• हङकङेली राजनीतिका गडफादरको अवसान

  • ‘स्थानीय राजनीतिका गडफादर’ कहलिएका कार्यकारी परिषद्का पूर्व संयोजक चुङ स्जे-युएनको बुधबार बिहान १०१ वर्षको उमेरमा निधन भएको छ ।

    लामो समयदेखि चुङका शिष्य तथा १९८० को दशकमा शहरको व्यवस्थापिकाका वरिष्ठ सदस्य रहिसकेका एल्लेन ली पेङ-फेईले काउलुन सिटीस्थित सेन्ट टेरिसा हस्पिटलमा बिहान करिब २ बजे चुङको मृत्यु भएको जानकारी दिएका छन् ।

    “यो अकस्मात् भयो । हामीले खासमा हिजो बिहानको खाना सँगै खाने भनेका थियौं तर उनले मलाई आफु नसक्ने बताए,” लीले भने । “उनी हिजो अस्पताल भर्ना भए र शान्तिपूर्वक विदा भए ।”

    बेलायती उपनिवेशी सरकारका लागी व्यवस्थापिका र कार्यकारी परिषद् दुवैमा सेवा गरेका केहीमध्ये चुङ पनि एक थिए । उनी आफ्नो समयको हङकङमा जन्मिएका सबैभन्दा प्रभावशाली राजनीतिज्ञ बने । सन् १९७४ देखि १९७८ सम्म व्यवस्थापिका परिषद्को वरिष्ठ सदस्य रहेका चुङ सन् १९८० र १९८८ बीचमा कार्यकारी परिषद्का वरिष्ठ सदस्य पनि बनेका थिए ।

    सन् १९९० मा उनी हस्पिटल अथोरिटीका संस्थापक अध्यक्ष बने । अथोरिटीले शहरको सरकारी अस्पतालहरुको व्यवस्थापन गर्दछ । उनले सन् १९९५ सम्म अथोरिटीमा रहेर सेवा गरेका थिए । सन् १९९७ मा शहरलाई हस्तान्तरण गर्नेबारे बेलायत र चीनको वार्ता हुँदा हङकङेलीहरुको अधिकारको लडाईंको नेतृत्व उनले नै गरेका थिए । उनले लन्डन र बेईजिङ दुवै स्थानमा हङकङेलीहरुको प्रतिनिधित्व गरेका थिए ।

    हस्तान्तरणपछि, चुङलाई तुङ ची-ह्वा नेतृत्वको तत्कालीन कार्यकारी परिषद्को संयोजक नियुक्त गरियो । सन् १९९९ मा ल्योङ चुन-यिङले नेतृत्व सम्हाल्नु अघिसम्म उनले संयोजक पदमा सेवा गरे । सन् १९९९ मा चुङले हङकङको राजनीतिबाट सन्यास लिए । सन् २००१ मा एउटा संस्मरण प्रकाशित गरेपछि, स्थानीय राजनीतिबारे उनले विरलै टिप्पणी गरेका छन् ।

    “उनी जनसेवामा तल्लीन थिए । उनले ५० वर्षसम्म हङकङको सेवा गरे, र उनलाई कुनै पछुतो थिएन,” लीले भने ।

    पछिल्ला वर्षहरुमा उनलाई आन्द्रा र मुटु सम्बन्धी समस्या भएको लीले बताए ।

    “चुङ हिजो परिवारको साथमा थिए,” लीले भने,”उनले आफ्नो सम्पूर्ण जीवन हङकङको सेवामा समर्पित गरे । मलाई उनको कमी सधैं महशुस हुनेछ किनभने सार्वजनिक सेवाबारे उनले मलाई धेरै कुरा सिकाएका छन् ।”

  • कमेन्ट गर्नुहोस्