अमेरिकी सपना, फिल्मी रमझम र हराएको परिचय
मितिः ५ अगस्ट २०१५
स्थानः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं
समयः रातको ११ बजे
उद्देश्यः फ्लाई दुबईबाट अमेरिका प्रस्थान
त्यस दिन बिहानैदेखि हतार नै थियो । अमेरिकामा हुने ‘ग्लोबल फिल्म फेस्टिबल २०१५’ का लागि मेरो डकुमेन्ट्री फिल्म ‘सेक्रिफाइस नेभर डाइस’ छानिएको थियो । त्यही फिल्म फेस्टिबलको निम्तोमा उड्नुथियो सपनाको लामो उडान । सात अगस्ट शुक्रबारको साँझ पाँच बजे सानफ्रान्सिस्कोस्थित ग्लोबल फिल्म फेस्टिबलको पहिलो दिनमा नै ‘क्यामेरा १२ सिनेमा हल’ थिएटर नम्बर सातमा प्रदर्शनी हुनुथियो । अनि पुग्नुथियो सानफ्रान्सिस्को, अमेरिका ।
एघार बजे राति जब एयरपोर्ट पुग्यौं– सुनसान देखेर म, मलाई पुर्याउन गएका मेरी श्रीमती यशोदा र भाइबुहारी चकित भयौं । न पुर्याउन जानेको भिड छ । न जानेहरूको । चहलपहल शून्य छ । मन आत्तियो । बाहिर उभिएको नेपाली सेनाको सेक्युरिटीलाई सोधें, “फ्लाइ दुबइको फ्लाइट कतिवेला जान्छ ?” उसले मलाई भित्र जान रोक्दै भन्यो “फ्लाइ दुबइको फ्लाइट त सबै चेक इन भएर उड्न तयार भइसक्यो । तपाईं जान पाउनुहुन्न ।”
अनुहार र छातीमा जोरलात्ती भेटेर रन्थनिएको अनुभूति भइरह्यो । उक्त सेक्युरिटी र आउने–जाने कर्मचारीहरूसँग अनुनय–विनय गरिरहें । चिनेका कर्मचारीलाई फोन गरेर भित्र जाने वातावरण मिलाइदिन अनुरोध पनि गरें । भित्र जान पाइहालिन्छ कि भन्ने आशमा अन्तिमपल्ट फेरि उही सेक्युरिटीलाई शालिन र अति नम्र भएर भनें, “म पत्रकार हुँ । मलाई भित्र जान दिनुस् न प्लिज । म एकैजना त हो । बा ! मलाई नै पर्खिरहेको पो छ कि फ्लाइ दुबइले ?” “आफ्नो एयरपोर्ट टाइम पनि थाहा नपाउने तपाईं कस्तो पत्रकार ?” ओठे जवाफले भित्तामै पुग्नेगरी फेरि भेटें । मनमा लाग्यो– आजको समय गतिलो छैन । त्यसमाथि यशोदाले सुनसान एयरपोर्टमा ‘अन्तर्राष्ट्रिय स्तर’को ‘कलह क्लास’ लिइरहेकी थिइन् । त्यसैले फर्कने निर्णय गरें ।
ट्याम्केको शिरमा सांसद रामकुमार राई पासाङ र क्यामेरा पर्सन मनोज चाम्लिङसँग लेखक ।
जुन ट्याक्सीले हामीलाई एयरपोर्ट पुर्याएको थियो, त्यही ट्याक्सीमा फक्र्यौं । ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भनेझैं ड्राइभरको धरी झटारो पाइयो, “तपाईंले कस्तो थाहा नपाउनु भएको ! अन्तर्राष्ट्रिय फ्लाइटको एयरपोर्ट टाइम भनेको पाँच बजे हो नि ! अझ तपाईं त पत्रकार जस्तो मान्छे रै’छ ।”
“मेरो भिसा रिजेक्ट भएको होइन । फ्लाइट मिस भएको हो । भोलि अर्को फ्लाइटमा जाने हो,” जताततैको रिस ड्राइभरसँग पोखेको थिएँ शायद त्यतिखेर ।
ट्याम्के, अमेरिका र भुईंचालो
