• खाली खुट्टामै दश दिनको यात्रा !

  •  

    कोक्रुवादेखि वराहक्षेत्रसम्म

    म सानो छँदा बाबाले विभिन्न डायरीमा केही लेखेको देखेको थिएँ । बाबाका धेरै लिखित डायरीहरू खै कता हराए । बाबाको डायरीहरूलाई संरक्षण गर्न सकिएनछ, मलाई अहिले निकै पछुतो लाग्छ । हाल मसँग बाबाको एउटा मात्र डायरी जतनसाथ छ । त्यो डायरीमा उहाँले २०२८ साल चैत्र ५ गते शनिबारको मितिमा एउटा सन्देश लेख्नुभएको छ, “हाम्रो घर छोडेर मधेशमा जाँदैछु । आफ्नो गाउँघरका साथीसंगीहरूसँग एक दिन दुई दिनको राम राम छ भन्दै छुटेको छु । म यो साल ३ वर्ष भयो मधेशमा पसेको ।” बाबाको यो सन्देश मधेशबाट पहाड घर कोक्रुवामा आउँदाको होला । यसको आधारमा बाबाले मधेशमा जग्गा–जमिन वि.सं. २०२५ तिरै किन्नुभएको देखिन्छ ।

    मैले पनि प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यताले भरिपूर्ण गाउँ कोक्रुवालाई छोडेर मधेशतर्फ लाग्ने दिन नजिकिंदै थियो । मैले मधेशमा नै बसेर अध्ययन गर्ने कुरा बाबा मधेशबाट पहाडमा आउनुहुँदा बताउनुभएको थियो । मेरो बालमस्तिष्कमा भने अनेकौं तर्कना खेलिरहेका थिए । मैले चाँडै नै जन्मस्थल कोक्रुवा गाउँ तथा दौंतरी–साथीभाइहरूलाई छोड्नुपर्ने थियो । जन्मे–हुर्केको तीन तले घर, मधुर संगीतमा कल–कल बगिरहने आँगनछेउको धारालाई छोड्नुपर्ने थियो ।

    मैले घरनजिकै रहेका नास्पाती, आलुबखडा लगायतका रसिला फलफूलका रूखहरूसँग पनि बिदा लिनुथियो । मेरो घरको आँगनभरि सुवास छर्दै फुल्ने फूलहरूलाई पनि माया मार्नुपर्ने थियो । विगतका वर्षहरूमा झैं घर मुन्तिरको घना जंगलमा दौंतरीहरूका साथ कटुसका दानाहरू टिपेर खान पाउने थिइनँ । विगतका वर्षमा राताम्ये लालीगुराँसका हाँगाहरूमा चढेर गुराँस–फूलको रस भँमराले झैं चुसेको थिएँ । तल भष्मेमा रहेको वर्षेनी फल्ने काफलका दानाहरू काफलचरीको स्वर लहरी सुन्दै खाँदै रमाएको थिएँ । मेरा यी बालक्षणहरू सम्झनामा मात्र बाँकी रहनेवाला थिए । त्यो चिहानडाँडा, आहालडाँडा अनि घंघारूघारी सबैलाई छोड्नुपर्दाको पीडाले निकै भावुक र व्याकुल भएको थिएँ । ६/७ वसन्तसम्म खेल्दै–रमाउँदै हुर्किएको कोक्रुवा गाउँको पाखा–पखेरा, खोला–नाला तथा सुन्दर एवं स्वच्छ वातावरणलाई छोड्नुपर्ने पीडाले मन अस्थिर थियो ।

    दिन बित्दै गए । मधेश झर्ने समय पनि आयो । हाम्रो घरमा पालेको ‘काले’ कुकुरले पनि थाहा पाएछ कि क्या हो !  मसँग सदाझैं मन खुलाएर जिस्कन मन गरेन । टुलटुल हेर्दै पुच्छर मात्र हल्लाइरहेको थियो । मलाई गाउँघर, साथीभाइ, इष्टमित्र, ढुंगा–माटो, वन–जंगल, बोट–बिरुवा, पशु–पन्छी, खोला–नाला, आदि सबैको माया लागिरहेको थियो । म यिनीहरूकै काखमा हुर्किएको थिएँ ।

    मेरो बाबा र दाजु दिलबहादुर मधेशमा नै हुनुहुन्थ्यो । उहाँहरूलाई सहयोग गर्नका लागि गाउँले दाजुहरू बुमे क्षेत्री र जंगबहादुर राई पनि तराईमै रहनुभएको थियो । बाजे, बजु, आमा, म र बहिनी भने पहाडमा नै थियौं ।

    वि.सं. २०२६ वा २०२७ सालको त्यस्तै माघ अथवा फागुनको महिना हुनुपर्छ । तल ‘ता’ खोलाबाट मध्यमखाले चिसो हावाले बादललाई कोक्रुवा गाउँतिर धकेलिरहेको थियो । म एकाबिहानै ब्युँझिएको थिएँ । वरिपरि देखिएका सम्पूर्ण चिज–वस्तु र वातावरणलाई नियालें । म त्यो दिन सबैलाई छोडेर मधेशतर्फ जाँदै थिएँ । मेरो काले कुकुरले परबाट मलाई टुलटुल हेरिरहेको थियो । मैले सम्झिएँ– ऊ पनि शायद रातभरि सुतेन होला ! मैले काले कुकुरलाई नजिक बोलाएँ । ऊ म छेउ खुरुक्कै आएको थियो । मैले माया गरेर केहीछिन उसलाई सुमसुम्याएको थिएँ । ऊ पनि मन नलागी–नलागी पुच्छर हल्लाउँदै रमाएझैं ग¥यो । मैले उसको पीडा बुझेको थिएँ । शायद उसले पनि मेरो पीडा बुझेको थियो होला । मलाई कालेको निकै माया लागेर आयो । तर मैले कालेसँग छुट्टिनु नै पर्ने थियो ।

    आमाले बाजे–बजुलाई घरको ताला–चाबी जिम्मा लगाउनुभयो । आमा, म र बहिनी घरबाट मधेशतिर बाटो लाग्यौं । चिहानडाँडा, आहलडाँडा हुँदै ओरालो लाग्यौं । मैले अन्तिम पटक हाम्रो तीनतले घरलाई पछाडि फर्किएर हेरें । त्यतिवेला म निकै भावुक बनेको थिएँ तर रुन चाहिं रोइनँ । हामी ‘सा’ खोला तरेर जफतेम्मा तिम्माको घर खिदिमा पुग्यौं । हामीलाई काले कुकुरले पछ्याइ नै रहेको थियो । “हामी टाढा मधेश जाँदैछौं । हामीलाई अब नपछ्यानू है । बरू बाजे–बजुसँग राम्ररी बस् है,” भनी सुमसुम्याउँदै सम्झाएको थिएँ । तैपनि ऊ निन्याउरो अनुहार बनाउँदै पछ्याइ नै रहेको थियो ।

    हामीसँगै काले कुकुरको पनि मधेश जाने इच्छा थियो शायद; मैले यी कुरा बुझे पनि उसलाई मधेश लग्नु सम्भव थिएन । खिदिमा बसाइको क्रममा आमा, तिम्मा र तिप्पा केहीक्षण गफिनुभयो । त्यसपछि, पुनः बाटो लाग्दै ‘ता’ खोलाको काठेपुल तरी उकालो लाग्यौं । मैले ‘ता’ खोलालाई चिप्रिङस्थित मावल जाँदा–आउँदा धेरैपटक नाघिसकेको थिएँ ।

    हामीलाई मधेश लैजानका लागि बाबाको साथी वीरबहादुर खत्री र उहाँको परिवार हुनुहुन्थ्यो । उहाँको घर खिदिमा गाविस बोरा गाउँमा पर्दथ्यो । आमाकाअनुसार हामी उहाँकै घरनजिक पुग्नुपर्ने थियो । र, निकै उकालो बाटो हिंडेर उक्त स्थानमा पुगेका थियौं । हामीलाई उहाँहरूले पर्खिरहनुभएको थियो । मैले उहाँहरूलाई तिप्पा–तिम्मा भनेर सम्बोधन गरेको थिएँ । तिप्पा वीरबहादुर खत्री, तिम्मा र दाइ तिलक समेत थपिएपछि मधेश प्रस्थान गर्ने हामी जम्मा ६ जना भएका थियौं । बोरा गाउँबाट पनि फेरि उकालो नै लाग्यौं । मुलडाँडा पुगेर केहीछिन विश्राम लियौं । त्यहाँबाट अन्तिमपटक आफ्नो गाउँघरलाई नियाल्दै बाई–बाई गरेको थिएँ । ‘ता’ खोलाबाट उठेको कुहिरोले हाम्रो गाउँलाई छोप्दै भाग्दै गरिरहेको थियो । त्यहींबाट मैले टेम्के डाँडालाई पनि अन्तिमपटक नियालेको थिएँ ।

    मेरो बहिनी चन्द्रकुमारी सानै थिई त्यसैले उसलाई बोक्ने जिम्मा खत्री तिप्पाले लिनुभएको थियो । म पनि त्यति ठूलो त होइन तैपनि तिलक दाइ साथी पाएकोले गफ गर्दै हाँस्दै फुर्किंदै हिंडिरह्यौं । हामी हिंड्दाहिंड्दै जहाँ रात पर्छ नजिकैको कुनै गाउँमा बास माग्थ्यौं अनि खाना पकाएर खाई सुत्थ्यौं र भोलिपल्ट उठेर मधेशतिर बाटो लाग्थ्यौं ।

    यात्रा शुरूवात गरेको केही दिनपछि माथि डाँडाबाट तल खोंचमा नागबेली आकारमा नीलो नदी बगिरहेको देखियो । तिलक दाइ र म छक्क पर्दै रमाउँदै दगुर्‍यौं । त्यो देखिएको नीलो नदी ‘अरुण नदी’ भएको खत्री तिप्पाले बताउनुभएको थियो । हाम्रो मनभित्र कतिखेर त्यस नदी नजिक पुग्न सकिएला भनी कौतुहलता जागिरहेको थियो । हामी दुई भाइ नीलो रंगको अरुण नदीलाई चाँडै भेट्न मच्चि–मच्चि हिंडेका थियौं ।

    मैले गाउँको खोलाबाहेक कहिल्यै त्यति ठूलो, नीलो रंगको नदी देखेको थिइनँ । हामी नदी देखिएको डाँडाबाट हिंडेको करिब २/३ घण्टापछि अरुण नदीको किनारमा पुग्न सफल भएका थियौं । म र तिलक दाइ नीलो नदीलाई नजिकबाट देखेर दंग हुँदै हर्षले गद्गद् भएका थियौं । हामी अरुण नदीलाई हेर्दै, रमाउँदै किनारै–किनारको गोरेटो बाटोमा निकै लामो समयसम्म हिंडिरह्यौं । अरुण नदीलाई पार गर्नका लागि बनाइएको झोलुङ्गे पुल देख्दा झनै छक्क परेको थिएँ । मैले गाउँघरको खोलाहरूमा काठको पुलबाहेक यस्ता पुल कहिल्यै देखेको थिइनँ । हामी निकै रोमाञ्चित हुँदै, रमाउँदै, कराउँदै, उफ्रिंदै अरुण नदीको झोलुङ्गे पुल पार गरेका थियौं । अरुण नदीको झोलुङ्गे पुल तरेर केहीछिन हिंडेपछि अन्य ठूला नदीहरू पनि देखिए । म ती नदी देखेर तीनछक परेर हेरेको हेर्‍यै भएको थिएँ । दायाँबाट दुधकोसी नदी, बीचबाट अरुण नदी र बायाँतिरबाट तमोर नदी अविरल रूपमा बगिरहेका थिए । त्यो स्थान अरुण, तमोर र दुधकोसी नदीको मिलन बिन्दु रहेछ । त्यस ठाउँलाई त्रिवेणीघाट भनिंदो रहेछ । हामीलाई खत्री तिप्पाले यसलाई सप्तकोसी नदी भन्छन् भनेर चिनाउनुभएको थियो ।

