• धरान सांगीतिक सौगात, १९९८ : हङकङको सम्झनाका डोबहरू

    नृत्य गर्दै जसकुमार राई, ईश्वर खड्का, नगेन्द्र राई, राजेन्द्र खड्का, सुरज थापा र किशोर थुलुङ । तस्वीर: राजेन्द्र रिमाल
  •  

    २९ घन्टाको इमिग्रेसन बसाइपछि सन् १९९८ सेप्टेम्बर ५ को साँझ चुङकिङ मेन्सनस्थित आयोजक दाइ प्रमोद सुब्बाको दिदी रेनुकोमा हाम्रो बसाइ भयो । हामीलाई जेट लेक पनि भयो होला । गलेका पनि थियौं । बेलुकीको खानापछि एकछिन मिटिङ बस्यौं । हङकङको त्यो समय साँच्चिकै नरमाइलो थियो । इमिग्रेसनमा २९ घण्टाको बसाइपछि २४ घण्टाको लागि मात्र प्रवेशआज्ञा पाएका थियौं ।

    त्यो साँझ हङकङको बाहिरी चमकदमकले अति नै छक्क पार्‍यो । त्यो विल्डिङ जो चुङकिङको नामले प्रख्यात थियो, मैले विल्डिङ नै सिंगै बजार प्रथमपल्ट देखेको थिएँ । त्यो विल्डिङमा भरिएको भीडले पनि मेरो मन अत्याएको थियो । मलाई तिर्खा लागेको थियो । चुङकिङ छिर्ने गेटमा पानीको बोटल बेच्न लागेको देखें । पानी किन्नको लागि अनुरोध गरें । “पानीभन्दा बियर सस्तो छ । एकछिन पख बियर नै किन्दिम्ला,” हामीलाई पुर्‍याउन आउने कोहीले हाँस्दै भने । हो पनि रै’छ, पानीभन्दा त बियर सस्तो ! चुङकिङ छिर्दाको पहिलो शब्द निकै चाखलाग्दो थियो । आखिर यो विल्डिङ हो चाहिं के ? लज या होटेल पनि हो ?

    झण्डै छ महिनाको मानसिक तथा शारीरिक अभ्याससँगै “धरान सांगीतिक सौगात, १९९८” कार्यक्रम प्रस्तुति गर्न पाइने या नपाइने अन्यौलमै थियौं । यदि कार्यक्रम प्रस्तुत गरे जरिवाना र जेल सजायसम्म हुने हङकङ इमिग्रेसनको त्यो फरमान ! हामी अनामका टोली नमिठो सकसबाट गुज्रिरहेका थियौं । जति नै टेन्सन भए पनि हाम्रो टोलीको प्रमुख तथा कार्यक्रमका निर्देशक राजेन्द्र रिमालको अनुहारमा दुःखको भाग एक रत्ती पनि देखिएको थिएन ।

    भोलि के होला भन्ने चिन्ता त सबैमा थियो । तैपनि; कमसेकम हङकङ त टेकियो । एयरपोर्टबाटै नेपाल फर्काइएको भए ? २४ घण्टाको लागि नै भए पनि यहीं छौं नि ! यस्तै यस्तै कुराले मन बुझाउँदै कोही फोटो खिच्न कोही चुङकिङ मेन्सन अवलोकनमा हिड्यौं । आखिर जे पर्छ त्यही टर्छ !

    धरान–कोरिया कनेक्सन

    अनाम नाट्य जमातले वार्षिक रूपमा केही न केही कार्यक्रम गरिरहनुपर्ने । नाटक, मेला, उत्सव भइरहन्थे । त्यहीवेला धरानमा कोरियामा काम गरेर फर्कने युवाहरूको संगठन बनेको थियो– धरान कोरिया मञ्च । धरान कोरिया मञ्चले वेला–वेलामा धरानमा सामाजिक काम पनि गरिरहेकै थियो । त्यसवेला अनाम नाट्य जमातसँग सम्पर्कमा रहेका दाइहरू रविन श्रेष्ठ, गिरीराज अधिकारी र प्रमोद सुब्बा प्रमुख थिए । धरान कोरिया मञ्चले धरानका लागि अत्याधुनिक एम्बुलेन्स किन्ने योजना बनायो । त्यो योजनामा फण्ड राइजिङको लागि अनाम नाट्य जमातको प्रस्तुति मुख्य रूपमा राख्ने अनि सहयोग जुटाउने सहमति जुट्यो । त्यो कार्यक्रमको आयोजक धरान कोरिया मञ्च हुने भयो । कार्यक्रमको नाम ‘धरान सांगीतिक सौगात’ राखियो । यो कार्यक्रम भव्य रूपमा सफल भयो । अनामले पनि दर्शकको वाही–वाही बटुल्यो । धरान कोरिया मञ्चले पनि चाहिनेजति फण्ड उठायो । धरानमा त्यतिवेलाका एम्बुलेन्समध्ये आधुनिक एम्बुलेन्स गुड्यो ।

