• खोप कार्यक्रमलाई सफल बनाऔं; आफू बाचौं, अरूलाई पनि बचाऔं

  •  

    महामारी कोरोनाभाइरस (कोभिड–१९)ले विश्व आक्रान्त भएको एक वर्षभन्दा बढी भएको छ । यसबीचमा करोडौं मानिस संक्रमित भएका छन् भने लाखौंले ज्यान गुमाउनुपरेको छ । यसबाट प्रभावित नभएको कुनै क्षेत्र छैन । विश्वको शक्तिशाली राष्ट्र पनि यसबाट हार खाएको अवस्था छ । एक देशबाट अर्को देश आवगमन लगभग ठप्प रहेको छ ।

    कोभिड–१९ को शुरूवात भएपछि यसको रोकथामका लागि भएका उपायहरू निष्प्रभ रहे । संक्रमण रोक्नका लागि सामाजिक दूरी कायम राख्नुको विकल्प देखिएन । यसका लागि टोल, गाउँ, जिल्ला, प्रदेश र देश नै लकडाउन गर्नुपर्ने बाध्यता आइलाग्यो विश्वलाई । बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मास्कको प्रयोग अनिवार्य बन्यो । जतिसुकै घमण्ड गरे पनि अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पनि मास्क प्रयोग गर्न बाध्य भए ।

    कोरोनाभाइरस यस्तो देखियो कि यसलाई कुनै पनि औषधिले नाश गर्न नसक्ने भयो । यसबाट बच्नका लागि खोपको विकल्प भेटिएन । खोपमार्पmत मानिसको प्रतिरक्षा शक्ति बढाउन खोपको विकासमा विज्ञहरू लागे । चीन, अमेरिका, बेलायत, रुसलगायतका देशहरूले विकास गरेका खोप विभिन्न चरण पार गर्दै प्रयोग गर्न सकिने अवस्थामा पुगेका छन् । कतिपय खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आपतकालीन प्रयोगको लागि मान्यता दिएको छ । डब्लूएचओको मान्यतापछि विभिन्न देशका स्वास्थ्य विभागले विभिन्न खोपलाई आफ्नो देशमा अनुमति दिएका छन् ।

    डब्लूएचओले मान्यता दिएपछि प्रायः देशले खोप कार्यक्रम लागू गरेका छन् । गरिब र सामर्थ्य नभएका राष्ट्रलाई सहयोग गर्न डब्लूएचओले कोभ्याक्स योजना अघि सारेको छ । यस योजनाअन्तर्गत निश्चित खुराक खोप निःशुल्क उपलब्ध गराइनेछ । त्यसका साथै खोप उत्पादक देशहरूले आफ्ना सहयोगी र छिमेकी देशहरूलाई सहयोगमा केही खोप उपलब्ध गराइरहेका छन् । विगतका महामारीको अनुभवले के देखाएको छ भने समुदायमा ७० प्रतिशतभन्दा बढीले खोप लगाएपछि मात्र ‘सामुहिक प्रतिरक्षा’ (हर्ड इम्युनिटी)को स्थिति बन्नेछ । यसका लागि सामुदायिक खोप कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन आवश्यक छ । अहिलेसम्मका खोपहरू दुई खुराक लगाउनुपर्ने देखिएको छ । पहिलो खुराकपछि १९ देखि ४५ दिनभित्र दोस्रो खुराक लगाउनुपर्नेछ ।

    यसै अनुरूप हङकङले पनि सामुदायिक खोप कार्यक्रमको शुरूवात गरेको छ । हङकङ स्वास्थ्य विभागले पनि चीनको साइनोभ्याक, अमेरिकाको फाइजर (जर्मनमा उत्पादित बायोएनटेक) र बेलायतको अस्ट्राजेनिका खोपलाई अनुमति दिएको छ । खोप कार्यक्रमको शुरूवात कार्यकारी प्रमुख क्यारी लाम स्वयंले साइनोभ्याक लिंदै शुरू गरेकी छन् । यसका लागि सामुदायिक खोप केन्द्रहरू तोकिएका छन् । खोपका लागि अनलाइनमार्पmत अग्रिम बुकिङ गर्न सकिनेछ ।

    विकसित हुने चरणमा रहेकोले अहिलेसम्मका खोपहरूले पूर्णता पाएका छैनन् । यसबाट सामान्य असर पर्ने विज्ञहरूले बताइरहेका छन् । सामान्य असरका बाबजूद खोप लगाउनुको विकल्प छैन । जनतालाई विश्वस्त बनाउन हङकङ सरकारले विभिन्न सहायता योजना अघि सारेको छ । खोपकै कारण अंगभंग वा मृत्यु भए त्यही अनुसारको क्षतिपूर्तिका लागि आर्थिक सहयोग उपलब्ध गराउने सरकारले निश्चित गरेको छ । यसका साथै खोप लगाएकाहरूलाई सहुलियत पनि दिइने बताइएको छ । जस्तो; अहिले कतिपय क्षेत्रकाले प्रत्येक १४ दिनमा पीसीआर टेस्ट अनिवार्य गर्नु पर्छ । हङकङ बाहिर गएर फर्कंदा २१ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्छ । खोपका दुवै खुराक पूरा गर्नेलाई पीसीआर र क्वारेन्टिनको अनिवार्यता छुट हुन सक्नेछ ।

    ‘सामूहिक प्रतिरक्षा’ कुनै पनि देशबीच हुने भ्रमणका लागि महत्वपूर्ण रहनेछ । ‘सामूहिक प्रतिरक्षा’को स्थितिमा रहेका दुई देश वा शहरबीच भ्रमण खुला हुने प्रवल सम्भावना रहेको छ । यसबीचमा शून्य संक्रमण रहेका मकाउ र ताइवानबीच भ्रमण खुला भइसकेको छ । ती दुई शहरबीच पर्यटकलाई क्वारेन्टिनको व्यवस्था हटाइएको छ । हङकङले पनि मकाउ, सिङ्गापुर, ताइवान, दक्षिण कोरिया, जापानलगायतका देशबीच पर्यटकलाई क्वारेन्टिन हटाउने छलफल गरिरहेको छ ।

    विभिन्न कारणले ‘सामूहिक प्रतिरक्षा’को स्थिति सिर्जना गर्न आवश्यक छ । त्यसका लागि खोपको विकल्प छैन । तसर्थ, खोप कार्यक्रमलाई सफल बनाऔं, आफू बाँचौं र अरूलाई पनि बचाऔं !

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad