि उदाहरण कुनै र कसैप्रति गुनासो वा उजुरी होइनन्, प्रसंगबस आएको हो । माथि भनिएजस्तै कुनै एउटा पार्टीले या ठूलै नेताले आह्वान गरेपछि उक्त पार्टीमा आबद्ध भएकाले नाइँ भन्न सक्दैनन् ।
भन्न खोजिएको चाहिं हङकङ मात्र नभएर संसारभरकै राजनीतिक पार्टीका अगुवा र आस्था राख्नेहरूले यति दुःख गरेर कमाएको रकम सदुपयोग होला त ? भनेर सोधियो भने सबैले मनले नभने पनि मुखले चाहिं ‘अरूको थाहा भएन हाम्रो पार्टीको चाहिं हुन्छ’ भन्लान् शायद ।
समग्र देशको सबै पार्टीका राजनेताहरूको नाम लिने हो भने केही कहीं खुल्लमखुला कहीं लुकिछिपी आर्थिक मामलामा चुकेको जगजाहेर छ । अझ भ्रष्टाचारमा संख्यात्मक अंक दिने हो भने पास मार्क पैंतीसदेखि फूल मार्क सय अंकसम्म ल्याउने एक से एक राजनेताहरूको हालीमुहाली छ देशमा अझै । यसमा केही अपवाद भने अवश्य छन् ।
समग्र देशको सबै पार्टीका राजनेताहरूको नाम लिने हो भने केही कहीं खुल्लमखुला कहीं लुकिछिपी आर्थिक मामलामा चुकेको जगजाहेर छ । अझ भ्रष्टाचारमा संख्यात्मक अंक दिने हो भने पास मार्क पैंतीसदेखि फूल मार्क सय अंकसम्म ल्याउने एक से एक राजनेताहरूको हालीमुहाली छ देशमा अझै । यसमा केही अपवाद भने अवश्य छन् ।
राजनीतिक पार्टीका भातृ संस्थाहरू बाहेक हङकङमा अन्य शीर्षक वा बहानामा चन्दा, प्रायोजन, सहयोग माग्नेहरूको कथातिर लागियो भने लेख लामो हुनसक्छ । ‘हङकङमा चन्दा’ बारेमा छुट्टै लेख पछि लेख्ने सोचमा छु ।
प्रसंग बदलौं; मसालको स पातलो ‘स’ वा मोटो ‘श’ कुन लेख्नेदेखि रूस, चीन, क्युबा, उत्तर कोरिया र त्यहाँका नेताहरूदेखि आदि इत्यादिलाई हेर्ने दृष्टिकोणमा फुट्दै जुट्दै गर्ने वामपन्थी पार्टीहरूको इतिहास सबैलाई थाहा भएकै कुरा हो । पछिल्लो चुनावी तालमेलदेखि पार्टी एकताले सबै खुशी र हौसिएका थिए । दुई तिहाइको बहुमत प्राप्त सरकारले अब भने देशमा पक्कै राम्रो होला भन्ने सबैको आस थियो । पुष्पलाल श्रेष्ठदेखि पुष्पकमल दाहालसम्म आइपुग्दा देशले, जनताले गरेको ठूलो आशा चरम निराशामा परिणत भयो यतिखेर । संयोगले पार्टी एकता हुँदा कङ्गन रेष्टुरेण्टमै भएको सामूहिक द्वीप प्रज्वलन कार्यक्रमदेखि नेकपाको शायद अन्तिम दशैं–तिहार जलपान कार्यक्रममा म पनि रमिते थिएँ । शुरूको जोस, आत्मीयता पछिल्लो समयसम्म ओइलाएको महसूस गरे धेरै सहभागीले त्यो दिन । अन्ततोगत्वा जे नहोस् भन्ने सोचिएको थियो त्यही भयो । जब नेपालमा पार्टी फुट्यो तब सामाजिक सञ्जालमा पक्ष–विपक्षमा आरोप–प्रत्यारोपको जुहारी शुरू भयो । आफ्नालाई देवत्वकरण र विरोधीलाई दानवीकरण गर्ने प्रतिस्पर्धाले उच्चतम बिन्दु छोएको छ आजकल ।
मेरा केही लेख र विचारलाई आफूअनुकूल हुँदा प्रशंसा गर्ने र अनुकूल नहुँदा यस्तो अलि नलेखेको भए हुन्थ्यो भनेर मन दुखाउने पाठकहरू निकै छन् । यो सबै हेरेर मलाई भने एउटा प्रसङ्गको याद आयो–
नेल्सन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनेपछि अमेरिका भ्रमणमा थिए । पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम थियो । सीएनएनका पत्रकारले उनलाई प्रश्न गरे, “मिस्टर प्रेसिडेन्ट, योर होल लाइफ यु फाइट फर ह्युमन राइट एण्ड डेमोक्रेसी । बट ह्वाइ यु स्टिल ह्याब रिलेसन विथ यासेर अराफात, फिडेल क्यास्ट्रो एण्ड कर्नल कद्दाफी ?
आफ्नो फाइदा र स्वार्थ नमिल्नेबित्तिकै मानवअधिकार र प्रजातन्त्रको खोचे थाप्ने अमेरिकी नीतिको वकालत गर्ने ती पत्रकारलाई मण्डेलाले भने, “वन अफ द मिस्टेक्स ह्वीच सम पोलिटिकल एनालिस्ट मेक इज टु थिंक द्याट देअर इनिमिज सुड बि आवर इनिमिज ।” (केही राजनीतिक विश्लेषकहरू एउटा के गल्ती सोच्छन् भने उनीहरूको शत्रु हाम्रो पनि शत्रु हुनैपर्छ ।)
विदेश बसे पनि देशलाई माया गर्ने राजनीतिक चेतना भएका हामीहरू देशको समग्र राजनीतिक परिस्थिति विश्लेषण गरेर को सही, को गलत, या दुवै गलत, यो यो कुरामा यो यो नेताहरू सुध्रिन जरुरी छ नभनी नेताहरूसँगको व्यक्तिगत चिनजान, इगो, स्वार्थ वा फाइदाका लागि कतै एक–आपसमा जुहारी खेलिरहेका त छैनौं ?