    अजय राई, प्रकाश राई, किशोर थुलुङ, अनु लिम्बू, जसकुमार राई, नगेन्द्र राई, मदन लिम्बू र सन्जीव लामा । तस्वीरः राजेन्द्र रिमाल

    यो कार्यक्रमको सफलताले प्रमुख संयोजकमध्ये प्रमोद सुब्बा हौसिए । उनकै पहलमा हङकङमा पनि कार्यक्रम आयोजना हुने भयो, १९९८ सेप्टेम्बर ६ तारिखमा । यही कार्यक्रमका लागि ५ तारिख साँझ अनामका हामी १६ जना कलाकार चुङकिङ मेन्सनअघि उभिएर अब के गर्ने भनेर बाटो खोजिरहेका थियौं । निष्कर्ष निस्कियो– भोलि भिसा थपेर कार्यक्रम गर्न चुनवान टाउन हल जाने जे पर्ला त्यही टर्ला !

    पहिलोपल्ट आधुनिक शहर पुगेका हामीलाई सबै कुराको तालिम चाहिएको थियो । लिफ्ट चढ्न । ट्रेन चढ्न । सामान किन्न । हिंड्न । हामी गजबकै नौलो दुनियाँमा उभिएका थियौं । अनि, अलमलिरहेका थियौं । हाम्रो गाइड आफ्ना साथीभाइ नै थिए तैपनि धेरै मानिस एकैपल्ट हिडाउँदा उनीहरू पनि अलमलिरहेका थिए ।

    इमिग्रेसनसँग आमनेसामने

    भोलिपल्ट भिसा थप्नको लागि स्पोन्सर बनाएर हङकङमा भएका आफन्तलाई लिएर गयौं । उनीहरू चाइनिजमै पनि कुराकानी गर्न सक्थे । वान चाइमा सबैको स्पोन्सरसहित हामी हाजिर भयौं । सबैले एक हप्ताको भिसा पनि पायौं । एउटा खुशी त थपियो तर बाँकी थियो भरेको कार्यक्रम के हुन्छ ! अन्यौलता कायमै थियो । टिकट बिक्री भइसकेको थियो । चुन वान टाउन हल बुकिङ भइसकेको थियो ।

    जेलसँगै फाइनको धम्कीले पनि नछुने उपाय के हुन्छ त ? उपाय निस्कियो– चुन वान टाउन हलमा आउने बाटोनेर स्वयंसेवीहरू उभिने । कार्यक्रमको टिकट लिएर आउने दर्शकलाई त्यहीं रोक्ने र एक सय, दुई सय र तीन सय दरका टिकटको सट्टा गेट पासको रूपमा रातो, नीलो र पहेंलो कार्ड दिने ।

    ‘मर्ता क्या न कर्ता’ भनेजस्तै हुने कुरामा सबैको मत मिल्यो । ‘आँटे भलो’ भन्ने उखान त हामीलाई थाहै छ !

    हामीलाई फरक–फरक मानिसले गाइड गरेर चुन वानको हलसम्म साँझ पाँच बजेभित्र ल्याइपुर्‍याए तर धेरै कष्टका साथ । हामी ट्रेन चढ्न, ट्रेनको टिकट काट्न अनि कुन स्टेशनमा कसरी उत्रने हो भन्ने मेसो पाउन नसकेर धेरै अलमलियौं । आउनुपर्ने चुन वान साथीहरू पुगेछन् मोङ कक अनि भएन फसाद !

    पहिलो बीफ म्याक, बिग म्याक बिग धमाका !

    मोफसलबाट रंगकर्ममा रहेर नेपाल बाहिर जाने टोलीको हिस्सा हुन पाउँदा निकै आनन्द लागिरहेको थियो । त्यो वेला बेलुकाको साढे पाँच बजेको हुनुपर्छ सात बजे शुरू हुने भनिएको कार्यक्रम नौ बज्न सक्छ भनेर आयोजक भन्दै थिए । तर “अनामको समय भनेको समय हो । निर्धारित समयमै स्टेजमा आउनुपर्छ” भन्ने जिकिर कार्यक्रमका निर्देशक राजेन्द्र रिमालको थियो ।

    हामीले हेर्‍यौं– साउण्ड सिस्टम छैन । स्टेजभन्दा दुई तलामाथि ग्रीन रुम छ । ग्राण्ड रिहर्सल गर्ने भनेर भनिए पनि कुनै समय नै मिलेन । केही रिहर्सल चाहिं सानो ग्रीन रुममा गर्‍यौं । तर कार्यक्रम गर्नुपर्ने स्टेज ठूलो छ ! खाट र टेबलहरू जोडेको चौकुने गाउँको स्टेजमा बानी परेका हामीले त्यत्रो अत्याधुनिक स्टेज पहिलोपल्टै देखेका थियौं । ‘आफूलाई विश्वास गर’ भनिरहेका थिए महासचिव सुवास थापा ।

    लाइट कसरी लाउँछ ? साउण्ड कसरी दिन्छ ? हामी अलमलमा परेर प्रविधिलाई बुझ्न निकै समय लाग्यो । प्राविधिक पनि आफ्नो समयमा आउँदो रहेछ । उसले नेपालीमा त के अंग्रेजीमा लेखे पनि नबुझ्ने । चाइनिज प्राविधिक । प्राविधिकसँग इशारामै यो पछि यो गीत र साउण्ड ट्रयाक बजाउने भन्ने कामको जिम्मा निर्देशक राजेन्द्र रिमालले लिए ।

    करिब साँझको ६ बजे आएर प्राविधिकले साउण्ड सिस्टम र कतिवटा माइक्रोफोन चाहिने ? सबै सोध्यो । यी र यस्ता कुरामा सबै मिलाइदिने दोभाषेको सुविधासहित अनामकी उद्घोषक दिदी लक्ष्मी राई (लारा) थिइन् । अरू हामी त उनीहरूको कुरा सुनेर बस्ने माात्रै ! सबै कुरा प्राविधिक रूपमा जानकारी पाइसकेपछि हामी ग्रीन रुममा छिर्‍यौं । सबैको भूमिकाअनुसार पालो मिलाएर आ–आफ्ना सामान राख्यौं । अनि अलिक साहस आयो । हामीले नाटक पनि खेल्नु थियो । नाच्नु पनि थियो । अनि गाउनु पनि थियो । साथै नाटकमा चाहिने सबै सामग्री (प्रोपर्टी)को पनि हेरविचार गर्नुथियो ।

    कार्यक्रमको विवरणसहित उद्घोषक दिदी लारा तयार थिइन् । त्यहीवेला अनामका महासचिव सुवास थापाले खानाको झोला ल्याए । म्याक डोनल्डको नाम धेरै सुनेको हो, खाएको कहिल्यै होइन । बिग म्याक ल्याएर “आज बेलुकीको खाना यही हो” भनेर सबैलाई एक–एक प्याकेट थमाइदिए । बर्गरसँगै फिंगर चिप्ससँग केचप अनि कोल्ड ड्रिङ्क्स । साह्रै मिठो त्यो पनि भोकको वेला । खाइसक्न के लागेका थियौं “बिग म्याक रै’छ । चार नम्बर । यो त गाईको मासु हो । कसैलाई नचल्ने थियो की ?” लारा दिदीले विशाल भण्डारीतर्फ हेरेर भन्दा दाजु निकै अप्ठ्यारो मानेका थिए । अघिल्लो दिन एयरपोर्टमा कुखुराको छातीलाई गाईको थाई भनिरहेका विशाल भण्डारी अब भने अक्क न बक्क थिए ।

    मोडर्न डान्सः दायाँबाट क्रमशः नगेन्द्र राई, जसकुमार राई, सुरज थापा, ईश्वर खड्का र राजेन पुवर । तस्वीरः राजेन्द्र रिमाल

