• टाईफुन युतु ग्वाङदोङ किनार नजिकै, हङकङद्वारा टाईफुन सिग्नल नं. ३ जारी

  • टाईफुन युतु ग्वाङदोङ प्रान्तको पूर्वी समुद्र किनार नजिकै आएपछि हङकङ अब्जर्भेटरीले बिहीबार दिउँसो टाईफुन सिग्नल नं. ३ जारी गरेको छ ।

    “युतुले पर्ल रिभर डेल्टा नजिकै नआएसम्म, आँधीको नं. ८ सिग्नल जारी गर्ने सम्भावना धेरै छैन,” मौसम पूर्वानुमान शाखाका एक प्रवक्ताले बताए । युतु ग्वाङदोङको पूर्वी समुद्र किनारतर्फ अझै अघि बढ्ने उनले बताएका छन् ।

    टाईफुन युतु शहरबाट ८ सय किलोमिटरको दुरीमा आएपछि बुधबार बिहान टाईफुन सिग्नल नं. १ जारी गरिएको थियो । बिहीबार ९ बजे, युतु हङकङको दक्षिणपूर्वबाट करिब ४ सय किलोमिटर टाढा रहेको र करिब १२ किलोमिटर प्रति घण्टाको गतिमा साउथ चाईना सीको उत्तरपूर्वी भाग पार गर्दै उत्तर वा उत्तर-उत्तरपूर्व तर्फ अघि बढ्ने पूर्वानुमान गरिएको थियो ।

    शिक्षा ब्युरोले किन्डरगार्टेन, शारीरिक अपांगता भएका बालबालिकाहरुको विद्यालयहरु र बौद्धिक अपांगता भएका विद्यालयहरु बिहीबार बन्द गरिएको घोषणा गरेको छ ।

    “यद्यपि, यी विद्यालयहरुले आफ्नो प्राङ्गण खुला राख्नुपर्नेछ र विद्यालय आउने विद्यार्थीहरुको स्याहार गर्न वैकल्पिक उपायहरु अवलम्बन गर्नुपर्नेछ,” एक प्रवक्ताले भने । “विद्यार्थीहरु घर फर्किनु अघि परिस्थिती सुरक्षित भएको उनीहरुले सुनिश्चित गर्नुपर्दछ । आमाबाबु तथा अभिभावकहरुले आफ्नो बालबालिकालाई विद्यालयबाट तुरुन्तै लैजानु आवश्यक छैन ।”

    बिहीबारको दिन धेरै जसो बादल लाग्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान अनुसार बीच-बीचमा घाम लाग्दै शुरुमा एकदमै सुक्खा हुने र पछि एक-दुई पटक पानी पर्नेछ । दिउँसोको बढी हावा चल्नेछ । शुक्रबारको दिन बढी हावा चल्नेछ । सप्ताहन्त र आगामी साताको प्रारम्भमा घमाईलो हुने अपेक्षा गरिएको छ ।

  • कमेन्ट गर्नुहोस्