• त्यो बेलाको हङकङ

  •  

    भूतपूर्व ब्रिटिस गोर्खा सैनिक खड्गबहादुर लिम्बू (नेयोङ) हङकङमा नियमित बस्न थालेको २२ वर्ष भयो । तर त्यसअघि पनि जीवनका ऊर्जाशील १५ वर्ष यही हङकङको माटोमा पसिना बगाएका थिए, ब्रिटिस सेनाका रुपमा ।

    लिम्बू भर्ती हुँदाको कथा पनि रोचक छ । उनका बाजे पनि ब्रिटिस आर्मीकै सुवेदार मेजर थिए । कान्छा काका पनि सुवेदार मेजर, आफ्नै ठूलो दाजु पनि लाहुरे नै थिए । खड्गलाई चाहिं लाहुरे बन्ने खासै ठूलो रहर थिएन । ताप्लेजुङका उनी पढाइका लागि तेह्रथुम बस्थे । तेह्रथुमको मदन मेला निकै चर्चित थियो । साथीहरूसँग मेला भर्न गएका बेला गाउँमा गल्लावाल आएका रहेछन् । साथीहरूको लहैलहैमा लागेर गल्लावालसम्म पुगे । नापजाँच गर्दा उनी भर्ना पनि भइहाले । “गल्लावालले ६ महिनामा धरानको घोपा क्याम्प आउनु भन्दै टिकट दिए,” उनी सम्झिन्छन्, “त्यो टिकट लिएर धरानमा १९७९ जनवरीमा भर्ती भएँ । त्यहाँ २ हप्ता तालिम लिएपछि लगत्तै हङकङमा बेसिक ट्रेनिङका लागि ल्यायो ।”

    मेला भर्न गएको मान्छे भर्ती भएर तालिमका लागि हङकङ आइपुगे । त्यसबेला साढे ६ महिना जति तालिम भएको थियो । जुन÷जुलाई महिनामा भने एकदमै गर्मी हुन्थ्यो । विस्तारै बानी भएपछि उनलाई सहज हुँदै गयो । तालिममा धेरै दुःख भयो । नेपालमा फ्रि भएर हिंड्ने युवा यहाँ आएर समय तालिकाअनुसार खाँदा, हिंड्दा निकै गाह्रो भयो तर बानी बस्दै गयो ।

    “त्यसबेला हङकङ त्यति राम्रो थिएन । अहिले सम्झिँदा टेलिभिजनहरू ब्ल्याक एण्ड ह्वाइट मात्र थिए । अरु पनि खासै विकास भएको थिएन,” उनी सम्झिन्छन्, “युनलङतिर सबै पोखरी नै पोखरी थिए । त्यहाँ गाई–भैंसीहरू मात्र हुन्थे । काम्तिङतिर पनि त्यस्तै थियो । अहिले जस्तो बिल्डिङहरू केही थिएनन् । एमटीआरहरू थिएनन्, एलआरटी, टनलहरू थिएनन् । पेसीआर चाहिं उतापट्टि थियो । त्यसबेला फेरिले सबै गाडीहरू बोकेर वारिपारि गराउँथे । काउलन टु हङकङ आइल्यान्ड गराउँथे ।”

    उनको भनाईमा त्यतिबेला नेपालीहरूको अहिलेको जस्तो रेस्टुरेण्ट, बारहरू केही पनि थिएनन् । चुङ्किन मेन्सन भन्ने थियो, चिम सा चुईमा । त्यहाँ चाहिं छुट्टीका दिन नेपाली खाना, ढिंडो खान पुग्थे उनी । “नेपालीको व्यवसाय भनेको त्यही मात्र थियो । अरुतिर एउटै नेपाली थिएनन् । सन् १९८० ताकासम्म,” उनी भन्छन्, “सन् १९९४ पछि जब यहाँ आईडी खुल्यो अलिअलि गर्दै नेपालीहरू आए । अहिले त जता गए पनि नेपाली देखिन्छन् ।”

    लिम्बू बेसिक तालिमपछि क्विन्स गोर्खा इन्जिनियरिङ पल्टनमा भर्ना भए । त्यहाँ फेरि बेसिक इन्जिनियरिङको तालिम लिनु पर्‍यो । उनले वेल्डिङमा काम गरे । इन्जिनियरिङबाटै उनी ब्रुनाई, मलेसिया, फिजी, अष्ट्रेलियासम्म गए काम गर्नका लागि । काम इन्जिनियरिङ पल्टनको भए पनि कहिलेकाहीं जंगल एक्सरसाइजमा पनि अरु पल्टनसँग जानुपर्थ्यो ।

