• तीन दशकअघिको ‘नेपथ्य’

  •  

    नेपालको चर्चित सांगीतिक समूह ‘नेपथ्य’ स्थापनाको ३१ वर्ष पुगेको अवसरमा नेपथ्यकै केही सदस्य र उनीहरूका शुभचिन्तक स्रोताहरूले सामाजिक सञ्जालमा दुईवटा फोटो सँगै राखेर शेयर गरे । दुईमध्ये एउटा फोटो ब्याण्ड स्थापनाकालको थियो भने अर्को चाहिं ब्याण्डका अहिलेका सदस्यहरूको ।

    नेपथ्यको संस्थापकमध्येका एक भीम पुनको नजरमा पनि पर्‍यो त्यो फोटो । पहिलो फोटोमा उनी आफैं युवा अवस्थामा थिए । हाल हङकङमा रहेका भीम आफ्नो २८ वर्षअघिको फोटो हेरेर भावुक भए, जतिवेला उनी २५ वर्षका जवान थिए । उनले सम्झिए, “त्यो समय बेग्लै रमाइलो थियो । तर म बाध्यताले यता आएँ, साथीहरूले अहिलेसम्म निरन्तरता दिंदा खुशी लाग्छ ।”

    सन् १९९० मा स्थापना भएको हो नेपथ्य ब्याण्ड । यसको स्थापनाको कथा पनि रोचक छ ।

    अमृत गुरुङ र दिपकजंग काठमाडौं पढ्न बसेका थिए । भीम भने आफ्नै कामले काठमाडौं पुगेका थिए । तीनजनाको भेट भएपछि ब्याण्ड स्थापना गर्ने सल्लाह भयो । उनीहरू पहिलादेखि नै प्राक्टिस गर्थे । पोखराको रामबजारमा ‘भञ्ज्याङ झंकार’ नामको क्लब थियो भने ‘देउराली क्लब’ पनि थियो । देउसी–भैलोमा उनीहरू तिनै क्लबबाट गाउने–बजाउने गर्थे । काठमाडौं पुगेपछि ‘सबैले गरिरहेका छन् हामी पनि ट्राई गरौं न त’ भनेर सल्लाह भयो । पछि बुद्धि गुरुङ र सुरेश पनि जोडिन आइपुगे । “ब्याण्ड त खोल्ने टुङ्गो भयो तर सबैजना वाद्यवाधक मात्र थियौं । टीममा भोकलिष्ट थिएनन्,” भीम ब्याण्ड स्थापनाको कथा सुनाउँछन्, “काठमाडौं इन्द्रचोकका मधुसुदन जोशी भन्ने साथी थिए, राम्रो गाउँछन् भनेर उनले रविन श्रेष्ठलाई लिएर आए । त्यसपछि सुरेश, बुद्धि, दिपक, अमृत, रविन र म भएर ब्याण्ड स्थापना गर्‍यौं ।”

    त्यतिवेला ब्याण्डमा दिपकजंग रिदम गितारिष्ट, अमृत वेस गितारिष्ट, बुद्धि गुरुङ किबोर्डमा, सुरेश ड्रममा, भीम गितारमा थिए । शुरूवातमा मेन भोकलिष्ट रविन थिए । अमृतलाई पनि शुरूदेखि नै गाउन इन्ट्रेष्ट थियो । तर उनी पछि मात्र गायनमा स्थापित भए ।

    ‘नेपथ्य’को संस्थापकमध्येका एक भीम पुन ।

    ब्याण्डले शुरूदेखि नै लोकभाकालाई पपमा ढालेर गाउन थाल्यो । शुरूमा ‘वर्षात्को मौसम’, ‘आँगनैभरि’ जस्ता गीत गाएका थिए । दोस्रो एल्बमको गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ बजारमा आएपछि भने ब्याण्ड एकाएक देशव्यापी चर्चामा आयो । ब्याण्ड स्थापना हुनु तीन/चार वर्ष अघिदेखि नै उनीहरूले अभ्यास गरिरहेका थिए । एल्बम रिलिज हुने वेलामा भने भीम विदेशतिर लागे । तर, सन् १९९३ मा नेपालै फर्किए । त्यसपछि अल नेपालमा कार्यक्रमहरू भए । उनी ब्याण्डमा सन् १९९६ सम्म सक्रिय भएर लागे ।

    हङकङ आएपछि छुट्यो ब्याण्ड

    सन् १९९७ तिर हङकङमा पहिलो कार्यक्रम लिएर आइपुग्यो नेपथ्य । चिम सा चुईमा भव्य कार्यक्रम भयो । त्यसपछि ब्याण्डका मुख्य गायक रविन श्रेष्ठ र गितारिष्ट भीम यतै बसे । रविन त अहिले हङकङबाट पनि बेलायत पुगिसकेका छन् ।

