• सेक्स डल वेश्यालय र विवाद

  • एउटा औद्योगिक भवनको पाँचौं तलाको मधुरो प्रकाश छरिएका कोठाहरूमा, अर्धनग्न महिलारूपी प्लास्टिकका डल वा खेलौनाहरू एक घण्टाको एकान्तका लागि ५ सय हङकङ डलर बुझाउने ग्राहकको प्रतिक्षामा बसेका छन् ।

    कण्डम जति पनि छ । क्वुन तोङस्थित उक्त व्यवसायमा राखिएका ती खेलौनाहरू ग्राहकको प्रत्येक चाहना पूरा गर्न तयार छन् – यद्यपि यो प्रकृयामा प्लास्टिकका सेक्स डलले निष्क्रिय भूमिका खेल्नेछन् ।

    यो २१औं शताब्दीको हङकङको सेक्स र शपिङ हो जसले वेश्यालय र खरिद गर्नु अघि परिक्षण गर्ने खुद्रा व्यवसायको रेखा वास्तवमै धमिलो बनाएको छ ।

    हङकङमा यौन कार्य सम्बन्धी कानुन हुनुले देह व्यापार गैरकानुनी होईन भन्ने बुझाउँछ तर यसका लागि कसैलाई उक्साउनु गैरकानुनी हो । त्यसै गरी दुई वा सोभन्दा धेरै मानिस भएको वेश्यालय सञ्चालन गर्नु, देह व्यापारबाट जीविका चलाउनु, वा देह व्यापारको प्रयोजनका लागि कुनै महिलालाई नियन्त्रणमा राख्नु पनि गैरकानुनी हो ।

    क्वुन तोङको उक्त व्यवसायलाई दिस मेरी नामांकरण गरीवयस्क मनोरञ्जन पसल सञ्चालन गरिएको छ । तीनमध्ये एउटा डलसँग खेल्नलाई घण्टाको हिसाबले शुल्क लिनु बजार प्रवर्द्धनको रणनीति हो । यसले ग्राहकहरूलाई मानव-आकारको सिलिकन सेक्स डल खरिद गर्न प्रोत्साहन गर्नेछ । यस्ता डलहरूको मुल्य १८ देखि ३० हजार हजार हङकङ डलरसम्म पर्छ ।

    आफूलाई रेक्स बताउने एक स्थानीय व्यवसायमा नयाँ आएका हुन् । सेल्स्मेनको रूपमा एक वर्ष काम गरेपछि उनले व्यवसाय शुरू गरेका हुन् । यी ३० वर्षे युवाले यो वर्ष दुई वटा “एडल्ट फेयर वा वयस्क मेला” हेरेर ३ लाख हङकङ डलर लगानीमा दुई महिना अघि व्यवसाय थालनी गरेका छन् ।

    रेक्सले मुलभूमी चीनको एक डिलरबाट सेक्स डल खरिद गरेका हुन् । उक्त कम्पनी जापान र अमेरिकापछि सेक्स डलको सबैभन्दा ठूलो निर्माता हो । तर व्यवसाय उनले सोचेजति राम्रो चलेको छैन । मासिक ४० हजार हङकङ डलर खर्च हुने पसलले उनलाई केही चिन्तित बनाएको छ ।

    “अघिल्लो महिना केही राम्रो रह्यो,” उनले भने । “बजार प्रवर्द्धन नगरेकोले पहिलो महिनाको व्यापार शुन्य रह्यो किनभने मैले वयस्क सेवाका लागि एउटै माध्यम भेटिनँ ।”

    चिन्ताका अन्य विषय पनि छन् । व्यवसायलाई सेक्स डल वेश्यालयको रुपमा हेरिने सम्भावना भएकोले केही कानुनी अड्चन आउन सक्छ । अनि स्वास्थ्यको सवाल पनि छ ।

    रेक्सले यसबारे ध्यान दिएको बताए । ग्राहकहरूले कण्डम प्रयोग गर्नुपर्नेछ र ग्राहकसँगको प्रत्येक ‘सम्पर्क’ पछि डललाई ‘डिस्ईन्फेक्टेन्ट’ मा आधा घण्टाजति भिजाईनेछ ।

    प्रहरीले यस विषयमा अनुसन्धान भईरहेको बताएको छ भने ब्यारिस्टर अल्बर्ट लुक वाई-हुङले व्यवसायले कानुनको उल्लंघन नगरे पनि होटेल एन्ड गेस्टहाउस अकोमोडेसन अर्डिनेन्स उल्लंघन हुनसक्ने बताए । उक्त विधेयक अनुसार २८ दिनभन्दा कम समयका लागि आवास सेवा उपलब्ध गराउने व्यवसायले अनुमतिप्राप्त गर्नुपर्ने व्यवस्था छ ।

