• टाईफुन मेङखुतले १ अर्ब अमेरिकी डलर बराबरको बीमा दाबी गराउने अनुमान

  • सप्ताहन्तको त्रासदपूर्ण अग्निपरिक्षापछि शहरमा आएको अहिलेसम्मकै सबैभन्दा तिव्र आँधीबेहरीले ल्याएको विध्वंसका कारण, अभूतपूर्व बीमा भुक्तान सहित हङकङले विशाल आर्थिक क्षति बेहोर्नुपरेको छ ।

    एक मुल्याङ्कनकर्ताले क्षतिपूर्ति बीमा दाबी १ अर्ब अमेरिकी डलर नाघ्ने अनुमान गरेका छन्, जसले टाईफुन मेङखुतलाई स्थानीय इतिहासकै सबैभन्दा विध्वंसकारी आँधी बनाउनेछ । टाईफुन आईतबार आएको थियो र ताईशान शहर पस्नु अघि छिमेकी ग्वाङदोङ प्रान्तका शहर चिर्दै अघि बढेको थियो ।

    शहरको हालसम्मकै तिव्र आँधीका कारण मौसम सम्बन्धि अधिकारीहरुले १० नम्बरको टाईफुन संकेत १० घण्टासम्म जारी गरेका थिए । अन्त्यमा, अधिकारीहरुले १ हजार ५ सय रुख ढलेको र ५ सय शिसा फुटेको सूचना पाए । गत वर्ष आएको टाईफुन हातोको क्षतिलाई यो वर्षको मेङखुतले पछि पारेको छ ।

    सोमबार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा रद्द गरिएका उडानहरु सुचारु गराउने धपेडी थियो । दुवै धावनमार्ग सञ्चालन गरि दुई दिनको अवधिमा करिब २ हजार उडानको नयाँ तालिका जारी गरियो । ढलेका रुखले सडक तथा रेलको ट्रयाक बन्द गरेपछि अधिकांश सार्वजनिक बस र केही रेल सेवा सञ्चालन भएनन् ।

    हङकङ आइल्यान्ड पूर्व भिक्टोरिया हार्बर अघि रहेको हेङ फा चुएन हाउजिङ इस्टेटले अत्यधिक क्षति बेहोर्नुपर्‍यो । त्यहाँ पसेको शक्तिशाली छालले फुटपाथ नै उप्कायो । त्यहाँका शीशाहरु पनि फुटेका थिए । विद्युत आपुर्ति बन्द भयो र खानेपानीको अभाव झेल्नुपर्‍यो ।

    हुङ होमको बन्दरगाहपारि, १९ तले व्यावसायिक भवन वान हार्बरफ्रन्टको अधिकांश झ्याल फुटेका थिए । भवनबाट कागज र कार्यालयका सामग्रीहरु हावामा उडिरहेका थिए । सुपर टाईफुन वर्गीकरण गरिएको मेङखुतभन्दा शक्तिशाली आँधी पनि झेल्न सक्ने गरी निर्माण गरिएका हङकङका दुई अग्ला संरचनाहरु – सेन्ट्रलको ८८ तले ईन्टरनेशनल फाईनान्स सेन्टर (आईएफसि) र वेस्ट काउलुनको १ सय १८ तले ईन्टरनेशनल कमर्श सेन्टर (आईसिसि) मा पनि क्षति पुगेको छ । आईसिसिस्थित ईन्भेस्टमेन्ट बैंक मोर्गन स्ट्यान्लीको कार्यालयका धेरै झ्यालहरु भत्किएका छन् ।

    यद्यपि उराठलाग्दा तस्बिर र समाचारका बावजुद, शुभसमाचार पनि कम उल्लेखनिय थिएन : मेङखुतले कसैको पनि ज्यान लिएन ।

    हातोको ११ करोड अमेरिकी डलर बराबरको क्षतिपुर्ति दाबीलाई मेङखुतले पार गर्ने सम्भावना कम भएको टार्गेट इन्स्योरेन्सका अध्यक्ष हेवु च्योङले गत बिहीबार बताएका थिए ।

    “तर म धेरै आशावादी भएको पनि हुनसक्छु,” उनले सोमबार कबुल गरे । “मेङखुतको चक्रवात धेरै फराकिलो थियो र हङकङलाई हातोले भन्दा ६ गुणा लामो झण्डै १२ घण्टासम्म आक्रमण गरेको थियो ।”

    “आउने साताहरुमा धेरै मानिसहरुले क्षतिपुर्ति दाबी दर्ता गराउने अपेक्षा गरेको छु ।”

    बैंक अफ इस्ट एशियाका प्रमुख अर्थविद् पल ताङ साइ-अनले सप्ताहन्तको आँधीलाई हङकङको परिक्षा बताएका छन् ।

    “मेङखुतले यति शक्तिशाली टाईफुन एक पटक मात्रै नआउने र यस्तो फेरी पनि हुनसक्ने संकेत दिएको छ,” ताङले भने,”यसकारण व्यक्ति र कम्पनीहरुले आफ्नो सम्पत्ति वा पूर्वाधार कति टिकाउ छ भन्ने मुल्याङ्कन गर्नेछन्, जसले अन्तत: लागत र खर्च वृद्धि गर्नेछ ।”

