• नेपाली समुदायका पहिलो ट्याक्सी चालक

    हङकङमा नेपाली समुदायका पहिलो ट्याक्सी चालक क्षेत्रबहादुर गुरुङ । सबै तस्वीरः जगत अम्बु गुरूङ
  •  

    दुई महिना यता क्षेत्रबहादुर गुरुङको नयाँ परिचय थपिएको छ हङकङका पहिलो नेपाली ट्याक्सी चालक ।

    नेपालमा कास्कीको खरिकुनाका उनी हङकङ बस्न थालेको २३ वर्ष भयो । ट्याक्सी चालक बन्ने प्रयास गरेको ११ वर्षपछि उनी सफल भएका हुन् ।

    उनले रोजगारीका क्रममा यहाँ धेरै प्रकारका काम गरे । शुरूमा सेक्युरिटी गार्डका रुपमा काम गरे  । त्यसपछि म्याराथुन, मार्सल आर्ट पनि खेले । तर अहिले उनी ट्याक्सी ड्राइभर बनेका छन् । यसैमा उनको परिचय बनेको छ, सन्तुष्टि मिलेको छ ।

    उनी २००९ देखि ट्याक्सी चलाउने कोसिस गरिरहेका थिए । तर सम्भव भएन । हङकङमा ट्याक्सी चलाउन बाहिरबाट आएका गैर चिनियाँलाई गाह्रो छ । ट्याक्सी कम्पनीहरूले स्थानीयलाई नै चलाउन दिन्छन् । तर उनले कोसिस गर्न छोडेनन् । लामो प्रयासपछि अहिले दुई महिना यता उनी ट्याक्सी चालक बन्न सफल भए ।

    मेहनतको फल

    ११ वर्षको प्रयासपछि पाएको सफलताले उनी खुशी छन् । हुनतः उनलाई प्रयास असफल भएपछि बीचमै छोड्न मन नलागेको होइन तर उनको मनमा ‘डन्ट गिभ अप’ भन्ने सोच आयो । उनलाई यो सोच खेल क्षेत्रको अनुभवले दिलाएको थियो । खेलमा हरेस खानुहुन्न भन्ने मान्यता उनले ट्याक्सी चालक बन्न प्रयोग गरे र सफलता पाए ।

    हङकङमा ट्याक्सी चलाउन बाहिरका मान्छेलाई भाषाका कारण पनि अलि समस्या हुन्छ । चाइनीजहरूको घरको लोकेसन बुझ्न कहिलेकाहीँ अप्ठ्यारो हुन्छ । तर उनलाई त्यति गाह्रो भएको छैन ।

    हङकङमा धेरै मान्छे सेक्युरिटी वा निर्माण क्षेत्रमा काम गर्छन् । क्षेत्र गुरुङको सोच भने बारमा गर्ने थियो । तर समयले उनलाई ट्याक्सी ड्राइभर बनायो । यसलाई उनी भाग्य ठान्छन् ।

    परिवारसँग क्षेत्रबहादुर गुरुङ ।

    हङकङका ड्राइभिङ स्कूलहरूले स्थानीयलाई मात्र ट्याक्सी चलाउन दिन्थे । बाहिरका मान्छेलाई दिने चलनै थिएन । तर आफ्नो लक्ष्यप्रति लगाव भएकोले क्षेत्रले हिम्मत हारेनन् । प्रयास गरिरहे । २०१६ मा बाहिरकालाई पनि दिने नीति बन्यो । त्यसपछि उनलाई सजिलो भयो । ड्राइभिङ स्कूलले ट्याक्सी  पनि त्यति सजिलै दिंदैनन् । विश्वास जितेपछि मात्र धरौटी राखेर चलाउन पाइन्छ तर उनलाई भने चिनियाँ साथी भएकोले सहज भयो ।

    उनलाई थाहा भएअनुसार हालसम्म यहाँ स्थानीय चिनियाँबाहेक ट्याक्सी चालकहरूमा उनीभन्दा अगाडि एकजना पाकिस्तानी छन् । त्यसपछि दोस्रा उनी नै हुन् । नेपाली सामुदायबाट त उनी नै पहिलो हुन् ।