मेरो डकुमेन्ट्री ‘सेक्रिफाइस नेभर डाइस’ को तयारीमा सन् २०१३ देखि नै लागिरहेको थिएँ । एक अमेरिकी गैरसरकारी संस्था ‘सर्च फर कमन ग्राउण्ड नेपाल’ मा मिडिया एसिस्टेन्टको रूपमा पाँच वर्ष बिताइ भर्खरै बाहिरिएको थिएँ । ‘सेक्रिफाइस नेभर डाइस’का लागि इटहरीका साथी अर्जुन उप्रेती र म लागिपरेका थियौं । यसैबीच भोजपुर र खोटाङको सङ्गम स्थानमा रहेको ट्याम्के डाँडासम्बन्धी छोटो डकुमेन्ट्री बनाउनको लागि तत्कालीन माओवादी नेता गोपाल किरातीको प्रस्ताव आयो । त्यही सिलसिलामा भोजपुर हुँदै ट्याम्के पुग्ने मौका मिल्यो । ट्याम्केको टुप्पामा ३३ तलाको वाबू (चिन्डो) आकारको भ्यू टावर अनि भोजपुर सदरमुकाम र खोटाङ सदरमुकाम जोड्ने ग्रेटवाल उनको सपना थियो । ३३औं तलामा रेडियो र टेलिभिजनको स्टेशन अनि सपिङ मल राख्ने किरातीको डिजाइन हेरेर आश्चर्य भइयो ।
धरानको तापक्रमको कल्पनामा एकसरो लुगा मात्रै बोकेर ट्याम्केको टुप्पोमा पुगेको जाडोले झन्डै सिद्धिएँ पो ! २०७२ वैशाख पहिलो हप्ताको कुरो थियो त्यो । पहिलोपल्ट ट्याम्के चढिएको थियो, म टुप्पामै थिएँ । अमेरिकाबाट प्रकाश थापा दाइले फोन गर्नुभयो । उहाँले अरु भूमिका नबाँधिकन सिधै सोध्नुभयो, “भाइ, अमेरिका आउने हो ?” उहाँको यस्तो सोधाइले म त झस्किएँ नै र तत्कालै जवाफ पनि फर्काइहालें, “किन नआउने ? लु भिसाको बन्दोबस्त गरिदिनुस् त !” उहाँले भन्नुभयो, “भाइ, यहाँ (अमेरिकामा) फिल्म फेस्टिबल हुँदैछ । नेपाली फिल्मको लागि म ग्लोबल संयोजक भएको छु । तिमीले फिल्म बनाउँदैछौ भनेर अनुशीलबाट थाहा पाएँ । तिम्रो फिल्म पठाऊ म यहाँ छनोट समितिमा राखिदिन्छु । यदि छानियो भने तिमी आउन पाउँछौ ।” उहाँको कुरा सुनेपछि एकै सासमा “हुन्छ” भनेको थिएँ ।
हाम्रो बौद्घिक अनि भौतिक श्रमको त कुनै मूल्य नै छैन ! हामी किरातीहरूको वचन नै कानून हो । वचन नै मुन्दुम हो । लिखत हँदैन । यही सोचेर गोपाल किरातीको एक वचनमा घरबाट हिंडेको थिएँ । तर उनी किरातीजस्तो देखिंदै देखिएनन् । प्रचण्डको एउटा फुच्चे कार्यकर्ताभन्दा बढ्ता देख्दै देखिनँ ।
ट्याम्केको टुप्पामा पनि पुग्नु, फोन पनि आउनु । मन फुरुङ्ग भएको थियो । जिस्कँदै क्यामेरापर्सन भाइ मनोज चाम्लिङलाई भनें, “भाइ, एकछिन अमेरिका पुगेर आउनुपर्यो ।” भाइले भन्यो, “ल्याटिन ?” मैले हाँस्दै भनें “हैन, साँच्चैको देश अमेरिका ।” त्यतिखेर हामी समुन्द्रको सतहबाट ३१ सय मिटरको उचाइमा ट्याम्के पहाड थर्किनेगरी हाँसेका थियौं ।
गोपाल किरातीको सपनालाई खोटाङबाट निर्वाचित सभासद् कमरेड रामकुमार राई पासाङले साथ दिइरहनुभएको थियो । यो प्रोजेक्टका नायक थिए– कमरेड प्रचण्ड । प्रोजेक्टको उद्घाटन गर्न दुईवटा हेलिकप्टर लिएर प्रचण्ड ट्याम्के आउने र दुईवटा क्यामेराले यसरी खिच्ने भनेर मिठो कल्पना गरिएको थियो । एउटा क्यामेराले चाहिं हेलिकप्टरबाट नै ट्याम्केको भूदृश्यहरू खिच्ने योजना पनि बन्यो । हामीसँग तीनवटा क्यामेरा थिए । अनि प्रचण्ड ट्याम्केको बेस क्याम्पसम्म झरेर यो सपनाको लागि दुईचार कुरा बोल्दिनेछन् । सपना गज्जबकै थियो । तर गोपाल कमरेडको समय बिग्रेको रहेछ, अझ भनौं गोपाल कमरेडको मात्रै होइन देशकै समय बिग्रेको थियो । वैशाख ५ मा पुगेको हामी, त्यस दिनदेखि नै ट्याम्केको मुड खराब थियो । पर्सिपल्टदेखि त हावाहुरी र कालो बादलले डमक्क ढाकिरह्यो । खुल्दै खुलेन । बेस क्याम्पमा मौसम रुङ्ने बाहेक हाम्रो अरु केही काम हुन सकेन । गोपाल किरातीसँगको मौखिक सम्झौता पनि त्यही हावाहुरी चलेको साँझ समाप्त भो । भोजपुर पुगेर आफू जन्मेको ठाउँ घुम्नु र केही भिडियो फुटेज खिच्नुबाहेक अरु काम लाग्ने भएन । गोपाल किरातीको बोलावट हो भनेर अरु दायाँबायाँ नसोची फुरुक्क परेर पुगेको थिएँ । उनले मौखिक रूपमै सम्झौता रद्द गरे अनि भने, “तपाईंले भोजपुर आउँदा लिनुभएको ५० हजार पेश्की पूरै खर्च भएन होला ?” भन्दै बाँकी रकम फर्काउन समेत पो भन्न भ्याए ! तीन लाखको मौखिक सम्झौता, पेश्कीसमेत फिर्ता माग्दा त रिसको पारो चढेको थियो । बाटो खर्च कटाएर बाँकी दिनुपर्ने कस्तो हिसाब ! हाम्रो बौद्धिक अनि भौतिक श्रमको त कुनै मूल्य नै छैन ! हामी किरातीहरूको वचन नै कानून हो । वचन नै मुन्दुम हो । लिखत हुँदैन । यही सोचेर म उनको एक वचनमा घरबाट हिंडेको थिएँ । तर उनी किरातीजस्तो देखिंदै देखिएनन् । प्रचण्डको एउटा फुच्चे कार्यकर्ताभन्दा बढ्ता देख्दै देखिनँ ।
गाउँलेहरूबाट अलि पछि थाहा पाएँ– त्यो योजनाको लागि राम्रै रकम छुट्याएर, हिनामिना भएर भ्रष्टाचारको काण्ड बनिसकेको रहेछ । अख्तियारले छानबिनको दायरामा ल्याएको रहेछ । यदि त्यो ठाउँमा प्रचण्डले आएर उद्घाटन गरेको भए ‘गधा नुहाएर गाई हुने’ आशमा गोपाल किराती त्यहाँ पुगेका हुन् भन्ने चर्चाले भोजपुर गन्हाइरहेको रहेछ । रिसको झ्वाँकमा वैशाख ११ मा हामी धरान हिंड्यौं साँझ आइपुग्यौं । १२ गते दिउँसो नेपाललाई नै हल्लाउने गरी भुईंचालो आयो । ट्याम्केको फेदीमा बसेको वेला वैशाख ९ गते हुनुपर्छ; दिउँसै अँध्यारो, कालो बादल, वर्षा, हावाहुरी हुँदैगर्दा मनोजलाई मैले भनेको थिएँ, “भुईंचालो आउँछ कि क्या हो भाइ ?” वैशाख १२ को भुईंचालो आएको केही घण्टापछि मनोज भाइले फोन गरेर “दाइ, तपाईं त छेसछेस्ती नाक्छोङ नै पो हो कि क्या हो ?” भन्दैथियो । २०४५ साल भदौ ५ मा भुईंचालो आउनुअघिको मौसम पनि त्यस्तै थियो, त्यही अनुभूतिमा मैले मनोजलाई त्यसो भनेको थिएँ । संयोग नै मान्नुपर्छ, मिल्न गयो !
हतारमा अन्तर्वार्ता, तुरुन्त भिसा
क्यालिफोर्निया निवासी दाजु प्रकाश थापाले भिसाको लागि निम्तो पत्र मेरो नाममा पठाइसकेका थिए । जान पाइने कुरामा त्यति विश्वस्त भने थिइनँ । “ट्राभल हिस्ट्री हेर्दा, जान पाउनुहुन्छ,” अनलाइन फर्म भर्दिने सुन्दरीले मुस्कुराउँदै प्वाक्क भनिन् फर्म भरेको एक हजार लिइसकेपछि । “बैनी, तिम्रो मुखमा दुध र भात ।” बैनीले भनिन्, “भिसा लागेपछि कोही यो ठाउँमा फर्केर आएको रेकर्ड छैन । भो दुध र भातको कुरा पत्याइनँ ।”
सान होजे क्यामेरा सिनेमा हल । जहाँ फिल्म महोत्सव सम्पन्न भएको थियो ।
अन्तर्वार्ताको दिन पनि आयो, २१ जुलाई २०१५ । अन्तर्वार्ता लगभग दुई मिनेटको थियो । “कहिलेदेखि डकुमेन्ट्री बनाउन थाल्नुभयो ? तपाईंको बालबच्चा कति छन् ? कति–कति वर्षका भए ? तपाईंको कार्यक्रम कहिले कुन ठाउँमा हो ?” बस्, यति सोधेपछि “बधाई छ ! तपाईंले भिसा पाउनुभयो ।” पासपोर्ट राख्यो । अनि धन्यवाद भनेर बाहिर निस्किएँ ।
विद्यार्थीकालमा ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ भनेर धरान नगर परिक्रमा गर्दै नारा लगाएको अहिलैजस्तो लाग्छ । मेरो डकुमेन्ट्रीको विषय पनि अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्ने कमरेड रत्नकुमार बान्तवाकै बारेमा छ । भिसा पाएपछि भने बडो अचम्ममा परिएको थियो– न गोजीमा पैसा छ, न कुनै योजना छ । सँगै जानलाई साथी पनि कोही छैन । भिसा पक्कै दिंदैन, सामेल हुने हो अनि धरान फर्कने हो भन्ने शैलीमा अन्तर्वार्ता दिन गएको हो तर पाइयो । आउने–जाने टिकट र कार्यक्रम भइन्जेलको समयलाई बस्ने–खाने व्यवस्था स्पोन्सर लेटरमै उल्लेख गरेका थिए आयोजकले । यसकारण भने केही ढुक्क नै थिएँ । तर पहिलो दिन फ्लाइट मिस हुँदा भने बडो बिलखबन्दमा परिएको थियो ।
सियाटल टु क्यालिफोर्नियाको ‘आकाशे सेलिब्रेसन’ !
प्लेन छुट्यो । त्यसको मूल्य पूरै २४ घण्टा तनाव र नयाँ टिकट पाउन ५० हजार चुना लाग्यो । घरवालीको अन्तर्राष्ट्रिय एयरपोर्टमा पाएको अन्तर्राष्ट्रिय खप्कीका साथै घर फर्कंदा ‘रुझेको बिरालो’ टाइपको अवस्था ! अनौठो अनुभूति थियो जीवनको त्यो रात ।
अगुल्टोले हानेको कुकुर बिजुली चम्किंदा तर्सन्छ भनेजस्तै भोलिपल्ट (६ तारिक) चाहिं दिउँसैदेखि एयरपोर्टमा धर्ना दिएँ । प्लेन उड्यो दुबइसम्म । दुबइबाट सियाटल जानुछ । यही फिल्म फेस्टिबलमा भाग लिनको लागि नेपालबाट हङकङ हुँदै साथी डम्बरकृष्ण श्रेष्ठ पनि आउँदै रहेछन् त्यही दिन । दुबइ पुगेर म्यासेन्जर हेरेर थाहा पाएँ । झन्डै पाँच घण्टाको बसाइपछि जहाजले अमेरिका उडान भर्यो । सियाटलमा उत्रिएपछि इमिग्रेसनको एउटै प्रश्न थियो, “कहिले फर्कने ?” मैले भनें, “एक महिनापछि ।” अनि भन्यो, “तिमीलाई अमेरिकामा स्वागत छ । तिम्रो भ्रमण गज्जब रहोस् ।” मैले पनि ‘धन्यवाद’ दिएँ ।
आकाशमा उडिरहेको त्यो सानो प्लेन ‘आकाशे दोकान’ जस्तो थियो । मैले पनि आकाशमै सेलिब्रेसन गर्दिने सुरले एउटा बर्गर र ह्विस्की मागें । तर कार्डले बाहेक किन्न नपाइने नियम रहेछ । मेरो छेउमा बसेकी अधबैंसे सुन्दर महिलाले मेरो छटपटी नियालिरहेकी थिइन् । अनि मतिर हेर्दै भनिन्, “तिम्रो पैसा मलाई देऊ, म मेरो कार्डबाट तिमीलाई चाहिने खाना र पिउने कुरा किनिदिन्छु ।” मैले खोजेजस्तै पाएपछि तुरुन्त २० डलरको नोट उनीतिर बढाएँ ।
