• हङकङ आएर ‘स्टारफेरी’ घुम्न नपाउँदा…

  •  

    नेपाली कला क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल छन्, भोलाराज सापकोटा । रङ्गमञ्च हुँदै चलचित्रको पर्दामा आफ्नो अभिनयकला देखाइरहेका सापकोटाले बलिउड चलचित्र ‘बर्फी’मा रणवीर कपुर र प्रियंका चोपडासँग अभिनय गरेपछि उनको चर्चा एकाएक चुलियो ।

    १० भदौ २०३५ मा हेटौंडामा जन्मिएका उनले गोपी, कुम्भकर्ण, चचहुई, कागजपत्र, पण्डित बाजेको लौरी, मिस्टर भर्जिन, रणवीर लगायतका दर्जन बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् ।

    साम्तेन भुटिया निर्देशित नेपाली चलचित्र ‘चचहुई’को छायांकनका लागि भोलाराज २०७५ सालमा हङकङ आइपुगेका थिए । जेठ महिनामा यहाँ आइपुगेका उनलाई हङकङ असाध्यै गर्मी लाग्यो रे । “पहिला युरोप, बेलायत गएको थिएँ त्यताजस्तै मौसम होला भन्ने सोचेको थिएँ तर होइन रहेछ,” उनी भन्छन्, “नेपालको तराईमा भन्दा पनि बढी गर्मी लाग्यो । समुन्द्रको छेउ भएर पनि होला बाफिएर खपिनसक्नु गर्मी भयो ।”

    हङकङ र नेपालमा छायाँकन भएको ‘चचहुई’मा आर्यन सिग्देल, माओत्से गुरुङ, मिरुना मगर र भोलाराज सापकोटाको मुख्य भूमिका छ । उनी आर्यन र माओत्सेसँगै हङकङ आएका थिए । हङकङका लान्ताउ, नर्थप्वाइन्ट, मुइयो, गार्डेन हिल लगायतका ठाउँमा फिल्मको छायाँकन भयो । फिल्ममा हङकङबाट नेपाल फर्किएको सिन खिच्नु थियो । हङकङको मुख्य सहर र पुलमा सुटिङ भयो । तर उनलाई यहाँ हतारमा लुकीछिपी सुटिङ गरे जस्तो अनुभव भयो । भन्छन्, “कति ठाउँमा लुकेर जस्तै खिच्यौं, फुत्त खिच्यो हिंड्यो ।”

    हङकङ एयरपोर्टमा पनि खिच्नुपर्ने सिन थियो तर एयरपोर्टमा लुकेर खिच्न पनि नमिल्ने । छायाँकनका लागि महँगो पैसा तिर्नुपर्ने रहेछ । त्यसको सट्टा पानीजहाजमा खिचिएको उनी बताउँछन् । नेपालका धेरै फिल्म र बलिउडमा समेत अभिनय गरेका उनलाई हङकङमा छायाँकनका क्रममा फरक अनुभव भयो । नेपाल र बलिउडतिर फिल्म छायाँकन हेर्नेको भिड लागि हाल्छ । तर हङकङमा सुटिङ डिस्टर्ब हुनेगरी भिड कतै भएन । ‘एउटा डाँडामा खिच्दा चाहिं अलिअलि मान्छेहरू थिए, नर्मलै भयो, खासै डिस्टर्ब भएन ।”

    छायाँकनका लागि पाँचजनाको टोली आएको थियो हङकङ । यहाँ धेरै नेपाली साथीहरू भेटे उनले । पहिला नचिनेका नेपालीहरू पनि धेरै भेटे । उनीहरूबाट पाएको माया, सम्मान अहिले पनि सम्झिरहन्छन् । एकपटक फिल्म छायाँकनकै क्रममा नेपालीहरूसँग भेट भयो । उनीहरूले बोलाएर खाना समेत खुवाएको उनी सम्झिन्छन् । भन्छन्, “त्यहाँ त नेपालीहरूको बस्तीजस्तै रहेछ । युवाहरूको एउटा समूह रहेछ । उहाँहरूले समन्वय गरेर विभिन्न ठाउँमा लैजानुभयो । नेपालदेखिकै साथीहरू सुरज थापा, डम्बरकृष्ण श्रेष्ठहरूसँग पनि भेट भयो । उनीहरूसँग पनि घुमियो । रमाइलो भयो ।”

    ‘म जहाँ गए पनि भाते !’

    भोलाराज खानेकुरामा भात मन पराउँछन् । हङकङमा पनि उनले मिठो भात पाइने ठाउँको खोजी गरे । उनी सम्झिन्छन्, “त्यहाँ पनि थकाली खाना, डल्ले खुर्सानी पाइँदो रहेछ । डम्बरजीले खाना खुवाउन लानुभएको थियो । म जहाँ गए पनि भाते हुँ । मिठो भात खाइयो ।”

    चलचित्र छायाँकनमा आएकोले उनीहरूको टोली एकदम हतारमा थियो । तर पनि चलचित्र र नाटक बुझ्ने, काम गर्ने नेपाली साथीहरू भेटेपछि कलाकारिताकै कुरा गरे । “हङकङमा सरकारले नै ठूलठूला हलहरू बनाएको रहेछ । त्यसो गरे पो कला–संस्कृतिको विकास गर्न सहज हुन्छ !” उनी भन्छन् ।

