• आफू र अरूलाई सहयोग गरौं

  •  

    के अरूलाई सहयोग गर्दा आफ्नो मानसिक स्वास्थ्य प्रवर्द्धन हुन्छ ?

    अरूलाई सहयोग गर्नु हाम्रो समाजमा सामान्य कुरा हो । लोककल्याणका लागि अनुदान दिने व्यक्तिको जीवन सामान्यतया सन्तोषजनक हुने एउटा बृहत् अध्ययनले पनि देखाएको छ । भिन्न आर्थिक हैसियत भएका क्यानडा, भारत, दक्षिण अफ्रिका र युगान्डाजस्ता एक सयभन्दा धेरै देशमा यो सत्य साबित भएको छ । आफ्ना लागि भन्दा अरूका लागि खर्च गर्दा (साथीभाइ, बिरामी, वृद्धवृद्धा वा बालबालिकालाई उपहार दिने) बढी सन्तोष र दिगो खुशी मिल्ने अनुसन्धानले देखाएको छ । त्यसैले सहयोगी व्यवहारले व्यक्तिको मानसिक स्वास्थ्यलाई फाइदा पुग्ने विभिन्न वैज्ञानिक प्रमाणहरूले पुष्टि गर्छन् ।

    यसले कसरी काम गर्छ ?

    वैज्ञानिकले पत्ता लगाएअनुसार अरूलाई सहयोग गर्दाः

    – शरीरमा डोपामाइन बढी मात्रामा उत्पादन हुन्छ । यो एक प्रकारको हर्मोन हो जसले खुशी र उत्तेजना दिन्छ ।

    – दुर्भावना र तनावबाट छुट्कारा पाइन्छ ।

    – आत्मसम्मान उच्च हुन्छ जसले मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।

    – सकारात्मक भावनाको अनुभव हुन्छ जस्तै; दया, खुशी, कृतज्ञता, विश्वास ।

    – शारीरिक र मानसिक स्वास्थ्यलाई सुरक्षा दिने अन्तरवैयक्तिक सम्बन्ध प्रगाढ बन्छ ।

    अरूलाई सहयोग गर्दा ध्यान दिनुपर्ने केही छ ?

    सहयोगी मन भए पनि पर्याप्त क्षमता नहुँदा वा सोच सन्तुलित राख्न नसक्दा र अरूको सहयोग सदुपयोग गर्न नसक्दा हाम्रो मानसिक स्वास्थ्य झन् बिग्रन सक्छ ।

    दीर्घरोगीको स्याहारमा संलग्न व्यक्तिमाथि गरिएका केही अध्ययनअनुसार स्याहारकर्तालाई धेरै तनाव भए चिन्ता, उदासिनता, ग्लानीका साथै कुनै बाटो नभएझैं अनुभव हुन्छ । व्यक्तिको जिम्मेवारीमा बढी जोड दिए अरूसँग जिम्मेवारी बाँड्न सक्दैनन् र आफैंलाई अनावश्यक दोष दिने हुनसक्छ । कोभिड–१९ महाव्याधिको समयमा अरूलाई सहयोग गर्ने उत्कट चाहना भएका व्यक्तिलाई चिन्ता र उदासिनताको बढी समस्या हुने अनुसन्धानले देखाएको छ । शायद उनीहरू अरूको दु:खप्रति बढी नै संवेदनशील हुन्छन् र अरूको पीडा पनि सजिलै अनुभव गर्छन् । महाव्याधिको समयमा अरूलाई सहयोग गर्नका लागि धेरै बाधा र कठिनाइ हुन्छ । सहयोग गर्ने मन हुन्छ तर सहयोग गर्न नसकेर उनीहरू दुःखी र निराश हुन्छन् ।

    त्यसैले अरूलाई सहयोग गर्दा आफ्नो क्षमता र परिस्थितिको वास्तविकतालाई बुझ्नु आवश्यक छ । आफ्नो क्षमताअनुसार सहयोग गर्न, तनाव व्यवस्थापन गर्न र अरूको सहयोगको सदुपयोग गर्नुपर्छ भन्नेमा ध्यान दिनुपर्छ ।

  • कमेन्ट गर्नुहोस्