    भएछ के भने— हामीभन्दा एक महिना अघि नै आएका सुवास थापा दाजु यसमा बानी परेका रहेछन् । खाँदा अघाउने बिग म्याकको फ्यानै भएछन् । उनले जानेको मिठो खाजा ख्वाउँ भन्दा उनैले नखाने गाई अहिलेसम्म खाइरहेका रहेछन् । निर्देशक राजेन्द्र रिमाल, सुवास थापा र विनोद तखाँचे अनि खड्का बन्धु राजेन्द्र र ईश्वर पनि निकै असमञ्जसमा परेका थिए । बहिनीहरू भने चुपचाप खाइसकेर तयार हुँदै थिए ।

    परिस्थिति सम्हालियो, यो जानी–जानी थिएन । कार्यक्रमको शुरूवात हुनुअघि नै बीफ खाएकोले कसैको पेट दुख्ला या देउता रिसाउलान् कि भनेर डर थियो साथीहरूलाई तर केही भएन ! बिग म्याक र कोक खाएर डकार्दै साथीहरू पहिलो अन्तर्राष्ट्रिय कार्यक्रमको लागि वर्मअप गर्दै हौसला बुलन्द गर्दै थिए ।

    चाइनिजको मुस्कान र सुरजको प्याज

    कार्यक्रम निर्धारित समयभन्दा एक घण्टा ढिलो शुरू भयो । हामी घरी–घरी पर्दाको छिद्रबाट हेर्दै थियौं– हलमा मानिस भरिए त ? त्यसै पनि दर्शकको भोको हामी, त्यसमाथि पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम ! करिब हजार जनाको सीट क्षमता भएको हल हेर्दाहेर्दै भरियो । अनि ढुक्क भएर आयोजक प्रमोद सुब्बाले भने, “अब शुरू गरौं ।” हामीले ‘एक रुपैयाँ, एक रुपैयाँ, एक रुपैयाँ’ प्रहसन लिएर गएका थियौं । पप गायक सन्जीव लामा र जनगायक किशोर थुलुङ हामीसँगै थिए । त्यसैगरी शशी थापा सुब्बाले निर्देशन गर्नुभएको खुकुरी नृत्य “रक्तक्रान्तिको ज्वालामुखी” र शशी दिदीकै सुन्दर रचना पूर्वेली झाँक्री नृत्य, पश्चिमको कौडाा नृत्य छँदै थिए । त्यसमाथि लक्ष्मी राई (लारा)को उदघोषणमार्फत धारावाहिक प्रस्तुति । दर्शक डेग चलेका थिएनन् ।

    नृत्य र गीतपछि नाटकको पालो आयो । त्यो हाम्रो अन्तिम प्रस्तुति थियो । हामी नेपथ्यमा थियौं । सुरज थापाको रोल ढक्कीमा फलफूल, तरकारी राखेर डुल्दै/कराउँदै बेच्ने पात्रको थियो । उसले नेपालबाट नै आप्mनो प्रपर्टी आफैं किनेर ल्याएको थियो– प्याज, आलु अनि लसुनका साथै बाँसको ढक्की । नेपथ्यमा हाम्रै छेउमा एक चाइनिज प्राविधिक थियो । जो हाम्रो कार्यक्रमको सहयोगको लागि बसेको थियो । त्यो अधबैंसे चाइनिज चिम्से आँखा चिम्म पार्दै हाँसिरहेको थियो । सुरज स्टेजमा छिर्‍यो, आफ्नो प्रस्तुति सकेर बाहिर निस्कियो तब पनि त्यो चाइनिज हाँसि नै रहेको थियो । मैले सोचें– यो चाइनिजले नेपाली बुझ्छ कि क्या हो ? सुरजले आफ्नो काम सकेर बाहिर निस्किएपछि उसले प्याज हातैमा समाएर कति सानो प्याज भनेर उद्घोषक लारा दिदीलाई देखाउँदै अझ हाँस्यो । उसको हाँसोको भेद बल्ल खुल्यो— जीवनमा पहिलोपल्ट त्यति सानो आलु, प्याज र लसुन देखेर हाँसेको रहेछ । नाटक त के बुझ्थ्यो ! म चाहिं हङकङमा ठूलो आलु, प्याज र लसुन देखेर छक्क परेको थिएँ । ऊ र म एउटै चिजमा दुई तरिकाले छक्क पर्‍यौं !

