• क्रेडिट कार्ड र परिचयपत्र चोरी गर्ने गिरोहका १० जना शंकास्पद सदस्य पक्राउ

  • सार्वजनिक स्थानबाट क्रेडिट कार्ड र परिचयपत्र चोरी गर्ने एउटा गिरोह विरुद्धको कारवाहीमा हङकङ प्रहरीले शंकास्पद १० जनालाई पक्राउ गरेको छ । ६० लाख हङकङ डलरभन्दा धेरैको खरिद र ऋण आवेदन जम्मा गर्नु अघि नै उनीहरुलाई गिरफ्तार गरिएको हो ।

    मंगलबारदेखि शुरु भएको दुई दिने कारवाहीमा, कर्मशियल क्राइम ब्युरो र आइल्यान्ड रिजनल क्राइम युनिटका अधिकारीले २१ देखि ६३ वर्षका ९ जना पुरुष र एक महिलालाई हिरासतमा लिएको छ । तीमध्ये ५३ वर्षिय पुरुष गिरोहको नेता रहेको बुझिएको छ । उनीहरुको साथबाट विद्युतीय उपकरण, घडी, ह्यान्डब्याग र पर्फ्युम लगायतका महँगा उत्पादनका साथै राहदानी र बैंकका कागजातसहित थुप्रै क्रेडिट कार्ड र हङकङको परिचयपत्र पनि फेला परेको छ ।

    गिरोहका सदस्यरुले यो वर्ष ४९ वटा घटनामा चोरी गरिएका क्रेडिट कार्ड वा नक्कली परिचयपत्रबाट प्राप्त गरिएका क्रेडिट कार्ड प्रयोग गरी ४० लाख बराबरको खरिद गरेका छन् । एउटा घटनामा पीडितले ६ लाख २० हजार हङकङ डलर गुमाएका छन् । खरिद गरिएका सामग्रीहरु गिरोहले पछि अनलाईन मार्फत् बिक्री गर्ने योजना बनाएको थियो ।

    ठगहरुले बैंकबाट कर्जा लिनलाई पनि चोरी गरिएका परिचयपत्र र अन्य आवश्यक कागजपत्र प्रयोग गरेका छन् । एक जना व्यापारीको परिचयपत्र प्रयोग गरेर पेश गरिएका बैंक कर्जाका त्यस्ता तीन आवेदनहरु स्वीकृत पनि भए, तर प्रहरीको हस्तक्षेपले पैसा भने लिन पाएनन् । ती तीन वटा आवेदनबाट झण्डै २१ लाख हङकङ डलर बराबरको कर्जा लिईएको थियो ।

    गिरोहका सदस्यहरुले क्याफे, समुद्र किनार वा सार्वजनिक स्वीमिङ पुल र स्पोर्ट्स सेन्टरको चेन्जिङ रुममा आफ्नो शिकार खोजी गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुले पीडितका खल्ती वा झोलामा भएका वालेटबाट कार्डहरु झिक्ने र वालेटहरु फेरी यथास्थानमै राख्ने गर्थे । यसो गर्दा चोरी भएको सजिलै थाहा हुँदैन ।

    गिरफ्तार गरिएका अधिकांश ट्रायड पृष्ठभुमि रहेको पाईएको प्रहरीले जनाएको छ ।

    ड्यानी मोक/ एससीएमपी

  • कमेन्ट गर्नुहोस्