    त्यो बेला हङकङमा उनको पल्टनले चुनमुनको बाटो बनायो । लान्ताउ आयरल्यान्डमा सस्पेन्सन ब्रिज बनायो करिब ५ सय मिटर लामो कंक्रिटको । बोट ल्याउन्ड गर्ने सानोतिनो फेरि बनायो । त्यस्ता प्रोजेक्ट थुप्रै गरे ।

    उनीहरूको काम सीमा सुरक्षामा खटिने पल्टनका लागि पुल, खानेपानी, माइन्ड ल्यान्ड बनाइदिने हुन्थ्यो । उनीहरूको एक रेजिमेन्टमा झन्डै २४ सय देखि २५ सय सेना हुन्थे । सबै गरेर त्यसबेला करिब ८ हजार जति थिए गोर्खाली सेना ।

    हङकङका अन्य ठाउँ विकासित नभए पनि त्यसबेला जोर्डन चाहिं अहिले जस्तै थियो । लिफ्टविनाका पाँचतले विल्डिङहरू त्यस्तै थिए । त्यसबेला बैंकहरू जताततै थिए तर अहिले कम रहेको उनी बताउँछन् ।

    उनी पल्टनबाटै बेलायत गएर ३/४ वर्ष बसे, बेलायत जाँदा बढी पैसा पाइन्थ्यो । उतैबाट १९९३ अन्तिममा रिटायर्ड भए । रिटायर्डपछि पनि उनी सन् १९९४ मा फेरि हङकङ आइपुगे । त्यसबेला चाहिं उनी चिङ्मा ब्रिजमा प्रोजेक्ट शुरू भएदेखि अन्तिमसम्म काम गरे । ब्रिजको पिलर बनाउँदादेखि नै उनले पसिना बगाएका छन् ।

    रिटायर्ड भएपछि उनलाई खासमा हङकङ बस्ने विचार थिएन तर श्रीमती विष्णुकुमारी यहींको आर्मीकी छोरी भएकोले उनको माध्यमबाट लिम्बू पनि यहीं बसे । अहिले उनका जेठी छोरी, ज्वाईं, नाति यहीं छन् । कान्छी छोरी र ज्वाईं नेपालमा छन् ।

    सैनिकका रुपमा हङकङ आएका उनी रिटायर्डपछि दोस्रो पटक सामान्य नागरिकका रुपमा आए । १९९९ सम्म कन्ट्रक्सनमा काम गरे । त्यसपछि भने अहिलेसम्म सेक्युरिटीमा छन् ।

    २० वर्षको उमेरमा भर्ती भएका उनको शुरूमा २५० डलर थियो तलब । छाड्ने बेलामा फुल कर्पोरल थिए । त्यसबेला ७ हजार डलर पाउँथे । पहिला पेन्सन पनि धेरै थिएन । अहिले भने प्रतिमहिना ६४ हजार पेन्सन पाउँछन् ।

    नेपाल गएका बेला उनी प्रायः ताप्लेजुङ, धरानतिर गइरहन्छन् । उनको भर्तीको नम्बर २११६२७८८ हो । उनका नम्बरीहरू ५ जना यहीं छन् । चिङ्मा ब्रिजमा काम गर्ने उनका साथीहरूमध्ये सबै यूके गइसके ।

    उनी कुनै लडाइँमा परेनन्, त्यसैले आफ्नो पल्टनलाई लक्की मान्छन् उनी । उनका नम्बरीहरू त सन् १९८१ को फोक्ल्याण्डको युद्धमा परे । कति नम्बरी बिते, कति घाइते भए । उनी भने इन्जिनियरिङ पल्टनमा भएकोले लड्नु परेन ।

    लिम्बूको नेपालमै घर जग्गा छ । उतै रिटायर्ड लाइफ बिताउने चाहना छ उनको । ६५ वर्षको उमेरसम्म यहीं बस्ने र त्यसपछि नेपाल जाने सुनाउँछन् उनी ।

    भर्ती लाग्न चाहने नयाँ युवाहरूलाई सकेसम्म राम्रोसँग पढेर अन्य पेसा गर्न सुझाव दिन्छन् उनी । भन्छन्, “हुन त पहिला भन्दा अहिले राम्रो छ । तर पनि राम्रो पढेर केही गर्न सल्लाह दिन्छु ।”

  • कमेन्ट गर्नुहोस्