• सुरक्षाको कारण देखाउँदै एन्डी च्यानको नेशनल पार्टी प्रतिबन्ध

  • राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सरकारले हङकङको एउटा पृथक्तावादी राजनीतिक दल – हङकङ नेशनल पार्टीलाई सोमबार औपचारिक रुपमा प्रतिबन्ध गरेको छ । यो हङकङकै ईतिहासमा पहिलो घटना हो ।

    हङकङ नेशनल पार्टीले अवैधानिक बनाईएको विरुद्धमा आफ्नो स्पष्टिकरण बुझाएको १० दिनपछि सुरक्षा सचिव जोन ली का–चिउले यस्तो निर्णय गरेका हुन् ।

    “सोसाईटिज अर्डिनेन्सको सेक्सन ८(२) ले सुरक्षा सचिवलाई दिएको अधिकार प्रयोग गर्दै, हङकङ नेशनल पार्टीको सञ्चालन वा पार्टीले हङकङमा गर्दै आएको कामकारवाहीहरु प्रतिबन्ध गर्न निर्देशन जारी गर्दछु,” लीको नामबाट जारी भएको सूचना सरकारले सोमबार राजपत्रमा जारी गरेको थियो । उक्त निर्देशन सरकारी राजपत्रमा प्रकाशित भएपछि लागु हुने सूचनामा उल्लेख गरिएको छ ।

    “राष्ट्रिय सुरक्षामा खतरा हुनसक्ने” बताउँदै प्रहरीले जुलाईमा पार्टी प्रतिबन्ध गर्न सिफारिश गरेको थियो । स्वतन्त्र हङकङ प्राप्त गर्न पार्टीले वृहत योजना बनाएको र ठोस कदम चालेको प्रहरीको आरोप छ ।

    कुनै “समाज” को सञ्चालन निषेध गर्न आवश्यक भएको विश्वास लागेमा अर्डिनेन्सको सेक्सन ८ ले सुरक्षा सचिवलाई त्यस्तो निर्णय गर्न सक्ने अधिकार दिएको छ । लीले शुरुमा, कुनै निर्णय गर्नुअघि, लिखित स्पष्टिकरण दिन पार्टीलाई २१ दिनको म्याद दिएका थिए । त्यसपछि सेप्टेम्बर १४ तीन पटक म्याद थपेका थिए ।

    सरकारले पार्टीलाई लगाएको प्रतिबन्धबारे हाल केही नबोल्ने हङकङ नेशनल पार्टीका संयोजक एन्डी च्यान हो-तिनले बताएका छन् ।

    जेफी लाम

  • कमेन्ट गर्नुहोस्