• हात, खुट्टा र मुखमा लाग्ने रोग

  •  

    बालबालिकाको हात, खुट्टा र मुखमा घाउखटिरा आउनु सामान्य हो । कक्स्याकिभाइरस र एन्टेरोभाइरस (ईभी ७१) जस्ता एन्टेरोभाइरस रोगका कारण हुन् । ईभी ७१ गम्भीर प्रकारको सङ्क्रमण हो जसले मृत्यु पनि हुन सक्छ ।

    रोग सामान्यतया सातदेखि दश दिनमा आफैं निको हुन्छ । शुरूमा ज्वरो आउँछ, भोक हराउँछ, थकान अनुभव हुन्छ र घाँटी पनि दुख्छ । इन्क्युबेसन अवधि तीनदेखि सात दिनसम्म रहन्छ । ज्वरो आएको एकदेखि दुई दिनपछि मुख दुख्न थाल्छ । साना राता दागजस्ता फोका आउँछन् र अल्सर बन्छन् । यस्तो प्रायः जिब्रो, गिजा र गालाको भित्री भागमा हुन्छ । छालामा नचिलाउने राता दाग देखा पर्छन् । फोका पनि उठ्न सक्छ । यस्ता दाग प्रायः हत्केला र पैतालामा देखा पर्छन् । कसैको यौनाङ्ग र नितम्बमा पनि यस्तो हुनसक्छ । एचएफएमडी भएका व्यक्तिमा रोगको लक्षण नदेखिन पनि सक्छ । खालि राता दाग वा मुखको अल्सर मात्रै पनि आउन सक्छ । नाक वा घाँटीबाट निस्किने तरल पदार्थ, झ्याल, छालामा भएको फोकाबाट निस्कने तरल पदार्थ, बिरामीको दिसा वा प्रदुषित सामग्री छोए रोग सर्छ । रोग लागेको पहिलो सातामा सङ्क्रमण फैलिने जोखिम बढी हुन्छ । रोगको भाइरस दिसामा हप्तौंसम्म पनि रहन्छ ।

    यसको कुनै विशेष औषधि उपचार छैन । बिरामीले धेरैभन्दा धेरै पानी खानुपर्छ र पर्याप्त मात्रामा आराम गर्नुपर्छ । ज्वरो र मुखमा हुने अल्सरको पीडा घटाउन बिरामीलाई औषधि दिन पनि सकिन्छ ।

    बिरामी बालबालिका विद्यालय जानु हुँदैन । छालामा आएका सबै फोका नसुकेसम्म कुनै भेलामा सहभागी हुनु हुँदैन । ईभी ७१ संक्रमण भएका बिरामी निको भएपछि (ज्वरो घटे, दाग हराए र फोका सुके) पनि दुई सातासम्म घरमै बस्नुपर्छ ।

    आमाबाबुले सन्तानको अवस्था अनुगमन गर्नुपर्छ । ज्वरो नघटे, धेरै ज्वरो आए, सतर्कतामा ह्रास भए वा अवस्था बिग्रंदै गए तुरून्तै स्वास्थ्यकर्मीलाई देखाउनुपर्छ ।

    हाललाई कुनै खोप उपलब्ध छैन । व्यक्तिगत र वातावरणीय स्वच्छता नै रोकथामको उपाय हो । साबुनपानीले बारम्बार हात धुनुपर्छ । खोक्दा वा हाँच्छ्यु गर्दा टिस्यु पेपरले नाक र मुख छोप्नुपर्छ । प्रयोग गरेको टिस्यु पेपर सुरक्षित स्थानमा फ्याँक्नुपर्छ र साबुनपानीले हात मिचिमिचि धुनु पर्छ । अन्य व्यक्तिको तौलियालगायत व्यक्तिगत सामग्री प्रयोग गर्नु हुँदैन ।

    फर्निचर, खेलौना र सबैले प्रयोग गर्ने वस्तुलाई ५.२५ प्रतिशत ब्लिच एक भाग र ९९ प्रतिशत पानी मिसाएको घोलले (१:९९ अनुपात) सफा गरी निःसंक्रमण गर्नु पर्छ । संक्रमित व्यक्तिलाई छुने, चुम्बन र अंकमाल गर्नु हुँदैन ।

  • कमेन्ट गर्नुहोस्