• नेपाली महिलाबाट प्रहरी अधिकारीले चोरी गर्ने प्रयास गरेको पुष्टि

  • एमटिआर ट्रेनको भीडमा नेपाली महिलाबाट चोरीको प्रयास गर्ने एक प्रहरी अधिकारी सोमबार दोषी प्रमाणित भएका छन् ।

    काउलुन सिटी कोर्टमा सुनुवाई भए अनुसार फेब्रुअरी ६ तारिखमा एडमिराल्टीबाट चिम चा चुई जाने क्रममा ३२ वर्षिय प्रहरी अधिकारी ल्योङ हुङ-केईले आफ्नो देब्रे पाखुरामा झुण्ड्याएको ज्याकेटको आडमा दाहिने हात लुकाएर ती महिलाको ब्याकप्याक खोलेका थिए ।

    उनको कृत्य सादा पोशाकमा ट्रेनमै रहेका एक सार्जेन्टले देखेका थिए । ल्योङ ट्रेन चढ्नु अघि नै उनको शंकास्पद गतिविधी ती प्रहरी सार्जेन्टले निरीक्षण गरिरहेका थिए । सार्जेन्टले सामना गर्न खोज्दा, ल्योङ घटनास्थलबाट भागेका थिए ।

    सार्जेन्टले आफु विरुद्ध षडयन्त्र गरेको भन्दै ल्योङले आफ्नो बचाउ गर्ने प्रयास गरेका थिए । घटनाको समयमा ड्युटीमा रहेका ल्योङले सार्जेन्टसँग अकस्मात भेट हुँदा आँखा तरेको बताए । चोरी गर्नुभन्दा पनि आफुलाई सुरक्षित राख्न र ट्रेनमा सन्तुलन कायम राख्न आफ्नो हात समातेको ल्योङले बताएका थिए । उक्त “असझदारी” ले आफ्नो क्यारियर प्रभावित हुने चिन्ताले त्यहाँबाट भाग्ने निर्णय गरेको उनले बताए ।

    तर डेप्युटी म्याजिष्ट्रेट फ्रान्सेस ल्योङ ङा-यानले आफु विरुद्ध षडयन्त्र गरिएको प्रतिवादीको दाबी अनुचित भएको बताउँदै ल्योङको प्रमाण अस्वीकृत गरिन् ।

    “प्रतिवादी इमान्दार साक्षी नभएको अदालत विश्वास गर्दछ,” उनले भनिन् ।

    सोमबार चोरीको प्रयास पुष्टि हुनु अघिसम्म प्रहरी अधिकारी ल्योङको रेकर्ड क्लियर थियो । उनको चरित्रको साक्षी बयान दिने पूर्व सुपरभाईजरले ल्योङ एक जिम्मेवार कर्मचारी र उत्कृष्ट काम गर्ने गरेको बताएका थिए ।

    मुद्दाको क्रममा प्रतिवादीकी पत्नि र बहिनीले बुझाएको पत्रमा ल्योङ दुई कलिला सन्तानका जिम्मेवार पिता र मायालु पति रहेको चित्रण गरिएको छ ।

    डिफेन्स काउन्सल ब्रुस त्से ची-होले १२ वर्षदेखि प्रहरी सेवाका जागिरे ल्योङको जागिर, परिवार बस्दै आएको क्वार्टर र पेन्सन वापतको रकम पनि खोसिने अपेक्षा गरिएको बताए ।

    “यो आफैंमा एउटा सजायँ हो,” काउन्सलले भने,”अब उनको समय निकै कठिन हुनेछ ।”

    “सामान्तया यस्तो अपराधमा जेलसजायँ हुने भएकाले”, आफुले ती प्रहरी अधिकारीलाई तत्काल जेल पठाउनेबारे विचार गर्नुपर्ने भएको म्याजिष्ट्रेटले बताईन् ।

    यद्यपि, प्रतिवादीले बिना कुनै कारण त्यस्तो व्यवहार देखाएकोले पनि मुद्दा विचारणीय भएको बताईन् । फैसला नोभेम्बर ५ सम्मका लागि स्थगित गरिएको छ । सामुदायिक सेवाको उपयुक्तताबारे पनि निर्णय हुन बाँकी छ ।

    प्रतिवादीलाई हाल रिमान्डमा हिरासतमा राखिएको छ ।

  • कमेन्ट गर्नुहोस्