    आफ्नो लक्ष्यमा पुग्नका लागि हामीलाई तमोर नदी तरेर पारि पुग्नुपर्ने रहेछ । त्यसवेला तमोर नदीमा झोलुङ्गे पुल थिएन । काठबाट निर्माण गरिएको किस्ती (नाउ) मा चढेर तमोर नदी पार गर्नुपर्ने रहेछ । किस्तीमा चढ्नका लागि मानिसहरूको संख्या पुगिसकेको थियो । खत्री तिप्पाले सबैजनाको भाडा तिर्नुभयो अनि सबै किस्तीमा चढ्यौं । आमाले छोराछोरीको सातो जान्छ कि भनी “रोगो रोगो ताउ ताउ बानानै बान्यै छानाम, छछमा” भन्दै प्रार्थना गर्नुभएको थियो । दुईजना चालक माझीहरू किस्तीको अगाडि र पछाडिको चुच्चो भागमा बसेका थिए । उनीहरूले लामो बाँस र दाबिलो जस्तो वस्तुको सहायताले किस्तीलाई तमोर नदीमा बहाइरहेका थिए । तमोर नदीले किस्तीलाई बिस्तारै हल्लाइरहेको थियो । किस्तीमा सवार अन्य मानिसहरू पनि हलचल नगरी हात जोडेर बसिरहेका थिए । कुनै बाधा अवरोधविना चालकहरूले किस्तीलाई अर्को किनारामा पुर्‍याएका थिए ।

    किस्तीबाट झरेपछि ४/५ फुट चौडाइ भएको डरलाग्दो भीरको बाटो हिंडियो । त्यसलाई अक्करको भीर भनिंदो रहेछ । त्यो साँघुरो बाटोबाट माथि हेर्दा पहाडको टुप्पो कहाँ हो कहाँ देख्नै नसकिने ! भीरबाट तल हेर्दा सप्तकोसी नदी बेजोडले गडगडाउँदै बगिरहेको थियो । हामी भने साँघुरो भीरको बाटो छिचोल्ने प्रयत्न गरिरहेका थियौं । पहाडका डाँडापाखामा हिंडेको, कुदेकोले मलाई डरलाग्दो अक्करे भीरको बाटोमा हिंड्न कुनै कठिनाइ भएन । पहिलोपटक यत्रो ठूलो नदी देखेको र किस्तीबाट तमोर नदी पार गरेकोमा म यसै मक्ख थिएँ ।

    वराहक्षेत्र मन्दिर हुँदै धरानसम्म

    भीरको बाटोबाट अन्दाजी सय मिटर तल दक्षिणतर्फ वेगसँग सप्तकोसी बगिरहेको थियो । यतिञ्जेलसम्म हामीले पहाडलाई खोपेर बनाइएको डरलाग्दो भीरको बाटो पार गरिसकेका थियौं । यसैक्रममा बाटोबाट तल एउटा खोलाको पानी सप्तकोसीमा विलीन भइरहेको देखियो । त्यो खोलाभन्दा पारिपट्टि सेतो रंगमा पोतिएको सुन्दर मन्दिरै मन्दिर भएको स्थान देखियो । म र तिलक दाइ त्यो देखेर खुबै रमाएका थियौं । सप्तकोसीको किनारमा रहेको त्यो मन्दिरलाई वराहक्षेत्र भनिन्छ भनी खत्री तिप्पाले चिनाउनुभएको थियो ।

    यसपछि हामी भीरको बाटोको अन्तिम विन्दुबाट ओरालो झर्‍यौं । अनि माथिबाट देखिएको नदी भेटियो । त्यस नदीलाई कोकाहा नदी भनिंदो रहेछ । त्यो नदी सानै भए तापनि ओरालो जमिनमा बगेकोले पानीको वेग निकै तेज थियो । हामीलाई खत्री तिप्पाले हातमा समातेर नदी तार्नुभएको थियो । त्यस समय कोकाहा नदीमा कुनै झोलुङ्गे पुल बनेको थिएन । कोकाहा नदीको किनारबाट निकै लामो अखेटाहरू टेक्दै वराहक्षेत्र मन्दिर परिसरमा पुगेका थियौं । त्यहाँ हामीले वराह देवताको पूजा गर्दै अन्य देवीदेवताहरूको पनि पूजा–आजा गरेका थियौं । मैले यति ठूलो मन्दिर, घण्टीहरू कहिल्यै देखेको थिइनँ । म र तिलक दाइले धीत मरूञ्जेल घण्टीहरू बजाएर रमाइलो गरेका थियौं ।