    प्रहसन ‘एक रुपैयाँ, एक रुपैयाँ, एक रुपैयाँ” समसामयिक नेपालको राजनीति, सामाजिक विसंगति र स्थानीय समस्याहरूको व्यङ्ग्यमा केन्द्रित थियो । नेपालीहरू भर्खर–भर्खर हङकङको रैथाने हुने क्रममा थिए । त्यो  प्रहसनले हङकङका नेपाली दर्शकहरूको मन जित्न सफल भएको थियो ।

    झण्डै दुई घण्टाको प्रस्तुतिमा दर्शक हल न चल थिए । ताली, हाँसोको फोहोरा र वन्समोरको झट्काहरू आइरहेका थिए । जब कार्यक्रम सकिएर स्टेजको पर्दा बन्द भयो हामी निकै भावुक भएका थियौं । पर्दा पछाडि निकैबेरसम्म तालीको गडगडाहट आइ नै रहेको थियो । शायद दर्शक पनि भावुक भए क्यार !

    अनाम नाट्य जमातको ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम गजबले समापन गरेका थियौं । विविध कठिनाइका बाबजुद नेपाली समाजले देखाएको हामीप्रतिको त्यो सद्भावले नेपाली कला र संस्कृतिको लागि नयाँ क्षितिज त्यहीवेला उघारेको थियो ।

    धरान घण्टाघरको जग

    कार्यक्रम भव्य भएको केही कुराले इंगित गरिरहेका थिए– हाम विभिन्न मानिसबाट पाएको शुभेच्छा र उपहारले प्रफुल्लित थियौं । त्यो वेला नेपाल र नेपालीको लागि खुलेका रेष्टुरेण्ट थिएनन् । एशियन भिलेज नामको रेष्टुरेण्टमा हुनुपर्छ, हामीलाई धराने साथी तथा अग्रजहरूले साँझको खाना खान बोलाउनुभएको थियो ।

    प्रहसनका क्रममा हामीले एउटा संवाद भनेका थियौं– “धरान त स्याल कुद्ने पाखो ! कोरियामा बस्ने धरानेहरूले एम्बुलेन्स दिए अब हेरुम् हङकङका धरानेहरूले के दिने हुन् ?”

    यो शब्दले छोएछ । के दिने त ? अजय राई, किसन राई, मदन लिम्बू, अनु लिम्बू, प्रकाश राईहरूले आयोजना गरेको उक्त कार्यक्रममा पहिलोपटक धरानमा घण्टाघर बनाउने सपना कोरिएको थियो । धरानेहरूले उक्त घण्टाघरका लागि खाका कोर्न शुरू गरेका थिए । अनि त्यसपछि जन्मेको हुनुपर्छ, धरान हङकङ मञ्च । यो खाकासँगै पैसा जुटाउनको लागि फेरि अर्को कार्यक्रमको आयोजना गर्ने, त्यसमा अनाम नाट्य जमातको प्रस्तुति रहने खाका पनि त्यही दिन कोरिएको हुनुपर्छ ।

    काउछावा’देखि पैसा दिने र हात सुकाउने मेशिन

    मेरो परिवारको कान्छा काका–काकी, मेरा तीनजना भाइ–बहिनीहरू (साबु, चन्द्रा र समिर), बडाको छोराहरू भीमराज र चन्द्र हङकङमै थिए । नेपालबाट लगेको पार्सलहरू दिने र भेट्ने क्रम नेपाल फर्किने दिनसम्मै चलिरह्यो । हामी सबै कलाकार एकै ठाउँमा बस्न यसै पनि सम्भव थिएन । हङकङको प्रायः महत्वपूर्ण ठाउँहरू बैनी कविता र मैले सँगै घुम्यौं । विकासको त्यस्तो चरम नमूना मैले पहिलोपल्ट देखेको थिएँ ।

    सुदेस्ना राई र कवि राई मेरो स्कूलका क्लासमेट । उनीहरू पनि हङकङमा बसेर संघर्ष गर्दै थिए । एक साँझ नौ बजेतिर हुनुपर्छ । कवि कामदेखि आयो । हामीले काउलन पार्कनेर भेटेको हो । रातभर खुल्ने, खाने–पिउने गजबको ठाउँ रै’छ– सेभेन लेभेन । त्यहाँ जाने प्रस्ताव गर्‍यो । त्यसपछि उसले कुनै घरको भित्तामा रहेको स्क्रिन भएको डब्बाजस्तोमा लग्यो । पर्सबाट एउटा कार्ड निकाल्यो । “यो बाट कसरी पैसा निस्कन्छ हेर् । आज हामीलाई २ सय डलरले पुग्छ,” भन्दै त्यो डब्बाको सानो प्वालमा उक्त कार्ड छिराएर खै के के थिच्यो । यसपछि अर्को सानो दुलोबाट दुई सय डलरको कटकटिया नोट निस्कँदा त म अचम्मै परेको थिएँ । यतिका राति पैसा निकाल्नु, त्यसमा पनि यति सजिलै ! नेपालमा चेक बोकेर लाइनमा उभिंदा–उभिंदा हैरान भएको म यस्तो विकासको खेला आफ्नै साथीबाट देख्दा किन अचम्मित नहुनु ?

    हङकङ पुगेर फेरी नचढ्नु, अनि स्टारफेरी नपुग्नु तथा पारि  लहरै उभिएका गगनचुम्बी भवनहरूको ब्याकग्राउण्ड बनाएर हङकङको सिग्नेचर फोटो नखिच्नु त हङकङ आएको मतलबै हुँदैन रै’छ ! त्यही ‘हङकङ आएको मतलब’ गराउने क्रममा साथी सुदेस्नासहितको टीम घुम्दै थियौं । फोटो खिचिदिने पालो मेरो पर्‍यो । फोटो खिच्नलाई एंगल मिलाउँदै, लेन्स मिलाउँदै पछाडि सर्दै थिएँ । एउटी चाइनिज महिलाको खुट्टामा मेरो खुट्टाले टेकियो, मेरो पिठ्युँमा उनको कुम ठोकियो । मेरो मुखबाट ‘सरी’ निस्कियो । उसले पनि ‘काउछावा’ भन्दै आँखा तरी अनि अरू पनि के–के भनी मैले बुझिनँ । फोटो खिचिमाग्नेहरू अलि पर भएकोले सुनेनन् । फोटो खिचिसकेर मलाई त त्यो केटीले ‘काउछावा’ पो भनी भनेर सुनाएँ । अनि साथीहरू हाँस्न थाले, “राम्रै गाली खाएछ” भनेर । उक्त चाइनिज शब्दलाई नेपालीमा उल्था गरेर सुनाएपछि ‘के खाइएछ’ आफूले पनि चाल पाइयो !

    विशाल भण्डारी आफ्नो प्रस्तुतिका क्रममा । तस्वीरः राजेन्द्र रिमाल

    अर्को साँझ मेरो आत्मीय साथी दिप राईसँग भेट भयो । हामी रातभर बरालियौं । चाइनिज रक्सी र चाइनिज परिकारहरूले स्वागत गर्‍यो उसले । हामीले खाने भनेको बाहिर नै थियो । त्यो वेलासम्म नेपाली रेष्टुरेण्ट खोलिएकै थिएन हङकङमा । पार्कको बसाइ सकेर पब्लिक ट्वाइलेटमा पस्दा एउटा मेशिन आवाज दिएर चलिरहेको थियो । मानिसहरू हात धोएर कागजले पुछेर हात त्यहाँ सुकाउँदा रहेछन् । मैले पनि त्यसै गरें । अझ त्यो भन्दा पनि बढी ! भित्र के चाहिं रहेछ भन्ने उत्सुकता मेटाउन आँखा यसो दुलो नजिक के पुर्‍याएको थिएँ तातो हावा अनुहारमा आवाजसहित परेपछि तर्सिएँ !

    भेटिनु–छुट्टिनु त के हो र ?