    हङकङको सबैभन्दा ठूलो बस कम्पनी काउलुन मोटर बसले २२ प्रतिशत वा करिब १ सय १० रुटमा मात्रै सोमबार सेवा सुचारु गर्‍यो । एनडब्लुएफबि र सिटिबस व्यवस्थापन गर्ने एनडब्लयुएसले ६५ रुटमा वा २४ प्रतिशत मात्रै सेवा सञ्चालन गरेको एक प्रवक्ताले बताए । कम्पनीहरुले धेरै बस बिसौनीमा क्षति पुगेको जनाएका छन् ।

    यसैबीच, ट्रान्सपोर्ट डिपार्टमेन्टले मंगलबार बिहान ५ बजेसम्म मुख्य सडकहरु खोल्ने प्रतिबद्धता जनाएको थियो ।

    हुङ होमलाई मूलभूमि चीन नजिकैको सीमा लो वु र लोक मा चाउसँग जोड्ने एमटिआर कर्पोरेसनको इस्ट रेल लाइन सेवा सीमित रुपमा सञ्चालन भएको थियो । बिसौनी अस्तव्यस्त थिए । सोमबार साँझ ७ बजेदेखि सेवा सामान्य रुपमा सञ्चालन भयो ।

    एनडब्लयुएसकी एक प्रवक्ताले न्यु वर्ल्ड फर्स्ट फेर्री सर्भिसेसको सबै घाटमा बाढी पसेको र केही टर्नस्टाइल र ग्याङ्प्ल्याङ्क भत्किएको बताईन् ।

    चाईनिज युनिभर्सिटी अफ हङकङको अर्थ विभागका सहायक प्राध्यापक टेरेन्स चोङ ताइ-ल्योङले शहर सफा गर्न दुईदेखि तीन दिन र गम्भिर क्षति भएका स्थानमा अझ धेरै समय लाग्ने बताएका छन् ।

    सम्पूर्ण शहरले सोमबार काम नगरेको भए, आर्थिक क्षति ७ अर्ब ३० करोड हङकङ डलर (९३ करोड अमेरिकी डलर) बराबरको क्षति हुने चोङको विश्वास छ । यो गणना अघिल्लो वर्षको कुल ग्राहस्थ उत्पादनको आधारमा गरिएको हो ।

    “न्यु टेरिटोरिजका केही स्थानमा अधिकांश बस र रेल सेवा सञ्चालन नभएकोले, धेरै मानिसहरु काममा जान सकेनन् वा काममा पुग्न ढिला भयो, जसले झण्डै एक दिनको उत्पादकत्व घाटा भयो । क्यारी लामले कर्मचारीका लागि एक वा आधा दिनको विदा घोषणा गर्नुपर्थ्यो,” उनले बताए ।

    कार्यकारी प्रमुख क्यारी लाम चेङ युएत-ङोरले आईतबार फेसबुकको पोस्ट मार्फत् सोमबार काममा आउन कठिनाई सामना गरेका कर्मचारीप्रति रोजगारदाताहरुले समझदारी र लचकता अपनाउनुपर्ने बताएकी थिईन् । लगत्तै सोमबार, मेङखुत आएको भोलिपल्ट कुनै कामदारले काम गर्नु र नगर्नु रोजगारदाता र कामदारबीचको आपसी समझदारी भएको उनले बताईन् ।

    तर उनको सल्लाहले आक्रोश निम्त्यायो । सोमबार राती साढे नौ बजे, लामको पोस्टमा १९ हजारभन्दा धेरै “एङ्ग्री” प्रतिक्रिया आएको थियो । करिब १ हजार ८ सय “लाईक” पाएको उक्त पोस्टमा ७ हजार ९ सयभन्दा धेरै प्रतिक्रिया आएको थियो जसमा धेरैले निराशा व्यक्त गरेका थिए ।

    सरकारले पनि टाईफुनको क्षति बेहोरेको छ । जमिनमा भएका ५५ वटा पूर्वाधार, १७ वटा स्विमिङ पुल, पाँच वटा जल खेल केन्द्र र शहरका सबै समुद्रीतट मर्मतसम्भारका लागि अस्थायी रुपमा बन्द गरिए ।

    गैरसरकारी पूर्वाधार जस्तै शेक मुनस्थित ८ करोड ४० लाख हङकङ डलरको जक्की क्लब किच्ची सेन्टर नष्ट भयो । शेक ओ कन्ट्रि क्लबस्थित ९९ वर्ष पुरानो गल्फ कोर्स पूर्ण रुपमा डुबेको थियो ।

    यस्तो व्यापक विध्वंसका बावजुद, मेङखुतले ल्याउन सक्ने विनाशबारे सरकारी अधिकारीहरुले सर्वसाधारणलाई सचेत गराउन राम्रो काम गरेको चोङले बताए ।

    डेनिस चाङ, इनोक यिउ, टोनी च्योङ / एससीएमपी

  • कमेन्ट गर्नुहोस्