• ब्रिटिश एयरवेजबाट सबै हङकङ क्रयु बर्खास्त

  • आगामी महिनादेखि स्थानीय कार्यालय बन्द गर्नु अगावै ब्रिटिश एयरवेजले आफ्नो सम्पूर्ण हङकङ क्रयुलाई बुधबारदेखि बर्खास्त गरेको एयरवेजको प्रधान कार्यालयले जनाएको छ ।

    कर्मचारी युनियनले जनाए अनुसार हङकङ उडान दलमा कार्यरत ८५ मध्ये ५७ जनालाई तत्कालै सेवानिवृत्त गरिएको छ । अन्य २४ जनालाई आउने महिना उनीहरुको सम्झौता समाप्त भएपछि सेवानिवृत्त गरिनेछ । उनीहरुले ब्रिटिश एयरवेजको यो कदमलाई “अमानविय” र “भद्दा” भनी आलोचना गरेका छन् ।

    ८२ वर्षदेखि शहरमा उडान भर्दै आएको बेलायतको राष्ट्रिय एयरलाईनले अक्टोबरको अन्त्यदेखि हङकङस्थित क्याबिन क्र्यु बेस बन्द गर्ने जनाएको छ । एयरलाईनले हङकङदेखि लण्डनसम्म दैनिक दुई उडान सञ्चालन गरिरहेको छ ।

    “बितेका वर्षहरुमा हङकङस्थित हाम्रो चालक दलले गरेको कठिन मेहनत र लगनप्रति हामी साँच्चिकै आभारी छौं । हामीले लण्डनस्थित चालक दलबाटै यो रुटका सम्पूर्ण उडान सञ्चालन गर्ने रणनीति बनाएका छौं,” उडानमा कुनै प्रभाव नपर्ने बताउँदै कम्पनीकी एक प्रवक्ताले बताईन् ।

    यसबारे हङकङस्थित कर्मचारीलाई जानकारी गराई सकिएको उनले बताईन् । कम्पनीको विश्वव्यापी सञ्चालनको “विस्तृत र पूर्ण” पुनरावलोकनपछि यो निर्णय गरिएको उनले बताईन् ।

    “यो समयमा हामीले हङकङस्थित हाम्रो चालक दललाई पूर्ण सहयोग गर्ने वाचा गरेका छौं,” सेवा स्तर कायम हुने विश्वास व्यक्त गर्दै प्रवक्ताले बताईन् ।

    ती ५४ जना कर्मचारीको प्रतिनिधित्व गर्ने बिए हङकङ ईन्टरनेशनल क्याबिन क्र्यु एसोसिएसनको बुधबार बसेको सन्ध्याकालीन बैठकले बेलायतस्थित युनियन नेतृत्वसँग सम्पर्क गरी प्रतिक्रिया दिने जनाएको छ ।

    व्यवस्थापनसँगको बैठकपछि तत्काल लागु हुने गरी रोजगार समाप्त गरिएको जानकारी गराउँदै कर्मचारीहरुलाई एउटा पत्र दिईएको एसोसिएसनकी महासचिव क्यारोल ङ मान-यीले बताईन् । बैठकबारे उनीहरुलाई मंगलबार मात्रै जानकारी गराईएको पनि उनले बताईन् ।

    “पछिल्ला वर्षहरुमा हङकङ बेस बन्द गर्ने हल्ला चलेको थियो । यो दिन आउँछ भन्ने हामीले अपेक्षा गरेका थियौं, तर ब्रिटिश एयरवेजले यस्तो भद्दा व्यवहार गर्नेछ भन्ने हामीले कल्पना पनि गरेका थिएनौं,” उनले भनिन् ।

    “यो कम्पनीका वफादार कर्मचारीप्रति गरिएको धोखा हो ।”

    “सबैलाई यति छिटै कामबाट निकालेर हामीलाई विरोध प्रदर्शन गर्नबाट रोक्न सकिन्छ भनेर कम्पनीले सोंच्छ भने त्यो भूल हुनेछ । विरोध गर्ने अन्य थुप्रै तरिकाहरु छन् । उनीहरुले अहिले केही पनि देखेका छैनन्,” आउने केही दिनमै व्यवस्थापनसँग बैठक बस्ने चाहना व्यक्त गर्दै ङले चेतावनी दिईन् ।