सियाटलबाट फेरि अमेरिकन एयरलाइन्सको आन्तरिक उडानबाट तीन घण्टाको यात्रा गर्नुपर्ने थियो । आकाशको त्यो पल मैले गज्जबले अनुभूत गरें । अमेरिकी आकाशको त्यो दृश्य छुट्टै रमाइलो र घमाइलो थियो । आकाशमा उडिरहेको त्यो सानो प्लेन ‘आकाशे दोकान’ जस्तो थियो । सबै चिज किन्न पाइने, बर्गरदेखि बियर अनि रक्सीसमेत । मैले पनि आकाशमै सेलिब्रेसन गर्दिने सुरले एउटा बर्गर र ह्विस्की मागें । मसँग डलर मात्रै थियो तर कार्डले बाहेक किन्न नपाइने नियम रहेछ । दुबइ ट्रान्जिटको बसाइमा पनि खाइएन । सियाटलसम्म आइपुग्दा केही खानै मन लागेन । यात्राको धङधङी हो वा किन्न नजानेर अथवा महँगो लागेर हो किन्दै किनिनँ । किनौं कि भन्ने लागेर यसो नजर लगायो कम मूल्यको हेर्दा पनि १० डलर परिहाल्ने अनि मैले नेपाली रुपैयाँमा हिसाब गरिहाल्ने, अनि किन्नै मन नमान्ने ! यसपटक भने खुबै भोक लागेको महसूस भइहेको थियो । मेरो छेउमा बसेकी अधबैंसे सुन्दर महिलाले मेरो छटपटी नियालिरहेकी थिइन् । अनि मतिर हेर्दै भनिन्, “तिम्रो पैसा मलाई देऊ, म मेरो कार्डबाट तिमीलाई चाहिने खाना र पिउने कुरा किनिदिन्छु ।” मैले खोजेजस्तै पाएपछि तुरुन्त २० डलरको नोट उनीतिर बढाएँ । उनले आफ्नो कार्ड ‘आकाशे रेष्टुरेण्ट’को पुरुष परिचारकलाई दिइन् । मैले खानेकुरा पाएँ, बाँकी पैसा पनि फिर्ता पाएँ । अनि उनलाई मनैदेखि ‘धन्यवाद’ भन्दै ‘आकाशे सेलिब्रेसन’तिर लागें ।
सियाटलदेखि सान होजेसम्मको उचाइलाई मैले त्यो वेला अनुभूत गरें । डकुमेन्ट्रीको अन्तर्राष्ट्रिय प्रदर्शनीको सपना पूरा हुँदै थियो । इलाममा जन्मेर इलाममै मारिएका क्रान्तिकारी योद्धा नेपालका हो चि मिन्ह कमरेड रत्नकुमार बान्तवालाई एकपटक फेरि धन्यवाद दिएँ । उनी अमेरिकालाई भियतनामी आँखाबाट हेर्थे । म भने अमेरिकी एयरलाइन्सको ‘आकाशे रेष्टुरेण्ट’मा बसेर, यहाँसम्म आउँदाको हतारो, दौडधुप र थकानको फेहरिस्त सम्झेर मुस्कुराइरहेको थिएँ । ३५ हजार फिटमाथि वाइफाइ पनि जोडिएको उक्त एयरलाइन्समा वाइफाइको पासवर्ड राख्न १० डलर लाग्थ्यो । १५ डलरको ‘सेलिब्रेसन’ भैसकेकोले अरु खर्च गर्ने आँट आएन । त्यो उचाइमा फेसबुक लाइभ गर्ने सोच नआएको होइन तर डलरलाई नेपालीमा कन्भर्ट गरेपछि मनको चाहना मनभित्रै दबाइयो !
सियाटलबाट सान होजे एयरपोर्ट ओर्लंदा ७ अगस्ट दिउँसोको ४ बजेको थियो । ओर्लेर सर्वप्रथम प्रकाश थापा दाइलाई फोन गरें । मेरो पाँच बजेको शो थियो । उहाँ व्यस्त भएकोले लिन आउन नसक्ने बताउनुभयो । साथै, उबर वा ट्याक्सी चढेर आउने सल्लाह दिनुभयो । लगत्तै; म्यासेन्जरमा डम्बरकृष्णको म्यासेज आयो । साँझको ७ बजे उसको फ्लाइट ल्याण्ड हुने रहेछ । हामी सँगै जाऊँ भन्ने प्लान उसको थियो । मैले पर्खने निर्णय गरें । पहिलो कुरा त होटल पुग्नु अनि तयार भएर सिनेमा हल पाँच बजे पुग्नु असम्भव थियो । त्यसमाथि मलाई गाइड गर्ने मानिस व्यस्त हुनुले पनि मैले एक्लै जाने आँट गरिनँ । एयरपोर्ट बाहिर गएर ट्याक्सीलाई भाडा सोधेको त्यहाँबाट सान होजे, हिल्टन होटलसम्म पुग्न १०० डलर लाग्ने भारतीय ट्याक्सीवालाको भनाइ थियो । डम्बरलाई पर्खने र ट्याक्सी भाडा आधा–आधा गर्ने मेरो आन्तरिक योजना बन्यो । झन्डै चार घण्टाको बसाइपछि डम्बरकृष्ण शालीन मुस्कानसहित मतिर आउँदै थियो । मैले भनें, “तिमीलाई अमेरिकामा स्वागत छ । किनकि पहिले म आइपुगें ।”
