• ज्वेलरी स्टोर लुटेको आशंकामा एक नेपाली गिरफ्तार

  • हुङ होमको ज्वेलरी स्टोरमा शुक्रबार भएको लुटमा संलग्न भएको आशंकामा एक नेपाली पुरुषलाई गिरफ्तार गरिएको छ । ज्वेलरी स्टोरका दुई कर्मचारीलाई नियन्त्रणमा लिदैं चक्कु प्रहार गरी ७ लाख ८६ हजार अमेरिकी डलर नगद लुटेर चार जना पुरुष भागेका थिए ।

    ती २४ वर्षिय पुरुषलाई याउ मा तेईको ब्याटरी स्ट्रिटबाट शुक्रबार नै पक्राउ गरिएको थियो । उनी रिकग्नाईसेन्स फर्म होल्डर पनि हुन् । तर ती पुरुषबाट शंकास्पद गाँजाबाहेक लुट सम्बन्धि केही सामग्री भेटिएको छैन ।

    उनलाई लुटमा संलग्न भएको र लागु औषध राखेको अभियोग लगाईएको छ । उनलाई काउलुन सिटी कोर्टमा सोमबार उपस्थित गराईनेछ । लुटका अन्य आरोपीको खोजी जारी छ । अन्य तीन पुरुष पनि दक्षिण एशियाली मूलकै रहेको प्रहरीको शंका छ ।

    सो घटना होक युएन स्ट्रिट ईस्टको हुङ होमस्थित हुङ होम रोड नजिकैको जंक्सनमा बिहान साढे दश बजेतिर भएको थियो । लुटेराहरुले स्टोरका कर्मचारीद्वयको खुट्टामा छुरा प्रहार गरेको बताईएको छ । उनीहरुको साथबाट ६ वटा चेकसहित ७ लाख ४० हजार अमेरिकी डलर र ३ लाख ६३ हजार ६० हङकङ डलर गरि जम्मा ७ लाख ८६ हजार अमेरिकी डलर नगद भएको दुई वटा रुकस्याक लुटिएको प्रहरीले जनाएको छ । नगद लुटेर तीन जना लुटेराहरु होक युएन स्ट्रिट ईस्टतर्फ भागेका थिए । त्यहाँ सेतो रंगको होण्डा ज्याज कारमा चौथो व्यक्ति उनीहरुलाई पर्खिरहेका थिए ।

    सशस्त्र प्रहरीले शुक्रबार वेस्ट काउलुनमा नाकाबन्दी गरेको थियो । सोही दिन मोङ कोकस्थित होई तिङ रोडको ओलम्पियन सिटी बाहिर दिउँसो करिब १ बजे लुटमा प्रयोग भएको भनिएको कार बेवारिसे अवस्थामा भेटिएको थियो । कारमा रगत लागेको दुई वटा छुरीसहित टोपी र मास्क भेटिएका छन् । उक्त कार अघिल्लो महिना चुन मुनबाट चोरी गरिएको प्रहरीले जनाएको छ ।

    घाईतेमध्ये एक ३८ वर्षिय कर्मचारीको खुट्टामा छुरा प्रहारबाट तीन ठाउँमा चोट लागेको छ । उनलाई याउ मा तेईस्थित क्विन एलिजाबेथ अस्पतालमा गम्भिर अवस्थामा शुक्रबार ल्याईएको थियो भने अर्का २६ वर्षिय कर्मचारीको देब्रे खुट्टामा चोट लागेको छ । उनलाई उपचारपछि घर पठाईएको छ ।

    ड्यानी मोक/ एससिएमपी   

  • कमेन्ट गर्नुहोस्