    प्रभावितमध्ये ६१ जना स्थायी करारमा थिए । तीमध्ये ङ लगायत चार जना बिरामी विदामा छन् र उनीहरुलाई पत्र पनि दिईएको छैन । स्थायी कर्मचारीलाई क्षतिपूर्तिका शर्तहरु स्विकार गर्न शनिबारसम्मको समय दिईएको ङले बताईन् । उनीहरुले समयमै शर्त मञ्जुर नगरे, हङकङको श्रम कानुन अन्तर्गत उनीहरुलाई न्युनतम सुविधामात्रै उपलब्ध गराईनेछ ।

    भविष्यको योजनाबारे प्रश्न गर्दा करार कर्मचारी किमि च्यान रुन थालिन् । “म असहाय छु । यो यति छिटो, अपेक्षा गरिएभन्दा छोटो समयभित्रै यस्तो सूचना आयो,” उनले भनिन् ।

    व्यावसायिक पाइलट समेत रहेका सिभिक पार्टीका विधायक जेरेमि ताम मान-होले एयरलाईनले कर्मचारीलाई अग्रिम जानकारी गराउनु पर्ने बताए ।

    “कम्तिमा कर्मचारीहरुले अर्को कामको खोजी त गर्न सक्थे,” तामले भने ।

    उडानमा थोरै क्यान्टोनिजभाषी कर्मचारी भए हङकङेलीका लागि सेवा प्रभावित हुने उनले टिप्पणी गरेका छन् ।

    मूल कम्पनी ईन्टरनेशनल एयरलाईन्स ग्रुप (आईएजि) ले विश्लेषकहरुसँग गरेको कम्पनीको अर्धवार्षिक वित्तिय आम्दानी बैठकमा ब्रिटिश एयरवेजको हङकङदेखि हिथ्रो सेवालाई कमजोर प्रदर्शन गर्ने रुट भनी निष्कर्ष निकालेको थियो ।

    प्रमुख वित्तिय अधिकृत एनरिके डुपुई डु लोमेले हिथ्रोसम्म दैनिक पाँच पटक उडान भर्ने क्याथे प्यासेफिकका कारण आम्दानीमा खराब असर परेको बताए । स्पेनी हवाई सेवा आईबेरिया र आयरल्यान्डको एयर लिंगस आईएजिको स्थिर आम्दानी गर्ने सेवाहरु हुन् । ब्रिटिश एयरवेजले सन् २०१७ मा १ अर्ब ७७ करोड पाउन्ड बराबरको सञ्चालन नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा यो १८.९ प्रतिशत बढी हो ।

    हङकङ परम्परागत रुपमा एयरलाईनको बलियो रुट हो । यसले धेरै शुल्क तिर्ने व्यापारी-व्यवसायी र महँगा प्रिमियम सिट खोज्ने यात्रुहरु आकर्षित गर्दछ । एयरलाईनको कार्गो डिभिजनले पनि शहरमा राम्रो व्यापार गर्दछ ।

    ईन्धनको बढ्दो मुल्य र विश्वव्यापी व्यापारको अनिश्चिततामा भएको वृद्धिसँगै विश्वभरका एयरलाईन लागत खर्च नियन्त्रण गर्न संघर्ष गरिरहेका छन् । ब्रिटिश एयरवेजसँग “कोड शेयर” गर्ने क्याथे प्यासेफिकमा पनि अघिल्लो वर्ष करिब ६ सय कर्मचारी कटौती गरी कम्पनी पुनर्संरचना गरिएको थियो । योजनाले कम्पनीबाट १ सय ९० जना प्रबन्धक र ४ सय गैर-व्यवस्थापकिय कर्मचारी कटौती गरे पनि पाईलट, फ्लाईट अटेन्डेन्टजस्ता अग्रपंक्तिका कर्मचारीलाई कुनै प्रभाव पारेको थिएन ।

    ब्रिटिश एयरवेजले हङकङमाजस्तै केही वर्ष अघि सिंगापुरको क्याबिन क्र्यु बेस पनि बन्द गरेको थियो । ङका अनुसार, सिंगापुरका कर्मचारीलाई योजनाबारे ६ महिना अघि नै जानकारी गराईएको थियो ।

    सुम लोक–केई/ ङकाङ-चुङ 

  • कमेन्ट गर्नुहोस्