• पुरातात्त्विक स्मारक र परिसरका संरचना : हङकङमा गोरखा संग्रहालयका आधार रचना

  •  

    हङकङमा गोरखालीसँग सम्बन्धित बेवारिसे अवस्थामा रहेको एक पुरातात्त्विक स्मारक उजागर भएको छ । बेलायतकालीन क्वीन्स हिल ब्यारेक हाउजिङ अथोरिटीले लिएपछि भवन निर्माणको काम शुरू भएसँगै उक्त ठाउँमा सर्वसाधरणको प्रवेश सहज भएपछि उक्त स्मारक उजागर भएको हो । करिब ३२ वर्ष गोरखालीले मन्दिरको रूपमा प्रयोग गरेको भवन हङकङ एन्टिक्युटिज एण्ड मनुमेन्ट (पुरातत्त्व तथा स्मारक) अफिसको वर्गीकरण अनुसार तेस्रो दर्जाको पुरातात्त्विक स्मारकमा परेको हो ।

    स्मारक उजागार भएपछि वास्तविकता खोजी गर्ने क्रममा सम्बन्धित निकायसँग यथार्थ तथ्यांक नरहेको पाइएको छ । क्वीन्स हिलमा रहेको ‘हिन्दू मन्दिर’को भित्तामा रहेको धातु पत्रको विवरणमा सन् १९६० सालतिर त्यहाँ राखिएका गोरखालीका लागि बनाइएको लेखिएको छ, जुन सत्य होइन । उक्त भवन गोरखाली पल्टन बस्नुअघि गोरा पल्टनले निर्माण गरेको चर्च थियो ।

    विडम्बना ! सम्बन्धित समुदायले सोधखोज गर्ने क्रममा उक्त स्मारक संरक्षण र सम्बद्र्धनको नाममा अर्कै समुदायले उपयोगको लागि आवेदन गरेको पाइएको छ । उक्त क्षेत्रको जिल्ला परिषद्का सभापतिको अल्पज्ञानको कारण नेपाली समुदायसँग सम्बन्धित ऐतिहासिक स्मारक भारतीय समुदायलाई हस्तान्तरण गर्ने तयारी शुरू भएको पाइएको छ । जिल्ला परिषद् सभापतिको अल्पज्ञानकै कारण ऐतिहासिक महत्त्व बोकेको स्मारकलाई धार्मिक दृष्टिकोणले मात्र हेरिएको छ ।

    नेपाल हिन्दू अधिराज्य रहेको समय राज्यको तर्फबाट हिन्दूकरणका लागि गोरखा भर्तीलाई पनि दुरुपयोग गरिएको थियो । बेलायती गोरखा ब्यारेकमा हिन्दूजन्य बाहेक अन्य धार्मिक क्रियाकलापमा संलग्न हुन बर्जित थियो । गोरखा भर्तीका लागि आवश्यकीय प्रक्रियामा हिन्दू लेख्न अनिवार्य थियो । गोरखालीले अन्य धर्म अपनाएको भेटिए सजाय भोग्नुपर्ने अवस्था थियो ।

    नेपाल हिन्दू अधिराज्यबाट धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भएको छ । नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक, बहुसंस्कृति भएको देश हो । हिजो हिन्दू बन्न बाध्य पारिएकाहरू अहिले आस्था अनुसारको धर्मावलम्बी रहेका छन् । हङकङमा रहेका अधिकांश नेपाली गोरखालीका सन्तान हुन् । यहाँको नेपाली समुदायमा हिन्दू अल्पसंख्यामा रहेका छन् ।

    हङकङमा गोरखाली इतिहास धार्मिकभन्दा यहाँको सुरक्षा, संरक्षण, विकास, मानवीय सहयोगको दुष्टिकोणले महत्त्वपूर्ण रहेको छ । कतिपय प्रसंगमा साम्राज्य फैलाउने क्रममा हङकङलाई बेलायतले उपनिवेश बनाएको र त्यसका लागि सहयोगी रहेको भन्ने दृष्टिकोणले गोरखालाई हेर्ने र बुझ्ने गरिएको देखिन्छ । राज्यकै तर्फबाट विदेशी सेनामा पठाइएको र जागिरको क्रममा दायित्व वहन गर्न गोरखाहरू अभिशप्त थिए । गोरखालीले यहाँको संरचना निर्माण, प्राकृतिक संरक्षण, प्राकृतिक प्रकोपमा पुर्‍याएको मानवीय सहयोग महङ्खवपूर्ण र ऐतिहासिक छन् ।

    यस स्थितिमा गोरखासँग जोडिएको विषयलाई धार्मिक हिसाबले मात्र अघि बढाउनु उचित हुन्न । धर्म अति संवेदनशील विषय भएकोले यसमा सम्बन्धित निकाय सचेत हुन अत्यावश्यक छ । पुरातात्त्विक स्मारकको संरक्षण र सम्बर्द्धनका लागि ऐतिहासिक पक्षलाई पनि ध्यान दिन जरुरी छ । क्वीन्स हिल ब्यारेकमा ‘हिन्दू मन्दिर’सँगै गोरखासँग सम्बन्धित संरचनाहरू रहेका छन् । पुरातात्त्विक महत्त्व नबोकेका भए पनि ती संरचनाहरूको गोरखासँग अन्योन्याश्रित सम्बन्ध छ ।

    हङकङ सरकारले गोरखालीले प्रयोग गरेको मन्दिर परिसरका अन्य संरचनालाई समेत समेटेर संग्राहलयको रूपमा विकास गरे पुरातात्त्विक स्मारकको संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको छ । उपनिवेशको सम्झना जति नै तीतो भए पनि त्यो एउटा यथार्थ घटना हो । तसर्थ त्यसका सकारात्मक पक्षबाट नकारात्मकताको परिपूर्ति गर्न सक्नुपर्छ ।

    उपनिवेशपछि गोरखाका सन्ततिका रूपमा रहेका नेपाली हङकङको समाजमा अभिन्न अंगको रूपमा रहेका छन् । वर्तमानलाई इतिहासको कसीमा घोटेर त्यसको खोट देखाउनु बुद्धिमत्ता होइन । हङकङमा बेलायतकालीन स्मारक यत्रतत्र रहेको भए पनि महत्त्वपूर्ण अंगको रूपमा रहेको गोरखा इतिहास झल्कने संरचनाको अभाव छ । त्यही अभाव पूर्तिका लागि हङकङमा गोरखा संग्रहालय स्थापना गर्न सकिन्छ । जसका लागि पुरातात्त्विक स्मारक र परिसरमा रहेका गोरखाजन्य संरचना आधार हुनेछन् । त्यही आधारमा स्थानीय रूपमा रहेका अन्य सामग्री संग्रह गर्न सकिनेछ ।

  • कमेन्ट गर्नुहोस्