• पोलिटेक्निक युनिभर्सिटीका विद्यार्थीद्वारा अनसन अन्त्य

  • पोलिटेक्निक युनिभर्सिटीका अनसनरत तीन विद्यार्थीले दुई दिनपछि आईतबार अपरान्ह अनसन अन्त्य गरेका छन् । स्वतन्त्रताको समर्थन गर्दै बुलेटिन बोर्डमा प्रकाशन गरिएका सन्देशलाई लिएर क्याम्पसका पदाधिकारीसँग भएको विवाद समाधान भएपछि उनीहरुले अनसन फिर्ता लिएका हुन् ।

    विश्वविद्यालय र विद्यार्थी दुवैले अपरान्ह ५ बजेतिर बेग्लाबेग्लै वक्तव्य जारी गरेका थिए । तर भएको सहमतिबारे उनीहरुले केही खुलाएका छैनन् । अभूतपूर्व रुपमा पृथक्तावादी हङकङ नेशनल पार्टी (एचकेएनपी) लाई सरकारले प्रतिबन्ध गरेपछि, दुई साता अघि डेमोक्रेसी वाल भनिने बोर्डमा युनियनले सन्देश पोस्ट गर्ने नियम अस्थायी रुपमा लचिलो बनाउँदा विवाद उत्पन्न भएको थियो ।

    नियम परिवर्तन भएपछि, स्वतन्त्रताको समर्थनमा केही सन्देशहरु बोर्डमा प्रकाशन भए । सन्देश हटाउन पोलिटेक्निक युनिभर्सिटीले दुई पटक दिएको चेतावनी बेवास्ता गरिएपछि, विश्वविद्यालयका पदाधिकारीले ती सामग्रीलाई रातो कागजले छोपेका थिए । स्वतन्त्रताको सो वकालत पछाडी युनियनको हात भएको वा समर्थन रहेको कुनै संकेत थिएन । पदाधिकारीहरुले अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लंघन गरेको युनियनले आरोप लगाएको थियो ।

    “डेमोक्रेसी वाललाई पूर्ववत् अवस्थामा राख्न र दुवै पक्षले सहमती जनाएको नियम अनुसार त्यसको व्यवस्थापन गर्न विद्यार्थी युनियन सहमत भएको छ,” विश्वविद्यालयको वक्तव्यमा भनिएको छ ।

    “यो सँगै, हाल विश्वविद्यालयले अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको डेमोक्रेसी वालको भाग पनि युनियनलाई नै जिम्मा लगाईनेछ ।”

    युनियनको वक्तव्यमा विश्वविद्यालयको वक्तव्य प्राप्त भएको र “डेमोक्रेसी वाल” व्यवस्थापन गर्न युनियनलाई अधिकार दिएको “पुष्टि” भएको जनाईएको छ ।

    वक्तव्य जारी भएसँगै, अनसनरत पोलिटेक्निक युनिभर्सिटी विद्यार्थी युनियनका अध्यक्ष लाम विङ-हाङ र युनियन परिषद् अध्यक्ष भिक्टर युएन पाक-ल्योङले भोकै बसेको ४४ घण्टापछि गुलियो पेय पदार्थ पिएका थिए । यी दुईलाई साथ दिन शुक्रबारदेखि अनसन बसेका तेश्रो विद्यार्थी, चाईनिज युनिभर्सिटीका स्नातकोत्तर तहमा अध्ययनरत हेन्ड्रिक लुई चि-हाङले पनि अनसन तोडेका छन् ।

    साँझ साढे ६ बजेतिर गरिएको एउटा प्रेस सम्मेलनमा, युनियनका बाह्य उपाध्यक्ष हेजल चेङ युएत-तिङले डेमोक्रेसी वाललाई पूर्ववत् अवस्थामा राख्ने र यस अघिकै नियम पालना गर्ने सहमती भएको जनाईन् । तर यसलाई “पछि हटेको” भन्न नमिल्ने उनले बताईन् ।

    “व्यवस्थापनको पूर्व अवस्था कायम मात्रै गर्न लागेका हौं, र त्यसमाथि विद्यार्थी युनियनको नियन्त्रण पुनर्स्थापना गर्दैछौं,” चेङले भनिन् ।

    सन्देश प्रकाशन गर्ने नियम परिवर्तन गर्नेबारे युनियनले आफ्नै निर्णय गर्ने चेङले बताईन् । “हामी विश्वविद्यालयलाई जानकारी दिनेछौं तर स्वीकृति भने लिने छैनौं,” उनले भनिन् ।

    चेङका अनुसार, अनसनका बेला, प्रदर्शन गरिएका विद्यार्थीसँग वार्ता गर्न विश्वविद्यालयले थुप्रै प्रतिनिधि पठाएको थियो । उनीहरुले खान पनि अनुरोध गरेका थिए । “विश्वविद्यालयले डेमोक्रेसी वाल हामीलाई फिर्ता नदिएसम्म अनसन जारी राख्ने प्रष्ट्यायौं,” चेङले भनिन् ।