    वराहक्षेत्र प्रवेश स्थान । तस्वीरः विकिपिडिया

    वराहक्षेत्र मन्दिरबाट सप्तकोसीको किनारैकिनार दक्षिणतर्फ करिब एक/डेढ घण्टाको हिंडाइपछि एउटा नौलो स्थानमा पुगियो । खत्री तिप्पाले त्यो ठाँउलाई चतरा भनी चिनाउनुभएको थियो । यसै ठाउँबाट पहाडका गाउँघरमा नून, तेल, मर–मसाला, लत्ताकपडाहरूको आपूर्ति गरिन्छ भनेर खत्री तिप्पाले अथ्र्याउनुभएको थियो । त्यस स्थानबाट सप्तकोसीको पानीलाई ठूलो कुलो बनाइ तराईमा खेतीका लागि सिंचाइको व्यवस्था गरिएको रहेछ । त्यति ठूलो कुलो देख्दा चकित भएको थिएँ ।

    चतरा बजारको एक क्षेत्रमा एउटा ठूलो मेशिनबाट ठूलठूलो आवाज आइरहेको थियो । त्यसको छेउछाउमा सिसाभित्र केही चिज बलिरहेको थियो । म त्यो देख्दा झन् आश्चर्यचकित भएको थिएँ । त्यो सिसाभित्र तेलविना कसरी आगो बलिरहेको होला ! म तीनछक हुँदै हेरेको हेर्‍यै भएको थिएँ । मैले पहाडमा सिसाले घेरिएको लालटिन देखेको थिएँ । त्यो तेलमा सलेदो भिजाएर आगो सल्काएपछि बल्दथ्यो । मेरो हेराइको भाव बुझेरै खत्री तिप्पाले जिज्ञासा मेटाउनुभएको थियो, “बत्ती आफैं बाल्नेलाई बिजुली पावर हाउस भनिन्छ । त्यो घरभित्र ठूलठूलो आवाजमा कराइरहेको बिजुली पावर हाउस हो । यो सिसाभित्र बलिरहेकोलाई बिजुली बत्ती भनिन्छ । रातिको अँध्यारोलाई छ्याङ्गै उज्यालो पार्छ । हाम्रो पहाडमा तेलले बत्ती बालेजस्तो होइन ।” मैले पहिलोपटक बिजुली बत्ती देखेको चतरामा नै हो ।

    “लौ केटाहरू हो, यताउता धेरै नहेर । अब यहाँबाट मोटर चढेर चाँडै धरान पुग्नुपर्छ । धरान पुग्दा राति होला,” खत्री तिप्पाले भन्नुभएको थियो । मैले तिप्पालाई ‘मोटर कस्तो हुन्छ ?’ भनी सोधेको थिएँ । उहाँले अलिक पर लगेर दगुरिरहेको फलामको वस्तुलाई देखाउँदै भन्नुभएको थियो, “यही हो मोटर भनेको । यसलाई हाँक्ने ड्राइभर हुन्छ । यो मोटर आफैं दगुर्छ । फलामबाट निर्मित ६ चक्के मोटर देख्दा अरू अचम्मित भएको थिएँ । ‘मान्छेहरूले यस्तो वस्तु कसरी बनाए होलान् ?’ भन्ने तर्कना मनभित्र खेलिरहेको थियो ।

    सबैजना गाडीको पछाडिको खुला ठाउँमा चढ्यौं । हामीसँगै अन्य थुप्रै मानिसहरू पनि चढेर पलेंटी मारेर बसे । मानिसहरूले ‘जिएमसी धरान जाने हो ?’ भनेर सोधिरहेका थिए । यसैबाट मैले हामी चढेको मोटरको नाम जिएमसी रहेछ भन्ने अनुमान लगाएँ । म पहिलो पटक मोटर चढ्न पाएकोमा खुशीले गद्गद् थिएँ । त्यो जिएमसी मोटर कच्ची बाटोमा धुँवा–धुलो उडाउँदै दगुर्न थाल्यो । मलाई केही समय त रमाइलै लागिरहेको थियो । केहीछिनपछि भने मोटरको धुँवाको गन्ध र खाल्टाखुल्टीमा मोटर हल्लिँदा दिमाग रन्थनिन थालेको थियो । म टाउको दुखाइले आक्रान्त भएको थिएँ । मेरो मुखबाट खाएको जति सबै निस्किएलाझैं भइरहेको थियो । मोटरले दायाँ–बायाँ हल्लाउँदै, उचाल्दै, पछार्दै, थेचार्दै बल्लतल्ल धरान पुर्‍याएको थियो । अहिले थाहा हुँदा जिएमसी त टिपर पो रहेछ !