तीन चाइनिज एक डम्बरकृष्ण
हङकङबाट एउटै प्लेनमा आएका तीन चाइनिज साथी पनि थिए डम्बरकृष्णसँग । उसले मलाई मेरा साथी भनेर चिनायो साथै उनीहरू विधार्थी भएको बतायो । ती विद्यार्थी बिदामा हङकङ गएर आएका रहेछन् । उनीहरू रैथाने थिए, उनीहरूको साथी आफ्नै कार लिएर लिन आएको थियो । साथी र म छौं भनेर डम्बरकृष्णले हामी बस्ने हिल्टन होटलको ठेगाना देखाएछ । “त्यो बाटोमै पर्छ । हामी तिमीलाई लिफ्ट दिन्छौं तर लागेको ग्याँस खर्च चाहिं शेयर गर्नुपर्छ” भन्ने उनीहरूको प्रस्तावमा डम्बरले हुन्छ भनेपछि हामी सहयात्री भयौं । उनीहरूले जम्मा २४ डलरको ग्यास खर्च देखाए । हामीले १२ डलर दियौं । भागमा ६/६ डलर । ६ डलरमै होटल पुगेपछि पहिले ट्याक्सीले मागेको १०० डलरको डरले गाँजिरहेको मेरो मनमा राहत मिलेको थियो । उनीहरूले हामीलाई सान होजेको हिल्टन गार्डेन होटलमा पुर्याएर आफ्नो गन्तव्यतिर लागे ।
एक साँझ प्रकाश दाजुले नेपाली कलाकारहरूलाई लेमोजिन गाडी व्यवस्था गर्नुभएको थियो । म्युजिकसहित एक घण्टा सान होजे घुमेका थियौं । त्यो यात्रामा लेमोजिन गाडी शहरभित्र हिंडिरहे पनि सिङ्गै डान्सबारमा बदलिएको थियो । त्यो रमाइलो र नयाँ भोगाइको अनुभवले मन गद्गद् थियो। एक हप्ताको त्यो महोत्सव बितेको पत्तौ भएन ।
प्रकाश थापा दाजु त्यहीं भेटिए । २०६२ सालतिर प्रकाश थापा दाजु गोरखा मिडिया ग्रुप, काठमाडौंको डाइरेक्टर थिए । गोरखा एफएम स्थापनापछि, गोरखा टेलिभिजनको सपना देख्थे । टेलिभिजनकै सपनाको अर्र्थमा ‘गोरखाली गाथा’ नामक साप्ताहिक टेलिभिजन कार्यक्रम एनटीभी–२ बाट प्रसारण हुन्थ्यो । उक्त कार्यक्रमको ४६ हप्तासम्मको कार्यक्रम प्रोड्युसर थिए । त्यहीवेलादेखिको चिनजान अहिले फेरि अमेरिकाको सान होजेको हिल्टन होटलसम्म जोडिएको थियो । म भोजपुरको ट्याम्के डाँडामा छँदा आएको प्रकाश दाजुको फोनको जगले अहिलेको भेट सम्भव भएको थियो जुन संवादलाई जोड्ने पुलको काम साथी डम्बरकृष्ण श्रेष्ठले गरेका थिए (यससम्बन्धी प्रसंग माथि नै आइसकेको छ) । संयोग कस्तो भने, त्यही समयमा काठमाडौं माउण्टेन अन्तर्राष्ट्रिय फिल्म फेष्टिबल (किम्फ)को अन्तर्राष्ट्रिय संयोजकका रूपमा अमेरिकाको न्युयोर्क जाँदै गरेका डम्बरकृष्ण प्रकाश थापाको निम्तोमा पहिले सानफ्रान्सिस्को आइपुगेका थिए ।
एउटा दुःखको कुरा; आफ्नै फिल्म भने मैले हेर्न पाइनँ । सोही साँझ पाँच बजे प्रदर्शन भइसकेको थियो ।
सानफ्रान्सिस्को अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल २०१५
