• पोलिटेक्निक युनिभर्सिटीका दुई विद्यार्थी अनसनमा

  • हङकङको स्वतन्त्रताको वकालत गर्ने सन्देश राखिएको एउटा बुलेटिन बोर्डलाई पोलिटेक्निक विश्वविद्यालयले नियन्त्रणमा लिएको विरोधमा विश्वविद्यालयका दुई विद्यार्थी शुक्रबारदेखि अनसन बसेका छन् ।

    पोलिटेक्निक युनिभर्सिटी स्टुडेन्ट युनियनका अध्यक्ष लाम विङ-हाङ र भिक्टर युएन पाक-ल्योङले उक्त “डेमोक्रेसी वाल” माथि उनीहरुको अधिकार विश्वविद्यालयले पुनर्स्थापित नगरेसम्म अनसन नतोड्ने बताएका छन् । ओहोरदोहोर गर्ने मानिसहरुले पढुन् भनेर उक्त सूचनापाटीमा विभिन्न सन्देशहरु टाँसिएका हुन्छन् ।

    अनसनरत दुवै जनाले थप गतिविधिबारे शनिबारसम्म केही बताएका छैनन् । हुङ होमस्थित उक्त क्याम्पसमा, विश्वविद्यालयले सर्वसाधारणका लागि शैक्षिक जानकारी दिवस पनि आयोजना गर्ने भएको छ ।

    पृथक्तावादी हङकङ नेशनल पार्टी (एचकेएनपी) लाई हङकङ सरकारले प्रतिबन्ध गरेपछि, बोर्डमा सन्देश टाँस्ने नियमलाई युनियनले अस्थायी रुपमा लचिलो बनाएको थियो । त्यसको दुई सातापछि विद्यार्थी समूह र विश्वविद्यालयका अधिकारीबीच विवाद उत्पन्न भएको हो ।

    परिवर्तन पश्चात्, बोर्डमा स्वतन्त्रताको समर्थनमा केही सन्देशहरु देखा परे । उक्त भित्तालाई पूर्ववत् अवस्थामा राख्न पोलिटेक्निक युनिभर्सिटीले दुई पटक दिएको चेतावनी बेवास्ता गरियो, र विश्वविद्यालयका पदाधिकारीहरुले बोर्डको आधा भाग नियन्त्रणमा लिई रातो कागजले छोपेका थिए ।

    “अभिव्यक्ति स्वतन्त्रताको दमन हुँदा, हामी पछ्नु हट्नु हुँदैन भन्ने हाम्रो विश्वास छ,” लामले शुक्रबार साँझ भने ।

    “विश्वविद्यालयले डेमोक्रेसी वाल व्यवस्थापन गर्ने हाम्रो अधिकार र विद्यार्थी युनियनको स्वायत्तता पुनर्स्थापना गर्ने वचन दिन बाँकी नै रहेकोले, हामी अनसन रोक्ने छैनौं ।”

    विश्वविद्यालयकी एक प्रवक्ताले विद्यार्थीहरुलाई विवेकशील बन्न र शान्त रहन आग्रह गरेकी छिन् । उनीहरुको अभिव्यक्ति स्वतन्त्रताको संस्थाले सधैं सम्मान गरेको पनि उनले जोड दिएकी छिन् ।

    “आफ्नो दृष्टिकोण अभिव्यक्त गर्न कट्टरपन्थी माध्यम प्रयोग गर्ने विद्यार्थीसँग पोलिटेक्निक युनिभर्सिटीको सहमति छैन,” अनसन बन्द गर्न र आफ्नो स्वास्थ्यको ध्यान दिन आग्रह गर्दै उनले भनिन् । डेमोक्रेसी वाल सम्बन्धि मुद्दाबारे छलफल गर्न विद्यार्थी युनियनका प्रतिनिधिहरुलाई शनिबार अपरान्ह ४ बजे बोलाईएको पनि उनले बताईन् ।

    बिहीबार, पोलिटेक्निक विश्वविद्यालयको विद्यार्थी युनियनका समिति सदस्य लगायत १० जना विद्यार्थीको समूहले भित्ताको आधा भाग विश्वविद्यालयले छोप्नुको कारण माग गर्दै व्यवस्थापन कार्यालय प्रवेश गरेका थिए ।

    थुप्रै विद्यार्थीहरुले गरेको “अनुचित व्यवहार” को भर्त्सना गर्दै पोलिटेक्निक विश्वविद्यालयले जारी गरेको एक वक्तव्य उद्धृत गरी, परिस्थिती “एकदमै अराजक” बनेको लामले बताए ।

    “हामीलाई विश्वविद्यालयको प्रत्युत्तर पाउने तिव्र ईच्छा थियो,” विद्यार्थी नेताले शुक्रबार बताए । “त्यसैले, दुर्घटनावश केही व्यक्तिहरु अनियन्त्रित भए ।”

    कसैलाई पनि भौतिक रुपमा चोट पुगेको हेर्ने कुनै नियत नभएकोमा लामले जोड दिए । युनियनले पोलिटेक्निक युनिभर्सिटीको व्यवस्थापनसँग वार्ता गर्न बारम्बार आग्रह गर्दा पनि बेवास्ता गरिएको उनल बताए । शुरुमा, विश्वविद्यालयका अधिकारीहरुले विद्यार्थीलाई यो शनिबार दिउँसो भेट्ने प्रस्ताव गरेका थिए । तर विद्यार्थीहरुले उक्त बन्दसत्र बैठक अस्विकार गरे र खुला मञ्चको माग राख्दै शुक्रबार एउटा ईमेल पठाए ।

    दुई घण्टाभन्दा धेरै समयको प्रतिक्षापछि, विश्वविद्यालयका कुनै पनि पदाधिकारी कार्यक्रममा सहभागी नभएको विद्यार्थीले बताए । उनीहरुले प्रेस सम्मेलन आयोजना गर्ने र अनसनको घोषणा गर्ने निर्णय गरे । घोषणाको क्रममा, विश्वविद्यालयको प्राङ्गण प्रयोग गर्ने नियमको उल्लंघन गरेको चेतावनी सहित लामले पोलिटेक्निक युनिभर्सिटीबाट एउटा सूचना पाए । उक्त पत्रमा कारवाही गर्ने अधिकार विश्वविद्यालयमा निहीत हुने उल्लेख गरिएको थियो ।

    “यसले भोक हड्ताल शुरु गर्ने हाम्रो दृढ संकल्पलाई अझ बलियो बनायो,” उनले भने । समूहको “अभिव्यक्ति स्वतन्त्रता सुरक्षित गर्ने दृढता” अझ बलियो भएको उनले टिप्पणी गरे ।

    कनिस च्योङ/ एससीएमपी

  • कमेन्ट गर्नुहोस्