    गाडीबाट ओर्लिएपछि पित्त नै निस्कनेगरी छाद्नुसम्म छादेको थिएँ । हाम्रो अनुहार धुँवा, धुलोले नचिन्ने भएको थियो ।

    धरान शहर बिजुली बत्तीले झकमक्क थियो । हामीहरू त्यो साँझ सिद्धार्थ मार्गमा अवस्थित मेरो फुपूको घरमा बास बसेका थियौं । गाडीको हल्लाइ र छदाइले शरीर भुतुक्कै बनाएको थियो । म निकै नै हिरिक्कै भएको थिएँ । त्यो बेलुकी खाना नखाइ भुसुक्कै निदाएको थिएँ ।

    धरान हुँदै दमकसम्म

    भोलिपल्ट सबेरै ब्युझिएँ । शरीरका मांसपेशीहरू दुख्नसम्म दुखिरहेका थिए । मधेशमा रहनुभएको बाबासँग चाँडै भेट हुने सम्झिएर स्फूर्ति बढाएको थिएँ ।

    हाम्रो अबको यात्रा धरानबाट मधेश प्रस्थान गर्नका निम्ति तयारी हुँदैथियो । चतराबाट धरानसम्म आइपुग्दा मोटरले दिएको दुःख सम्झँदै मैले भनेको थिएँ, “तिप्पा, आज चाहिं मोटरमा नचढ्ने है । मलाई मोटरगाडीको अनुहार नै हेर्न मन छैन । यहाँबाट बरू हिंडेर नै जाऊँ ।”

    “हन, के भन्छ यो कान्छा ? कहाँ धरानबाट हिंडेर मधेश पुग्न सकिन्छ र ? यहाँबाट हिंडेर मधेश पुग्न त एक महिना पो लाग्छ त कान्छा !”

    “आज चढ्ने मोटर हिजोको जस्तो हुन्न नि । त्यो त सिसैसिसाको झ्याल पो हुन्छ त ! मोटर गुड्ने बाटो पनि पिच गरेर पक्की बनाएको छ । हिजो जस्तो कहीं कतै एकरत्ति हल्लाउँदैन । बरू मज्जा पो आउछ त ! हिजो त कच्ची सडकमा कुद्ने मोटर थियो र पो !” खत्री तिप्पाले सम्झाउनुभएको थियो ।

    यात्राको क्रममा नयाँ–नयाँ अनुभवहरू प्राप्त गरिरहेको थिएँ । यसैले पनि खत्री तिप्पाको कुरालाई सहजै स्वीकारेको थिएँ । अनि गाडीमै चढेर मधेशको घर पुग्न मानसिक रूपमा तयार भएँ । यद्यपि, हिजोको चतरा–धरान यात्रामा गाडीले दायाँ–बायाँ हल्लाउँदै, उचाल्दै, पछार्दै, थेचार्दै ल्याएको सम्झँदा भने मन एकतमासले डराइरहेको थियो । धरान, सिद्धार्थ मार्गस्थित फुपूको घरबाट बिदाबारी भएर हामी भोटेपुलस्थित पेट्रोल पम्प अगाडि पुगेका थियौं । मधेश जानका लागि त्यहींबाट गाडी लाग्ने रहेछ । हामी उभिएको नजिकैको बाटोबाट सिसैसिसाको झ्याल भएका मोटरहरू उँधो–उँभो हुँइकिरहेका थिए । यी मोटर हिजोको जिएमसी जस्तो खुला थिएनन् ।

    केहीछिन मोटरलाई पर्खियौं । हामी नजिकै सिसावाला झ्याल भएको मोटर आइरहेको थियो । खत्री तिप्पाले हात उठाउनुभयो । ए अच्चमै ! मोटर त बिस्तारै गुड्दै नजिकै आएर रोकियो । मैले हात उठाए मोटर रोकिंदो रहेछ भन्ने थाहा पाएँ । हामी हुरुरु मोटरभित्र छिर्‍यौं । त्यो साँच्चै चतराबाट चढेको मोटरजस्तो थिएन । मोटरभित्र पलेंटी मारेर बस्नुपर्ने पनि थिएन । बस्नको लागि बेग्लाबेग्लै सीट थिए । सिसाको झ्याल भएको यो मोटरलाई ‘बस’ भनिंदो रहेछ । बसको झ्यालको सिसाबाट बाहिर प्रष्टै देखिन्थ्यो । म रमाउँदै थपक्क आमासँग सीटमा बसें ।