मेरो पहिलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलको माहोल स्वप्निल अनि फिल्मी थियो । नेपाली चलचित्रहरू ‘टाटा बाइबाइ’, ‘तुलसी’, ‘चकलेट’, ‘सेलफोन’ र ‘सेक्रिफाइस नेभर डाइस’को भव्य पोस्टर राखिएका थिए । सेलिब्रेटीहरू धमाधम रेड कार्पेटमा हिंडिरहेका थिए । नेपालका सेलिब्रेटीहरू सुनिल थापा, ऋचा घिमिरे, केकी अधिकारी, नन्दिता केसी, निता ढुंगाना, शंकर बिसी, सुशांक मैनाली, सुरेश दर्पण सँगै थिए । अझ पत्रकार साथी अनुज थापा पनि फिल्म फेस्टिबलको डकुमेन्ट्री निर्माणको सिलसिलामा त्यहीं भेटिए । पत्रकार जाङ्ग्बु शेर्पा पनि जोसिएर हामीलाई गाइड गरिरहन्थे । नेपालबाटै त्यहाँ पुग्नुभएका अन्जाना शाह रावल पनि हामीसँगै हुनुहुन्थ्यो ।
एक्टर, राइटर एवं डाइरेक्टर रजत कपुरसँग हामी (डम्बरकृष्ण र जसकुमार) ।
हलिउड, चाइनिज, मेक्सिको, इरान, भियतनाम, बलिउडका फिल्महरू थिए । कलाकारहरू पनि आएका थिए । एउटा गज्जबको सपनाको संसारजस्तो थियो । हिजो पर्दामा हेरिएकाहरू आफूसामु देख्दा निकै रमाइलो लागिरहेको थियो । अझ रमाइलो त नेपाली सेलिब्रेटीहरूको सामु उभिन पाउनु कहिल्यै नभुलिने क्षण थियो । साथै, नेपाली फिल्म अन्तर्राष्ट्रिय पर्दामा हेर्न पाउनु पनि कम महङ्खवपूर्ण थिएन ।
मैले लामो लेमोजिन गाडी कि फिल्ममा कि तस्वीरमा मात्रै देखेको थिएँ । एक साँझ प्रकाश दाजुले नेपाली कलाकारहरूलाई लेमोजिन गाडी व्यवस्था गर्नुभएको थियो । म्युजिकसहित एक घण्टा सान होजे घुमेका थियौं । त्यो यात्रामा लेमोजिन गाडी शहरभित्र हिंडिरहे पनि सिङ्गै डान्सबारमा बदलिएको थियो । त्यो रमाइलो र नयाँ भोगाइको अनुभवले मन गद्गद् थियो । एक हप्ताको त्यो महोत्सव बितेको पत्तै भएन । भेटघाट, रमाइलो अनि छलफल तथा अमेरिकन नेपालीहरूको नेपाली कलाकारहरूप्रतिको माया र सम्मानले निकै उत्साह थपेको थियो । क्यालिफोर्नियामा रहने नेपाली समाजका सदस्यहरू जो छुट्नुभएको थियो, उहाँहरूलाई हामीले डकुमेन्ट्री शोको छुट्टै आयोजना पनि गर्यौं । जहाँको झण्डै दश दिनको बसाइमा हरिहर दाहाल, ईश्वर सापकोटा, शंकर कार्की र मंगल तामाङले क्यालिफोर्नियाको धेरै भाग घुम्न सघाउनुभएको थियो ।
नीलो टोपी, छुच्ची साहुनी अनि ऋण
यो मेरो जीवनको टर्निङ प्वाइन्ट थियो । अमेरिका बसाइको १० दिनपछि मात्रै मलाई पूर्ण रूपले अनुभूति भयो– मैले घुमेको सबै पैसा ऋणमा थियो । झण्डै ६ लाख ऋण र बढ्दै गएको त्यसको ब्याजले भने अब सताउन थाल्यो । मेरो अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘सर्च फर कमन ग्राउण्ड नेपाल’को काम पनि समाप्त भइसकेको थियो । यो समय केही सामान्य प्रोजेक्टबाहेक म नितान्त बेरोजगार थिएँ । यो अन्तर्राष्ट्रिय फिल्म महोत्सवले देखाएको बाटो महान् थियो, हिंड्न चाहिं कठिन ! डकुमेन्ट्रीको बजार कसरी बनाउने ? यो चुनौतीपूर्ण थियो ।
ब्याड ब्वाइ गुलशन ग्रोबरसँग ।
नेपाल जाने कि यहाँ बस्ने ? प्रकाश थापा दाइको घर गार्र्लिक भिलेजमा २ दिन बसेर सोचें । मनमा द्विविधा भइरह्यो । कोही आफन्त भन्थे, “बल्ल–बल्ल अमेरिका आ’को किन फर्कने ? यतै बस, भविष्य राम्रो हुन्छ । नेपाल गएर के गर्छौ ?” कोही भन्थे, “नेपालमै बस्नुपर्छ । तिमीहरू जस्ता युवाको देशलाई खाँचो छ ।” तर, मेरो ऋणले भन्थ्यो, “ब्याजसहित फर्केलास् !”