    पछि दिपक नेपालमै पाइलट बने । तर, अमृत गुरुङले ब्याण्डलाई निरन्तर अघि बढाउँदै लगे । उनैको सक्रियताले नेपथ्य अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पहिचान बनाउन सफल भएको छ । आफू टाढा भए पनि नेपथ्य संसारभर छाइरहँदा भीमलाई खुशी लाग्छ । भीम काम गर्दैगर्दा कसैले झट्ट चिन्दा आफूलाई हेर्ने तरिका नै फरक भएको अनुभव साट्छन् । भन्छन्, “जे गरेको छ, अमृतले गरेको छ । अहिलेसम्म हामीले जुन इज्जत पाएका छौं, त्यसको श्रेय अमृत गुरुङलाई नै जान्छ ।” भीम अमृतप्रति कृतज्ञता दर्शाउँदै भन्छन्, “अमृतले जोगाइ नरहेको भए दुई/चार वर्षपछि हराउँथ्यो नेपथ्य । अमृतले जोगाएकै कारण अहिलेसम्म नेपथ्यको संस्थापक भीम पुन भन्दा गर्व लाग्छ ।”

    भीमले ब्याण्ड छोडेको लामो समय भयो, करिब २४ वर्ष । तर उनलाई भने त्यसवेलाको एकदम याद आउँछ । त्यसवेला अहिले जस्तो सुविधा थिएन । गीतहरू बनाउन धेरै दुःख हुन्थ्यो । अहिले जस्तो इन्स्ट्रुमेन्टहरू कहाँ पाउनु ! एउटा होलो गितार पनि थिएन उनीहरूसँग । सम्झिन्छन्, “एउटा साथीले पछाडि भ्वाङ परेको गितार टेपले टालेर पनि बजाएका थियो । सारै दुःख थियो अनि रमाइलो पनि !”

    भीम र रविन हङकङमै बसिसकेका थिए । नेपथ्यको कार्यक्रम जापानमा पनि हुने भयो । अमृतले उनीहरूलाई पनि बोलाएका थिए तर जान सकेनन् । “त्यतिवेला भर्खर आईडी बनेर यहाँ काम गरिरहेको थिएँ । अमृतले जानुपर्छ पासपोर्ट पठाइदे भनेको थियो तर म भर्खर यहाँ स्थापित हुन खोजिरहेको थिएँ । स्ट्रगलका वेला डिसिजन दिन सकिनँ,” उनी सुनाउँछन् । ब्याण्डमा सँगै साथ दिन नसके पनि भीम र अमृतको व्यक्तिगत सम्बन्ध भने अहिले पनि राम्रो छ । पहिलादेखि नै उनीहरूको पारिवारिक किसिमको सम्बन्ध थियो । पहिलादेखि घरमा आउने–जाने, बस्ने गर्थे । अहिले पनि उस्तै छ ।

    विदेशिनु बाध्यता

    नेपथ्य पहिला पपसँगै सामाजिक गीतहरू गाएर अघि बढ्यो । अहिले समयसँगै अमृतले नयाँ पुस्तालाई समेत मनपर्ने गीतहरू ल्याए । त्यसैले यो ब्याण्ड पुराना नयाँ दुवै पुस्ताका स्रोताहरू माझ परिचित छ ।

    अमृतको अहिलेसम्मको निरन्तरता अनि ब्याण्डको बढ्दो लोकप्रियता देख्दा भीमलाई कहिलेकाहीं त आफू पनि ब्यान्डमै रहिरहेको भए हुन्थ्यो जस्तो लाग्छ । तर त्यसवेला विदेशिनु आफ्नो बाध्यता रहेको सुनाउँछन् उनी । “ब्याण्डमा बजाउँदा आमाले ‘यस्तो नबजा न, यस्तो बजाउँदा दुःखी आत्मा हुन्छ रे’ भन्नुहुन्थ्यो,” उनी भन्छन्, “त्यतिवेला गाएर÷बजाएर जीवनयापन गर्न कहाँ सकिन्थ्यो र ! त्यसैले पनि विदेशिनुपर्‍यो । यो रहर नभई बाध्यता थियो ।” उनको समयमा कार्यक्रम गर्दा पनि आफ्नै गोजीको पैसा खर्च हुन्थ्यो । कहिले कार्यक्रम गर्‍यो आयोजक नै भागिदिने, खोजेर हिंड्नुपर्ने अवस्था थियो । नेपालमा ‘स्कोप’ नभएकोले उनी हङकङमा बसेको बताउँछन् ।

    हङकङमा पनि सङ्गीतमा सक्रिय

    हङकङ आएर पनि उनले सङ्गीत भने चटक्कै छोडेका छैनन् । यहाँ हुने कार्यक्रमहरूमा बजाउँछन् । यहाँ उनीहरूको ‘इस्टलाइभ ब्याण्ड’ले ब्याकअप ब्याण्डका रूपमा काम गरिरहेको छ ।