    एकजना मानिस सबैभन्दा अगाडिको सीटमा गोलो आकारको डन्ठी समातेर बसिरहेको थियो । साथै, उसकै छेउमा रहेको लामो डन्ठीलाई अगाडि–पछाडि धकेल्दै बसलाई दगुराइरहेको थियो । त्यो मानिसलाई गुरुजी (ड्राइभर) भनिंदो रहेछ । ‘गुरुजी रोक्नुस् है’ भनी कोही कराउँथ्यो अनि गुरुजीले बस रोक्दथे ।

    बस ठूलो आवाज निकाल्दै बेस्मारी दक्षिणतर्फ गुड्न थाल्यो । सिसैसिसाको झ्यालले बनेको उक्त गाडीले कहींकतै हल्लाइरहेको थिएन । रमाइलो अनुभूति भइरहेको थियो ।

    “गुरुजी रोक्नुस् है । यहाँ झर्ने मानिसहरू छन् ।” गुरुजीले बस रोके । हामी उत्रिने वेला भइसकेको रहेछ । मलाई भने बसमा नै बस्न मजा लागिरहेको थियो !

    हामी बसबाट उत्रियौं । मलाई अझै यकिन छैन कुन ठाउँसम्म मात्र बसमा यात्रा गरियो ! त्यसपछि पुनः पूर्व दिशातर्फ हिंड्न थाल्छौं । जंगलको बाटो हुँदै लगातार हिंडिरहेका थियौं । त्यो समय मोटर बाटो नबनिसकेकोले हिंडेर नै मधेश पुग्नुको विकल्प थिएन । उक्त दिन मोरङ जिल्लाको बोराबन भन्ने स्थानमा पुगेर कुनै नातेदारको घरमा बास बसेका थियौं ।

    भोलिपल्ट बिहानको खाना पनि बोराबन नातेदारको घरमा नै खाइयो । अनि पुनः पूर्व–उत्तर दिशा हुँदै कहिले जंगल त कहिले आबादीको बाटोमा दिनभर लगातार हिंडि नै रह्यौं । मधेशको बाटो समतल भएकोले हिंड्दा त्यति गलेको आभास गरिनँ । बाटोमा हिंड्दा गलें भनेर आमासँग कहिल्यै गुनासो गरिनँ । त्यो साँझ दमक भन्ने ठाउँमा पुगेर एउटा घरमा बास मागेका थियौं । म दिनभरिको हिंडाइले निकै नै थाकेको थिएँ त्यसैले पनि होला सुत्नेबित्तिकै भुसुक्कै निदाइहालें ।

    दमक हुँदै बर्लमभिट्टासम्म

    बेलुकी चाँडै नै सुतेकोले बिहान सबेरै ब्युझिएँ । हामी बास बसेको घरदेखि अलिक पर रतुवा खोला बगिरहेको थियो । त्यो खोलाको कुनै आवाज र सुसाइ थिएन । म झिसमिसेमा उठेकोले सूर्य पनि उदाइसकेको थिएन । रतुवा खोलाको बीचबाट मेशिन कराएको आवाज आइरहेको सुनें । चतरामा जस्तै पावर हाउस कराएको होला भनी अनुमान लगाएँ । मलाई मेशिन कराएको ठाउँमा गई हेर्ने कौतुहलता जागेको थियो तर हराउँछु कि भन्ने डरले जाने आँट गरिनँ । पछि बुझ्दा पावर हाउस कराएको होइन रहेछ । रतुवा खोलामाथि पक्की पुलको निर्माण कार्य भइरहेको रहेछ ।

    बिहानको खाना दमकमा नै खाएर गौरादहतिर हिंड्ने निधो भएअनुसार खत्री तिप्पा खाना बनाउनतिर लाग्नुभएको थियो । त्यही फुर्सदमा म भने रतुवा खोलाको फाँट नियालिरहेको थिएँ जुन निकै लामो थियो ।

    खत्री तिप्पाले भन्नुभयो, “हेर् केटा हो । मधेशको घरमा पुग्न अब धेरै छैन । आज नै अन्तिम हिंडाइ हो ।”

