• कोभिड–१९ खोपको सुरक्षा अनुगमन

    कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध साइनोभ्याकको पहिलो खुराक लिंदै कार्यकारी प्रमुख क्यारी लाम । तस्वीर स्रोतः लामको फेसबुक पेज
  •  

    डिपार्टमेन्ट अफ हेल्थ (डीएच)ले वर्तमान निष्क्रिय निगरानी अभिवृद्धि गर्ने र सक्रिय निगरानी गरेर कोभिड–१९ खोप लगाएपछि हुनसक्ने सम्भावित दुष्प्रभावलाई अनुगमन गरिरहेको छ ।

    खोप लगाएपछि हुने स्थानीय दुष्प्रभावबारे सूचना गराउनुपर्ने अनिवार्य व्यवस्थाबाहेक डीएचले विभिन्न देश र क्षेत्रका औषधि उपचार नियामक निकायका साथै विश्व स्वास्थ्य संगठनले लागू गरेको सुरक्षा र प्रभावकारिता मूल्यांकनलाई समेत ध्यानमा राखेको छ ।

    अपेक्षित दुष्प्रभाव सूचीकृत गरिएको खोपसम्बन्धी तथ्य (फ्याक्टशीट) र स्वास्थ्यकर्मीको परामर्श लिनेजस्ता जानकारी प्रकाशन गर्नेबाहेक वर्तमान निष्क्रिय निगरानीलाई अभिवृद्धि गर्न र सक्रिय निगरानी राख्न विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको कोभिड–१९ खोप सुरक्षा निगरानी रणनीतिलाई डीएचले ध्यानमा राखेको छ ।

    निगरानी गर्ने तरिका

    १) स्वास्थ्यकर्मी र औषधि उद्योगबाट कोभिड–१९ खोपको दुष्प्रभावबारे सूचना संकलन गर्नका लागि कोभिड–१९ भ्याक्सिन एडभर्स इभेन्ट अनलाइन रिपोर्टिङ प्रणाली स्थापना गरिएको छ ।

    २) शंकास्पद र गम्भीर वा अनपेक्षित दुष्प्रभाव सूचित गर्न स्वास्थ्यकर्मी र सम्बन्धित संस्थालाई पत्राचार गरिएको छ ।

    ३) सक्रिय निगरानीका लागि डीएचले युनिभर्सिटी अफ हङकङको डिपार्टमेन्ट अफ फर्माकोलोजी एन्ड फार्मेसीसँग सहकार्य गर्दै सार्वजनिक र निजी स्वास्थ्य सेवा केन्द्रबाट स्वीकृतिप्राप्त खोपको सम्भावित दुष्प्रभावका घटनाबारे जानकारी संकलन र कार्यकारण मूल्यांकन गरिरहेको छ । दुर्लभ वा गम्भीर दुष्प्रभावलाई विशेष ध्यान दिइएको छ । त्यसैगरी, निश्चित लक्षित समूहमा विभिन्न स्वीकृतिप्राप्त कोभिड–१९ खोपको सम्भावित दुष्प्रभावका घटनाको बृहत् अनुगमन पनि गरिनेछ ।

    माथि उल्लेखित निगरानी कार्यान्वयनका लागि डीएचले विशेषज्ञ समिति पनि गठन गरेको छ । समितिले कोभिड–१९ खोपसँग सम्बन्धित घटनाको निरन्तर अनुगमन गर्नेछ । स्वीकृतिप्राप्त खोपको सुरक्षा अनुगमन सम्बन्धमा विज्ञ मत र सल्लाह दिनेछ । विशेषज्ञ समितिले जोखिम सञ्चार योजना तर्जुमा गरेको छ । योजनामा अनुगमन, सूचना सम्प्रेषण र घटनापछिको कारबाही पनि समावेश छ । घटनापछि सम्बन्धित खोपबारे चेतावनी दिने, उत्पादनको लेबलबारे अद्यावधिक जानकारी दिने र वितरकलाई खोप फिर्ता ल्याउने निर्देशन आदि काम हुनेछ । स्वीकृतिप्राप्त खोपको जोखिम बढी भए, प्रिभेन्सन एन्ड कन्ट्रोल अफ डिजिज रेगुलेसन (खोपको प्रयोग) अन्तर्गत स्थापना भएको सल्लाहकार प्यानललाई सम्बन्धित खोपको स्वीकृति रद्द गर्ने वा नगर्ने सम्बन्धमा सेक्रेटरी अफ फूड एन्ड हेल्थलाई सिफारिस गर्न सान्दर्भिक जानकारी उपलब्ध गराउनेबारे समीक्षा र विचार गर्ने लगायतका कारबाही डीएचले गर्नेछ ।

    कोभिड–१९ को खोप लगाएपछि स्वास्थ्यमा हुनसक्ने सम्भावित जोखिमका घटना नजिकबाट अनुगमन गर्न र सार्वजनिक स्वास्थ्यको सुरक्षाका लागि सार्वजनिक चासो सम्बोधन गर्न सरकार प्रतिबद्ध छ ।

  • कमेन्ट गर्नुहोस्