    विश्वविद्यालयले स्वतन्त्रताको सन्देश छोप्नुको कारण खुलाउने माग गर्दै, पोलिटेक्निक युनिभर्सिटी विद्यार्थी युनियनका समिति सदस्य सहित, करिब १० जना विद्यार्थीको समूह बलपूर्वक व्यवस्थापक कार्यालय प्रवेश गरेको थियो । शुरुमा विश्वविद्यालयका पदाधिकारीहरुले विद्यार्थीसँग शनिबार अपरान्ह बैठक बस्ने प्रस्ताव गरेका थिए । तर विद्यार्थीहरुले उक्त बन्द-सत्रको बैठक अस्वीकार गर्दै खुला सत्रमा छलफल गर्नुपर्ने माग सहित शुक्रबार ईमेल पठाएका थिए । माग सम्बोधन नभएपछि, उनीहरुले भोक हड्ताल शुरु गरेका थिए ।

    औपचारिक वार्ता असफल भएपछि, डेमोक्र्याटिक पार्टीकी विधायक तथा पोलिटेक्निक युनिभर्सिटीकी लेक्चरर हेलेना वोङ पिक-वानसहित अन्य कर्मचारीले व्यवस्थापन र विद्यार्थीबीच सन्देश आदानप्रदान गरेको पोष्टले जानकारी पाएको छ ।

    यो प्रकृयामा, पोलिटेक्निक युनिभर्सिटीका अध्यक्ष टिमोथी तोङ वाई-च्योङले परिस्थितीलाई गम्भिर बनाउँदै प्रदर्शनरत विद्यार्थीहरुलाई लखेट्ने विश्वविद्यालयलाई कुनै हतार नभएको वोङलाई बताएका थिए । सन्देश प्रकाशन गर्न पुरानो नियम पुनर्स्थापना गर्न विद्यार्थीहरु सहमत भए, डेमोक्रेसी वाल फिर्ता दिने पनि तोङले वचन दिएकी थिईन् ।

    वोङले दुवै पक्षले अभिव्यक्ति स्वतन्त्रता र शैक्षिक स्वतन्त्रताको अधिकारको प्रतिरक्षा गर्नुपर्न बताईन् । उनले विश्वविद्यालयलाई अलि खुला सोंच अवलम्बन गर्न आग्रह गरिन् ।

    “राजनीतिक नियन्त्रणले विश्वविद्यालयलाई फाईदा गर्दैन,” वोङले भनिन् । “एकअर्कासँग मुठभेडको अवस्था सिर्जना गर्नुभन्दा संवाद र आपसी समझदारी कायम गर्नु विद्यार्थी र विश्वविद्यालय दुवैका लागि महत्वपूर्ण हुन्छ ।”

    शनिबार आयोजित खुला विश्वविद्यालय दिवसमा ३३ हजार सहभागी भएका थिए । सो अवसरमा भएको घटनाबारे बताउँदै विद्यार्थी युनियनले पर्चा वितरण गरेको थियो । अनसनरत तीन जनाले पोलिटेक्निक युनिभर्सिटीको सम्पत्ति व्यवस्थापन निकायबाट विश्वविद्यालयको प्राङ्गण प्रयोग गर्ने नियमको उल्लंघन गरेको चेतावनी सहित विश्वविद्यालयसँग कारवाही गर्ने अधिकार समेत भएको सूचना पाएका छन् ।

    बेईजिङ समर्थक समूहलाई पनि क्याम्पसभित्र विरोध प्रदर्शन गर्ने स्वीकृति दिईएको थियो । विश्वविद्यालयको समर्थन गर्दै समूहले स्वतन्त्रताको पक्षमा गरिएको वकालत विरुद्ध नाराबाजी गरेको थियो ।

    पोलिटेक्निक युनिभर्सिटीले गम्भिर रुपमा अभिव्यक्ति स्वतन्त्रताको दमन र विद्यार्थीको माग सम्बोधन गर्न बेवास्ता गरेको भन्दै ६ वटा विश्वविद्यालयका विद्यार्थी युनियनहरुले एउटा वक्तव्य जारी गरेका छन् भने २३ जना प्रो-डेमोक्रेसी विधायकहरुले विश्वविद्यालयका अध्यक्षलाई प्रदर्शनरत विद्यार्थीसँग भेट गर्न आग्रह गरेका थिए ।

    विश्वविद्यालयका पदाधिकारीले सोमबार साँझ वा मंगलबार बिहान भेट्ने प्रस्ताव गरे पनि युनियनले अस्वीकार गरेको छ ।

    आईतबार साँझ, विश्वविद्यालयले बुलेटिन बोर्ड छोप्न प्रयोग गरिएका रातो कागजहरु हटाएको थियो । घटना व्यवस्थापनमा विश्वविद्यालयको आलोचना गरिएका नयाँ पोस्टरहरु टाँसिएको भए पनि स्वतन्त्रता समर्थित सन्देशहरु राखिएका थिएनन् ।

    सि सिङ्क्वी/ एल्भिन लुम

  • कमेन्ट गर्नुहोस्