    यहाँ ट्याक्सी चलाउन नेपाल वा अन्य देश जस्तो सजिलो छैन । यहाँका ६ सय वटा ठाउँको लोकेसन कण्ठ हुनुपर्छ, सडक सुरक्षाबारे बुझेको हुनुपर्छ । हङकङबाहिरबाट लाइसेन्स लिनेलाई यहाँको परीक्षा पास गर्न गाह्रो छ । क्षेत्रले भने यहीं लाइसेन्स निकालेर पनि शुरूमा ट्याक्सी चालक बन्नका लागि पास हुन सकेनन् । धेरै मेहनतपछि पास भए । अहिले भने उनलाई काम गर्न सजिलो लाग्छ । कमाइ पनि राम्रो हुन्छ । उनका अनुसार सबै कटाएर दिनको एक हजार हङकङ डलर बच्छ । साताको ६ दिन साँझदेखि रातिसम्मको ८/१० घण्टा ट्याक्सी चलाउने उनका लागि यो सजिलो काम र राम्रो कमाइ हो ।

    ट्याक्सी ड्राइभर बनेका उनलाई आफन्त र साथीहरूले बधाई दिए । हौसला प्रदान गरे । क्षेत्र भन्छन्, “मलाई देखेर यहाँका मान्छे पनि ओहो ! फरेनर पनि ट्याक्सी चलाउने भएछ भन्छन् । एकपटक तीनजना नेपाली दाजुभाइ ट्याक्सी छेउमा आएर चिनियाँ भाषामा कुरा गरे । मैले नेपालीमा बोलेपछि उनीहरू खुशी भए । मलाई पनि नेपालीलाई पहिलोपटक चढाउँदा एकदम खुशी लाग्यो ।”

    सानो छँदादेखि नै उनको रुचि भने खेलकुदमा थियो । तर नेपालमा रहँदा खेलमै लाग्न सम्भव भएन । सानैमा हङकङ आएका उनले तेक्वान्दोमा पनि धेरै दुःख गरे । त्यसपछि म्याराथुन पनि दौडिए । २००३ देखि दौडिन थालेका उनी हाल पनि दौडिरहन्छन् । अहिलेको सफलताको जग पनि त्यही खेलकुदलाई मान्छन् ।

    हङकङमा उनका दाइ, श्रीमती र दुई छोराछोरी छन् । आमा, अर्का दाइ, दिदी, भान्जा–भान्जी, भतिजा–भतिजी बेलायतमा छन् । सबै आफन्तले उनलाई हौसला दिएको उनी बताउँछन् ।

    ट्याक्सी चलाउँदै क्षेत्रबहादुर गुरुङ ।

    ट्याक्सी चलाउनु उनको पूर्णकालीन पेसा भने होइन । आंशिक मात्र हो । उनी साँझ ४ बजेदेखि राति १२/१ बजेसम्म ट्याक्सी चलाउँछन् । अरु समय बडीगार्डको काम गर्छन् ।

    हङकङको ट्राफिक नियम एकदम कडा छ । हङकङमै सिकेकाहरूलाई बुझ्न सहज भए पनि बाहिरबाट लाइसेन्स लिएकाहरूका लागि निकै अप्ठ्यारो हुने उनी बताउँछन् । भन्छन्, “यहाँ स्टप भन्ने ठाउँमा डबल ह्वाइट लाइन हुन्छ । कतिले यसमा त्यति याद गर्दैनन् । तर यहाँ स्टप भनेपछि स्टप नै हुनुपर्छ । डबल यल्लो लाइनमा २४ घण्टा रोक्न पाइदैन । यसमा पनि पुलिसले देख्यो भने झ्याप्पै समात्छ । सिंगल यल्लो लाइनमा पनि एकदम ध्यान दिनुपर्छ ।”

    यहाँ ट्राफिक नियम पालना नगर्नेलाई जरिवानामा पनि कडा छ । डबल यल्लो लाइन क्रस गर्नेलाई ४ सय ५०, स्टपमा रोकेन भने ३ पोइन्ट काटेर ५ सय जति जरिवाना लिन्छ । सिंगल यल्लो लाइनमा ड्राइभरसहित छ भने ५ सय २० र छैन भने ३ सय २० जरिवाना तिर्नुपर्छ ।

    बडीगार्डको कामसँगै ड्राइभिङ पनि सँगसँगै गर्दै आएका उनी यसलाई नै निरन्तरता दिने सोचमा छन् । आफूले शुरू गरेको नयाँ पेसामा सबैले हौसला दिएपछि उनी खुशी छन् । ट्याक्सी ड्राइभर बन्न चाहनेलाई उनी सुझाउँछन्, “ड्राइभिङ लाइन राम्ररी बुझेर यो क्षेत्रमा आउँदा राम्रो हुन्छ ।”

  • कमेन्ट गर्नुहोस्