    खत्री तिप्पाको कुरा सुनेर मक्ख पर्दै जतिसक्दो चाँडो बाबा र दाजुलाई भेट्न  आतुर भएको थिएँ । खानपानपछि दक्षिण दिशातर्फ हिंड्न शुरू गरियो । बालुवा नै बालुवाले भरिएको रतुवा खोलाको किनारैकिनार लगातार हिंडिरह्यौं । हिउँदको याम भएकोले रतुवा खोलामा थोरै मात्र पानी बगिरहेको थियो । रतुवा खोलाको आवाजविहीन पानीलाई ठाउँ–ठाउँमा टेक्दै, रमाउँदै तरिरह्यौं । निकै लामो हिंडाइपश्चात् गौरादह बजार पुगेका थियौं ।

    “यो नै हो है केटा हो गौरादह बजार । यहाँ नै हटिया लाग्छ,” तिप्पाले भन्नुभएको थियो । गौरादह बजारबाट गाउँ पुग्नलाई अझै हिंड्नुपर्ने रहेछ । गौरादह बजारबाट अझ दक्षिण दिशातर्फ हाँस्खोरा हुँदै सिक्टिया होलिमा पुगेपछि खत्री तिप्पाले घरनजिकै आइपुगेको बताउनुभएको थियो । म हर्षले एकछिन सबैभन्दा अगाडि दगुरेको थिएँ । माघ–फागुनको महिना भएकोले खेतमा जताततै लार (धान काटिसकेपछि खेतमा बाँकी रहेको छोटो भेट्नु)हरू मात्र ठडिएका थिए । हामी ती लारहरूलाई टेक्दै हिंडेका थियौं ।

    बेलुकी त्यस्तै ३/४ बजेतिर मधेशको घरमा पुगेका थियौं । बाबाले मलाई देख्नासाथ खुशीले जुरूक्कै उचालि चुम्मा खाँदै बोक्नुभएको थियो । म पनि हर्षले गद्गद् हुँदै बाबाको छातीमा लिपिक्कै भएको  थिएँ ।

    हाम्रो घरको करेसाबारीमा बाबाले फूलगोभी, बन्दा गोभी, लसुन, प्याज तथा सिमी लगाउनुभएको रहेछ । जहाँ सिमी लटरम्म फलिरहेका थिए । फूलगोभी फक्रिरहेका थिए । करेसाबारीमा फलेका तरकारीहरूले वातावरण नै आनन्दित बनाइरहेको थियो । अलिक टाढा–टाढा खेतबारीमा हुटिट्याउँहरू आफ्नै सुरमा कराइरहेका थिए ।

    बाबाले किन्नुभएको जग्गा भर्खरै मात्र आबाद भएको रहेछ । मधेशको हाम्रो उक्त गाउँ नजिकै पनि एउटा खोला रहेछ । त्यो खोला पनि आवाजविहीन भएर अविरल रूपमा सलल बगिरहेको थियो । त्यस खोलालाई किस्ने खोला भनिंदोरहेछ । त्यो खोलाको किनार वरिपरि निकै पट्यारलाग्दो झाडी थियो । त्यो स्थानमा बिहान–बेलुका स्याल, फ्याउरोहरू मच्चि–मच्चि कराउँथे ।

    हामी करिब हप्ता–दश दिनको यात्रापश्चात् पहाडको घरबाट मधेशको घरमा आइपुगेका थियौं । म पहाडबाट मधेशसम्मको यात्राले निकै थाकेको थिएँ । खाली खुट्टामै यत्रो दिन हिंड्नु परेकोले खुट्टा सुनिएका थिए । यद्यपि; बाबा र दाजुसँगको भेटसँगै मधेशको घरमा आइपुगेको खुशीयालीमा यो पीडा हल्का भएको थियो ।

    यात्राको क्रममा पटक–पटक बाजे, बजै, घर–आँगन र काले कुकुरलाई सम्झिएको थिएँ । त्यतिवेला भने मन केही बेचैन हुन्थ्यो ।

    म यसरी पहाडबाट मधेश सानै उमेरमा हिंडेरै झरेको थिएँ । मेरो मानसपटलमा परावर्तित भएर आएका बाल्य सम्झनालाई यस लेखमार्फत अभिलेख गर्ने प्रयास गरेको छु । म जन्मिएको गाउँ कोक्रुवालाई सलाम !

  • कमेन्ट गर्नुहोस्