• अनलाईन प्रेम गरी ठग्नेहरुको गिरोह प्रहरी कारवाहीमा

  • संयुक्त प्रहरी अपरेशनले मानिसहरुलाई अनलाईन प्रेममा पारेर ठगी गर्ने गिरोह पत्ता लगाई कारवाही अघि बढाएको हङकङ प्रहरीले शुक्रबार बताएको छ । उक्त गिरोहले १ सय ४० जनाभन्दा धेरैबाट ११ करोड हङकङ डलरभन्दा धेरै ठगी गरेको प्रहरीले जनाएको छ ।

    हङकङ, मलेसिया र सिंगापुरमा गत बिहीबारदेखि आईतबारसम्म गरिएको प्रहरी कारवाहीमा जम्मा ५२ जना गिरफ्तार भएका छन् । गिरोहले अनुवादकलाई काममा राखेर विभिन्न भाषामा “टेक्स्ट मेसेज” मार्फत् पीडितसँग सम्पर्क गरेको प्रहरीले जनाएको छ । यसका लागि उनीहरुले अनुवाद गर्न सफ्टवेयर पनि प्रयोग गरेको खुलेको छ ।

    सिनियर सुपरिन्टेन्डेन्ट फ्र्याङ्क ल युएत-विङले बताए अनुसार अनुसन्धानको क्रममा दुई जना अफ्रिकीले गिरोहको नेतृत्व गरेको र मलेसियामा पक्राउ परेका २२ जनामध्ये उनीहरु पनि रहेको बुझिएको छ । गिरोहको नेतृत्व र अनुवादको काम गर्ने एक महिलालाई एउटा आवासीय फ्ल्याटबाट गिरफ्तार गरिएको छ ।

    साईबर सेक्युरिटी एन्ड टेक्नोलोजी क्राईम ब्युरोका अधिकारीहरुले हङकङमा २८ जना शंकास्पद व्यक्तिलाई गिरफ्तार गरेका छन् । सिंगापुरमा दुई जना पक्राउ परेका छन् ।

    मलेसियामा पक्राउ परेका तीन जनाले ठगी गरिएको कालो धन भित्र्याएको विश्वास गरिएको छ भने पैसा संकलन गर्न र ठगी गरिएका पैसा भित्र्याउन प्रयोग गरिएका बैंक खाताहरु अन्य १६ जनाको नाममा छ । प्रहरीले जनाए अनुसार हङकङ र सिंगापुरमा गिरफ्तार गरिएकाहरुसँग पनि त्यस्तो खाता रहेको छ ।

    गिरोहले हङकङ, मलेसिया र सिंगापुरमा जम्मा १ सय ४७ जनाबाट ११ करोड हङकङ डलर ठगी गरेको साईबर क्राईम ब्युरोका चिफ सुपरिन्टेन्डेन्ट जो च्यान तुङले बताए ।

    “यो अपरेशनले अनलाईन मार्फत् नक्कली प्रेम गर्ने र एशियालीलाई लक्ष्य बनाउने एउटा अन्तर्राष्ट्रिय गिरोहको भण्डाफोर गरेको प्रहरीको विश्वास छ,” तुङले भने, “यो अपरेशन अनलाईन अपराध विरुद्ध हङकङ प्रहरी र विदेशी कानुन नियामक निकायबीच भएको सफल सहकार्यको नतिजा पनि हो ।”

    विदेशी समकक्षीसँगको सहकार्य र सूचना आदानप्रदानलाई प्रहरीले निरन्तरता दिने पनि उनले बताए ।

    पीडितमध्ये करिब १ सय १ जना, अधिकांश महिला, हङकङेली छन् । उनीहरुबाट ५ करोड ४० लाख हङकङ डलर ठगिएको छ । उनीहरुमध्ये सबैभन्दा धेरै ठगी गरिएका व्यक्तिले २ करोड ६४ लाख हङकङ डलर गुमाएका छन् । मलेसियामा ३८ जनाबाट ५ करोड ३० लाख हङकङ डलर र सिंगापुरमा ८ घटनामा २५ लाख हङकङ डलर ठगी गरिएको छ ।

    अपरेशनको सफलताका बावजुद, शहरको सबैभन्दा ठूलो व्यक्तिगत रोमान्स ठगी घटनाका अभियुक्त भने अझै पनि फरार रहेको विश्वास गरिएको छ । उक्त ठगीमा ६६ वर्षिया महिला व्यवसायीबाट “बेलायतका एक ईन्जिनियर” भनाउँदोले चार वर्षको अवधिमा १८ करोड हङकङ डलर गठेका छन् । तर अनुसन्धानले भने यो अन्तर्राष्ट्रिय गिरोहको शिकार नभएको देखाएको छ ।

    शहरको सबैभन्दा लामो ठगीमा आफुलाई बेलायती चलचित्र निर्देशक बताउने व्यक्तिले एक वित्तिय प्रबन्धकबाट १ करोड ४० लाख हङकङ डलर ठगेका छन् । उनीहरुको सम्बन्ध ८ वर्षसम्म चले पनि पीडितले ती व्यक्तिलाई कहिले भेटिनन् । घटनाबारे उनले प्रहरीलाई अप्रिलमा बताएकी थिईन् ।

    हङकङ प्रहरीको तथ्याङ्क अनुसार, ईन्टरनेटका ठग प्रेमीहरुले यो वर्षको शुरुको ९ महिनाभित्र ४ सय ६३ हङकङेलीबाट ३९ करोड ८० लाख हङकङ डलर कुम्ल्याएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्ष १ सय ४२ जना र ७ करोड ८१ लाख हङकङ डलर बढी ठगिएका छन् ।

    सन् २०१७ मा, जम्मा २ सय ३५ जनाबाट १० करोड ९० लाख हङकङ डलर ठगिएको थियो । सन् २०१६ मा, यस प्रकारको घटना भएको १ सय १४ वटा उजुरी परेका थिए । उनीहरुबाट ९ करोड ५० लाख ठगिएको थियो । त्यसै गरी सन् २०१५ मा, प्रहरीमा यस्ता ५२ उजुरी परेका थिए जसबाट ठगहरुले ३ करोड २४ लाख हङकङ डलर ठगेका थिए ।

    ठगहरु प्राय: आफुलाई उद्यमी, पेशाकर्मी वा सेनाका कर्मचारी बताउँछन् र ईन्टरनेट मार्फत् ठगीका सम्भावित पीडितसँग मित्रता गर्छन् । पीडितसँग नजिकको सम्बन्ध बनाईसकेपछि, विभिन्न बहानामा उनीहरुलाई पैसा माग्न थाल्छन् । यस्ता अनुरोधमा धेरै जसो विदेशको कुनै समस्या समाधान गर्नलाई पैसा माग्ने गरिएको प्रहरीले जनाएको छ ।

  • कमेन्ट गर्नुहोस्