    हङकङको ठाउँमा ब्याण्ड स्थापना गर्न गाह्रै थियो तर उनीसँग भएको नेपथ्यको अनुभवले सहज भयो । साथीहरू नेपालदेखि नै संगीतमा लागेका राजु, यादव, मनोज, कृष्ण अनुभवी भएकोले पनि उनीहरूको ब्याण्ड हङकङमा सक्रिय बन्यो । उनीहरूले हङकङमा प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, विक्रम गुरुङ लगायतका गायकहरूको साङ्गीतिक कार्यक्रममा ब्याकअप ब्याण्डका रूपमा बजाइसकेका छन् । वाद्यवाधक मात्र हुनु र गायक हुनुमा अलि फरक रहेको उनी बताउँछन् । किनकि गायकलाई सबैले चिन्छन् वाद्यवाधकलाई कमैले । विशेषगरी नेपालमा गायक मात्र हाइलाइट हुने बजाउनेहरू चाहिं पछाडि हुन्थे तर अहिले सबैले बुझ्दै गरेको उनको अनुभव छ । उनी भन्छन्, “भगवानले मलाई कला दिए तर गला दिएनन् । म अरूलाई यस्तो–यस्तो भनेर सिकाउँछु तर मेरो भोकल राम्रो छैन ।”

    भीमले ब्याण्ड छोडेको लामो समय भयो, करिब २४ वर्ष । तर उनलाई भने त्यसवेलाको एकदम याद आउँछ । त्यसवेला अहिले जस्तो सुविधा थिएन । गीतहरू बनाउन धेरै दुःख हुन्थ्यो । अहिले जस्तो इन्स्ट्रुमेन्टहरू कहाँ पाउनु ! एउटा होलो गितार पनि थिएन उनीहरूसँग । सम्झिन्छन्, “एउटा साथीले पछाडि भ्वाङ परेको गितार टेपले टालेर पनि बजाएका थियो । सारै दुःख थियो अनि रमाइलो पनि !”

    हङकङ आइसकेपछि उनले तिनै साथीहरूसँग चिम सा चुईको ‘संगीत’ भन्ने रेष्टुरेण्टमा बजाउन थाले । गजलमा बजाउँदा–बजाउँदै ब्याण्ड स्थापना गरे । यसरी भीमले यहाँ पनि कामबाट फुर्सद पाउनेबित्तिकै संगीतमा समय दिएका छन् । संगीतविना जीवनै अधुरो लाग्छ उनलाई । भन्छन्, “संगीत दुःखमा पनि चाहिन्छ सुखमा पनि चाहिन्छ ।” कतिले संगीतमा डुब्नेलाई दुखिया भन्छन् तर भीम ती मान्छे सुखी र खुशी लाग्छ । “छाड्न पनि नसकिने रहेछ संगीत । त्यसैले माया मार्न सकिनँ,” उनी सुनाउँछन् । विदेशको ठाउँ कामैकाम । पहिला त उनी विदेश जान पाए संगीतलाई अगाडि बढाउथें भन्ने सोच्थे तर सोचेजस्तो हुन्न रहेछ । यहाँ आएर काम गर्न थालेपछि फुर्सदै मिल्न गाह्रो । अहिले भने समय ‘म्यानेज’ गरेर संगीतलाई समय दिइरहेका छन् ।

    फेरि सँगै गाउने धोको

    २८ वर्षअघिको फोटो सामाजिक सञ्जालमा देख्दा उनलाई ‘हैट, हेर्दाहेर्दै बुढो भइएछ !’ जस्तो लाग्यो रे । तर त्यसवेलाका आफ्ना गीतहरू सुन्दा र आज पनि युवापुस्ताले मन पराइदिंदा भने सन्तोष मान्छन् । त्यसैले त उनलाई लाग्छ, “संगीत अजम्बरी हुन्छ ।”

    ब्याण्डका पुराना साथीहरू आ–आफ्नो जीवनमा व्यस्त छन् । भीमलाई उनीहरूको घरीघरी सम्झना आउँछ । अनि उनको मनमा एउटा धोको पलाएको छ– पुराना ब्याण्ड मेम्बरहरू नेपालमा एक ठाउँमा जम्मा भएर कन्सर्ट गर्ने । एक दिन साथीहरूसँग यति कुरा भन्ने विचार छ उनको ।

    भीम अहिले ब्याण्डको नामजस्तै नेपथ्यमा अर्थात् पर्दा पछाडि छन् । तर आफूले दुःख गरेको ब्याण्डलाई टाढैबाट नियालिरहेका छन् । स्रोताहरूबाट सम्मान पनि पाइरहेको अनुभूति गर्छन् । “रेसपेक्ट अहिलेसम्म पाइरहेको छु,” उनी भन्छन्, “हामीले नेपथ्य छोडे पनि अमृतले सम्हालेर हिंडेका छन् । सबै दर्शक–स्रोताले यसरी नै साथ दिनुस् । कलाकारका लागि भगवानै दर्शक–स्रोता हुन् । यस्तै माया पाइरहूँ सधैंभरि ।”

  • कमेन्ट गर्नुहोस्