    उनले हङकङका नेपालीहरू प्रायः सबै काममा व्यस्त भएको देखे । तर, यस्तो व्यस्ताकाबीच पनि कतिपय नेपालीहरू आफ्नो रुचिको विषयमा सक्रिय रूपमा लागेको देखे । “कोही आफ्नो दैनिक कामको अलावा रुचिको काम सिक्दै सामाजिक काम गर्नुहुँदो रहेछ । त्यसमाथि, कलाकार भनेपछि सम्मान गर्ने, खाना खान बोलाउने, राम्रो रेस्पोन्स गर्नुभयो,” उनी सम्झन्छन् ।

    घुम्न नपाएको ‘स्टारफेरी’

    उनले पहिला चाइनाको महङ्खवपूर्ण क्षेत्रका रूपमा चिनेको हङकङका कथा र गीतहरू धेरै सुनेका थिए । ‘हङकङको सुनको चुरा’ गीत पनि खुबै सुनेका थिए । उनको दिमागमा हङकङ पक्कै चिसो ठाउँ होला भन्ने परेको थियो ।

    हङकङको भिसा दिन समय बढी लागेको उनको अनुभव छ । एक साताको भिसा पाएर आइपुगेका भोलाराज फिल्मको काम सकेर धेरैतिर घुमघाम गर्न चाहन्थे तर समयले पुगेन । उनले साथीहरूबाट धेरै चर्चा सुनेर पनि घुम्न नपाएको ठाउँ हो– ‘स्टारफेरी’ । भन्छन्, “त्यहाँ साँझमा रङ्गीचङ्गी लाइट बल्छ रे । त्यो हेर्न जान खोजेको थिएँ तर जानै पाइनँ । सुटिङका लागि गएकोले पनि धेरै ठाउँ घुम्न पाइएन ।”

    उनलाई अहिले पनि शीतल भएपछि सबैजना समुन्द्र छेउमा जम्मा हुने गरेको दृश्य याद आइरहन्छ रे । “समुन्द्रको छेउमा मान्छेहरू । उहाँहरूको काम, घरप्रतिको जिम्मेवारीबारे सम्झिन्छु,” उनी भन्छन् । उनलाई हङकङको छोटो घुमघाममा प्रभाव परेको एउटा कुरा हो– यहाँको बजार । दिनभर गाडी दौडिने सडकमा राति बजार लागेको देख्दा उनी अचम्ममा परे । “सडकमा सबैकुरा पाइने, राति बजार छ बिहान सडक ! कति व्यवस्थित अनि सफा । आफ्नो समयमा चट्टै हट्ने, यहाँजस्तो पुलिसले कराउनु नपर्ने,” उनी भन्छन्, “खाना पनि आफ्नो इच्छा अनुसारको । हरेक कुराको व्यवस्थित बजार । शायद विकसित भएरै होला !”

    एकपटक उनलाई फिल्मका छायाँकार सुसन प्रजापतिका आफन्तले घुमाउन लगे । त्यसक्रममा हङकङमा सबै व्यस्त देखे उनले । नेपालमा जस्तो त्यत्तिकै हल्लिएर खाँदैनन् यहाँका मान्छे भन्ने लाग्यो । हङकङमा विशेष अवस्था र अवसरहरूमा सरकारले व्यक्ति–व्यक्तिलाई पनि पैसा दिने गरेको थाहा पाउँदा उनी झनै चकित परे । “नेपालमा चाहिं नेताहरूले मात्र खाने भएर होला, अनौठो लाग्यो,” उनी सुनाउँछन्, “रेडियो नाटकबाट आएको २ हजारको पनि कर तिर्नुपर्छ हामीले तर त्यो कर तिरेबापत जनताले सुविधा पाउँदैनन् । हङकङमा भने कर तिरेपछि जनताले सुविधा पाउँदा रहेछन् ।”

    नेपालमा त राजनीतिक वातावरणले पनि होला, राम्रो प्रतिभा भए पनि कुनै पार्टीमा नभएको मान्छे सधैं पछाडि पर्ने गरेको उनको अनुभूति छ । भन्छन्, “राम्रो प्रतिभा भएको व्यक्ति घमण्ड बोकेर बस्छ, प्रतिभा नहुने व्यक्ति पार्टीको झण्डा बोकेर माथि पुगिसकेको हुन्छ ।”

    ‘इमान्दारिता महत्त्वपूर्ण रहेछ !’

    भोलाराजले हङकङमा घुमघाम गर्दा होस् वा मुम्बईमा फिल्मको काम गर्दा होस्; नेपालभन्दा बिल्कुल फरक पाए ।

    हङकङमा काम गर्ने नेपालीहरू जति इमान्दारितापूर्वक मिहिनेत गर्छन्, बुम्बईका चलचित्रकर्मीहरू पनि त्यस्तै ‘प्रोफेसनल’ रहेको उनको अनुभव छ । तर, नेपालीहरूमा चलचित्र होस् वा जुनसुकै क्षेत्रमा पनि इमान्दारिताको कमी देख्छन् उनी, “बलिउडमा कामप्रतिको इमान्दारिता एकदम धेरै हुन्छ । केही कुरामा कम्प्रोमाइज गरिदैंन । एउटा ड्रेस भएन भने पनि खोजेर ल्याइन्छ । तर, नेपालमा त्यस्तो हुँदैन बरु स्टोरी नै चेञ्ज गरिन्छ । त्यसकारण हामी पछि छौं ।”

    उनी बलिउडबाट नेपाली फिल्मकर्मीले इमान्दारिता सिक्नुपर्ने बताउँछन् । भन्छन्, “हामीलाई कहाँ पुर्‍याउने भनेर अनुशासन र इमान्दारिताले नै निर्देश गर्ने रहेछ । हामीले जुनसुकै काममा पनि इमान्दारिता सिक्न जरुरी छ ।”

  • कमेन्ट गर्नुहोस्