• १८ वर्षमुनिकालाई मदिरा खरिद गर्न निषेध

  • यो महिनाको अन्तिमदेखि लागु हुने नयाँ कानुन अनुसार हङकङेली युवालाई पसलबाट मदिरा गर्न निषेध गरिनेछ । यद्यपि, पारिवारिक समारोह वा सामाजिक कार्यक्रममा उनीहरुले मद्यपान गर्न सक्ने अधिकारीहरुले बताएका छन् ।

    नाबालकलाई मदिरा दिन वा बिक्री गर्नबाट शहरका बार र क्लबहरुलाई प्रतिबन्ध गरिए पनि, खुद्रा व्यवसायीलाई नियम लागु गरिएको थिएन । सेभेन-ईलेभेनजस्ता केही पसलहरुले स्वेच्छिक रुपले १८ वर्षमुनिकालाई मदिरा बिक्री गर्न छाडेका छन् ।

    डिपार्टमेन्ट अफ हेल्थले एउटा वक्तव्य जारी गर्दै टोबाको एन्ड अल्कोहल कन्ट्रोल अफिसले नोभेम्बर ३० देखि ड्युटिएबल कमजोडिटीज (संशोधित) विधेयक कार्यान्वयन गर्ने जनाएको छ । नयाँ कानुनले विशेष गरी १८ वर्षका जोकोहीलाई पनि मदिराजन्य पेय पदार्थको बिक्री तथा वितरण प्रतिबन्ध गरेको छ ।

    “नयाँ विधेयकले मदिरामाथि युवाको पहुँच रोक्ने लक्ष्य बोकेको छ,” कार्यालय प्रमुख डा. जेफ ली पुई-मानले भने,”हामी सबैलाई, विशेष गरी युवावर्गलाई, मदिरामुक्त स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्दछौं ।”

    पैसा लिएर होस् वा नलिई, लीले सबै प्रकारका मदिराको बिक्री र वितरण कानुनले निषेध गरेको बताए । यसमा मेला, सभासमारोह वा प्रदर्शनीमा व्यापारिक प्रयोजनका लागी बिक्री वा वितरण गरिने मदिराजन्य पेयपदार्थ पनि पर्दछ । तर कुनै व्यापारिक उद्देश्य नभएका पारिवारिक भेला वा सामाजिक कार्यक्रममा भने कानुन नलाग्ने उनले बताए ।

    पारिवारिक चिकित्सक डा. चेङ ची-मानले यो सही कदम भएको बताए ।

    “नीजि कार्यक्रम हुने भएकाले यस्ता परिस्थितीमा कानुन कार्यान्वयन गर्ने कठिनाईका कारण पारिवारिक भेला र सामाजिक कार्यक्रमहरुलाई छुट दिन सकिन्छ,” उनले भने ।

    के निषेधित र के होईन भन्ने निर्णय गर्नु कानुनको यो कमी हुनसक्ने भए पनि यसको प्रभावकारिता मुल्याङ्कन गर्नु अघि केही समय पर्खिनु उचित हुने चेङले बताए ।

    नयाँ कानुनको उल्लंघन गर्नेलाई अधिकतम ५० हजार हङकङ डलर जरिवाना हुनेछ । मदिरा बिक्री गर्ने पसलहरुले चीनियाँ र अंग्रेजी दुवै भाषामा कानुनबारे जानकारी दिने सूचना सबैले देख्ने स्थानमा राख्नुपर्नेछ । यसको पालन नगर्नेलाई अधिकतम २५ हजार हङकङ डलर जरिवाना हुनेछ ।

  • कमेन्ट गर्नुहोस्