नानीहरूको स्कूल फी, घर खर्च अनि पारिवारिक जिम्मेवारी सम्झँदा म नितान्त निरीह हुन्थें । आफ्नो नेपालको कामले दिने दाम मौसमी थियो । म क्यालिफोर्नियाबाट न्युयोर्क जाने भएँ । धरानकै भाइ देवेन्द्र राईको बसाइ भएको क्वीन्स फरेष्ट हिलमा पुग्नुथियो । पाँच वर्षको भिसामा नियमले एक पटकमा छ महिनासम्म बस्न पाइने रहेछ । त्यो बसाइभर काम गरेर नेपालमा लागेको ऋण चुक्ता गर्ने अनि मात्रै फर्कने संकल्प मनमा जाग्यो । काम खोज्नु थियो । मैले सुनेको थिएँ– न्युयोर्कमा धेरै काम पाइन्छ रे । मैले खोजेको काम लिभ–इन टाइपको थियो, बस्न पनि पाउने, काम पनि गर्न पाइने । यसको लागि देवेन्द्र भाइ र साथी रन्जीपलाई आग्रह गरेको थिएँ । ज्याक्सन हाइटमा गएर काम खोज्न सघाउने जिम्मा साथी रन्जीपले लियो । न्युयोर्कमा देवेन्द्र भाइकोमा दुई दिन बसें । तेस्रो दिन रन्जीप र म काम खोज्न ज्याक्सन हाइटतिर लाग्यौं । सय डलर तिरेपछि काम खोजी गरिदिने एजेन्सी रहेछ ।
काम पाइयो– चाइनिज फास्टफुड रेष्टुरेण्टमा । स्थान चाहिं युट्टिका, न्यूयोर्क अप स्टेट । आइतबारको दिन थियो त्यो, त्यही दिन हिंड्नुपर्ने । मलाई त लागेको थियो युट्टिका नजिकै छ किनभने काम खोजिदिनेले न्युयोर्क नै हो भनेको थियो । तर, रहेछ न्युयोर्क सिटीभन्दा सात घण्टाको दूरीमा । हतार–हतार सपिङ गरियो । अनि, रन्जीपले चाइनिजको बसमा चढाएर बिदाइ गर्यो । नीलो सनक्याप लगाउन दिंदै उसले भन्यो, “तिमीलाई स्टेशनमा लिन आउने मानिसलाई नीलो क्याप लगाएर आउँछ भनेर एजेन्सीले भनेको छ, टोपी नफुकाल है, नत्र हराउँछौ ।” मैले त्यही गरें । राति पुगियो । मलाई उनीहरूले चिने । अनि; एउटा ठूलो सपिङ मलभित्र छुच्ची चाइनिजको फास्टफुड दोकानमा सरसफाइ तथा खाना पस्केर दिने नयाँ कामदारको रूपमा म पुगें । ‘डकुमेन्ट्री निर्देशक’लाई कतै चुपचाप लुकाएँ ।
चाइनिज फास्टफुडमा काम शुरू ।
१२ घण्टा काम, बिहानको खाना, रातिलाई बस्न, आउन–जान गाडीको सुविधा, सोमबार बिदा तथा हाताहाती दिने तलबको पनि फैसला भयो । अनि शुरु भयो ‘आ गरि खा’ अर्थात् अमेरिकाको सच्चा बसाइ ! कहाँको लेमोजिनभित्रको डान्सबार कहाँ छुच्ची साहुनीको १२ घण्टा हेर्नुपर्ने अनुहार ! कहाँ फिल्मको पर्दा तथा सेलिब्रेटीहरूसँगको सेलिब्रेसन कहाँ भात सजाउने काँचको सिसा क्लिनरले बिहान–बेलुकै पुछ्दाको सास्ती ! कहाँ रेड कार्पेट कहाँको झाडु–पोछा ! म बानी पर्छु होला ? म यो ठाउँमा टिक्छु होला ? अन्तरमनले टिक्छस् भन्दै भनेन ।
भाषा, संस्कार, संस्कृति नमिल्ने मानिसहरूका बीच १२ घण्टा काम गरिसकेपछि फतक्क गल्दै पहिलो साँझ नेपालमा फोन गरेको थिएँ । नौ वर्षकी ठूली छोरी निनीमाले ‘हेलो’ भनिन् । मेरो आँखाबाट अनायासै आँसु झरे । बोली भक्कानियो । सम्हालिन खोज्दै थिएँ “आमा फोनमा बाबा रुँदैछ” छोरीले भनी । अनि, फोन राखिदिएँ ।
खै, त्यसदिन किन रोएँ ! आफ्नो परिचय हराएकोमा रोएँ या नयाँ परिचय बनाएकोमा रोएँ ? म निर्देशक थिएँ । पत्रकार थिएँ । रंगकर्मी थिएँ । तर पनि एउटा बुबा थिए । पत्रकार, निर्देशक या रंगकर्मी हुँदै होइन; सिर्फ एउटा बाउ थिएँ । आफ्नो भ्रम हराएकोमा अनुहार छोपेर बेस्मारी रोएँ ।
(वुडसाइड, अमेरिका)