    हामी सँगसँगै आएका कलाकारहरू आ–आफ्नो परिवार, साथीभाइकोमा छुट्टिएर बसेका थियौं । हामीलाई एकै ठाउँमा राखेर खान–बस्नको लागि कुनै होटल सुविधा थिएन । हामी हङकङ आउनु नै ठूलो पारितोषिक हो भनेर बुझाइएको थियो । आयोजकबाट धन्यवादबाहेक एक पैसा पाएनौं । तर पनि आफन्त, साथीभाइहरूले दिएको गिफ्ट र आर्थिक सहयोगले हङकङबाट फर्कन सहज भयो । बहिनी कविता र मलाई मेरो हङकङमा रहेका परिवारले अरू एक हप्ता घुम्नलाई सबै चाँजोपाँजो मिलाइदिए । अझ एक हप्ता बढाएर बसाउने आफन्तको अनुरोध भने आयोजकबाट स्वीकार भएन । किन हो आजसम्म थाहा भएन ।

    नेपाल फर्कने दिनको अन्तिम घण्टा चलिरहेको थियो । त्यहीवेला मलाई नजिकबाट चिन्ने साथीहरू आएर भने, “ओइ ! उसलाई फोन गर्दैनस् ?” मैले भनें, “किन गर्ने ! मैले धरान छोडेर हङकङ जाऊ भनेको थिएँ र ?” “फोन गर्न, यहाँ छ नम्बर,” साथीहरूले जिद्दी गरे । मेरो र उसको प्रेम अधुरो थियो । हङकङ आएपछि संवादहीन र मधुरो भएको थियो । साथीहरू चाहन्थे– एक होस् ।

    ऊ धरानमा आईए पढ्दापढ्दै हङकङ आएकी थिई । हामीबीच मत बाझिएको थियो । मेरो मत थियो, “तिमी पढ । तिम्रो भविष्य नेपालमै छ ।” खै किन हो, उसले जिद्दी गरी । नेपालमा भविष्य नदेख्नेले मलाई पनि नदेख्ने भई भनेर म गुपचुप थिएँ । ऊ हङकङमा कहाँ के गर्दैछे मैले कसैलाई सोधिनँ पनि । हाम्रो संवाद ऊ हङकङ लागेपछि भएको थिएन । म उसको बाटोको बाधा बन्न चाहन्नथें । फर्कन एक घण्टा बाँकी रहेको वेला साथीहरूले नम्बर मिलाएर फोन नै हातमा थमाउँदै कर गरेपछि म बोलें ।

    “हेलो ! म जसकुमार ।”

    “अँ, चिनें । तिमी यहाँ आ’को सुनेकी थिएँ ।”

    “मलाई किन नखोजेको त ?”

    “अब म तिम्रो नेपाल कहिल्यै आउँदिनँ । तिमी एक्लै बस ।”

    “के भन्न खोजेको ?”

    “अब मलाई फोन पनि नगर । चिठ्ठी पनि नलेख ।”

    “किन ?”

    “मैले यहाँ अर्को साथी पाइसकें । म यतै खुशी छु ।”

    “ए हो र ?” (अलि हडबडाउँदै) “बधाई छ ! मलाई थाहै थिएन । साथीहरूले पनि भनेनन् ।”

    ‘बधाई’ भनेपछि निकैबेर मौनता छायो । बिदाइको औपचारिकता केही नगरी मैले फोन राखिदिएँ ।

    स्कूलका ती दिनहरू । आफैंले बनाएको हुलाकीमार्फत पठाएको चिठ्ठीका संवाद । हामीले बिताएका स्वर्णिम क्षणहरूले एकसाथ मनभरी म्याराथुन गर्न थाले । ट्यूसनको समयमा किताबको बीचमा च्यापेर सिरानीमा छाडिएका प्रेम पत्रहरू एक–एक सम्झनामा आए । नेपालमा हामी आफैंले बनाएको हुलाकी बेरोजगार भएर बसेको झन्डै एक वर्ष भएको थियो । प्रेम पत्र बाहेक उनीसँगको टेलिफोन सम्वाद पहिलो र अन्तिम थियो । म चुपचाप भएको देखेर साथीहरू पनि नरमाइलो माने ।

    साथीहरूले सम्झाए, “जे हुन्छ राम्रैको लागि हुन्छ । छोड्दे ।”

    मैले भनें, “मैले पनि कहाँ समाएको थिएँ र ! नम्बर थिचेर फोन थमाइदिनेको गल्ती हो ।” रुञ्चे हाँसो एकसाथ गुञ्जिएको थियो ।

    त्यसपछि मलाई बहिनी साबु, ज्वाइँ तथा साथीहरू रविन र प्रकाशले एयरपोर्टसम्म पुर्‍याएर बिदाइको हात हल्लाए । अनि म धेरै खुशी र असंख्य सम्झनाहरू बोकेर नेपाल फर्किएँ ।

  • कमेन्ट गर्नुहोस्