    रेक्सले भने आफ्नो व्यवसाय एउटा शोरुम वा पार्टी आयोजना गर्ने स्थलजस्तै भएको बताए । यद्यपि, अन्तरंग सम्बन्ध सम्बन्धी समस्या भएकाहरूलाई सेवा दिने गरेको पनि उनले बताए ।

    “म उनीहरूको मानसिक आवश्यकता पूरा गर्न सहयोग गर्दैछु,” उनले भने । “केही पुरुष लामो समयदेखि एक्लै बसेका छन् र महिलासँग सम्पर्क राख्ने धेरै अवसर पनि छैन ।”

    “कसैलाई मानिसहरूसँग कुरा गर्ने चाहना हुनसक्छ, तर उनीहरूको सामाजिक सीप राम्रो नहुन सक्छ, त्यसैले उनीहरू डलसँग कुरा गर्छन् । यो सेक्सभन्दा ठूलो कुरा हो ।”

    पारिवारिक चिकित्सक तथा सेक्स थेरापिस्ट डा. एञ्जेला ङ विङ-यिङले मानिसहरूको अन्य व्यक्तिसँग यौनाकर्षण भएसम्म सेक्स डलको प्रयोग समस्या नमान्ने बताईन् ।

    चाईनिज युनिभर्सिटीको जेन्डर स्टडिज प्रोग्रामका एक शिक्षक जोसेफ चो मान-कितले यो व्यवसाय व्यक्तिवादी उपभोक्ता सँस्कृति र पुँजीवादको उपज भएको बताए ।

    “सेक्स डलले धेरै प्रयोजन र विभिन्न मानिसहरूको माग र चाहना पूरा गरिरहेका छन्,” उनले भने ।

    सिलिकनका सेक्स डल र नयाँ-नयाँ रोबोटिक मोडेल एशियाका लागि नौलो नभए पनि, सञ्चालकहरूले यो व्यवसायलाई पश्चिम गोलार्द्धमा पुर्‍याएपछि यसले युरोप र अमेरिकामा ठूलै हंगामा मच्चियो ।

    युरोपमा यस्तो प्रकारको वेश्यालय पहिलो पटक बार्सिलोनामा गत वर्ष फेब्रुअरीमा खोलियो । तर घरबेटीले कम्पनीसँग गरेको सम्झौता रद्द गरेपछि उक्त वेश्यालय ग्राहकहरूलाई मात्रै थाहा भएको अज्ञात स्थानमा सारिएको छ । यस्तै व्यवसाय बेलायतको उत्तरपूर्वमा पनि खोलिएको थियो जहाँ मानिसहरूले सय पाउन्ड शुल्क तिरेर एउटा प्लास्टिकको साथीसँग एउटा कोठामा एक घण्टा बिताउन सक्थे । तर छिमेकीहरूको गुनासोका कारण व्यवसाय बन्द गर्नुपर्‍यो ।

    फ्रान्सको पहिलो सेक्स डल वेश्यालय पेरिसमा खोलिएको थियो । उक्त वेश्यालयमा तीन वटा कोठा छन् । ग्राहकले ८९ युरो शुल्क बुझाएर सिलिकनको सेक्स डलसँग एक घण्टा बिताउन सक्छन् । तर व्यवसायले बलात्कार प्रोत्साहन गरेको भनी चर्को आलोचना भयो । व्यवसाय बन्द गर्नुपर्ने माग गर्दै शहरको शासकिय परिषदमा प्रस्ताव पेश गरियो । उक्त वेश्यालय अझै सञ्चालनमा छ ।

    अमेरिकाको ह्युस्टन, टेक्ससमा पहिलो शाखा विस्तार गर्ने क्यानडाको एउटा सेक्स डल कम्पनीको प्रयास असफल भएको छ । यससँगै कम्पनीको विस्तार योजनामाथि गत महिना प्रतिबन्ध लगाईएको छ । कम्पनीहरूलाई “एन्थ्रोपोमोर्फिक उपकरण” भाडामा लगाउनबाट निषेध गर्ने एउटा विधेयक ह्युस्टनको सिटी काउन्सिलमा सर्वसम्मत पारित भएको छ । तर  स्थानीयहरूको नीजि प्रयोगका लागि यस्ता उपकरणको खरिदमा कुनै रोक लगाईएको छैन ।

    सेक्स डल निर्माण निकै नाफामूलक र आकर्षक रहेको चीनमा भने सेक्स डल वेश्यालय खोलिएको कुनै समाचार आएका छैनन् ।

    अघिल्लो वर्ष सेप्टेम्बरमा, सेक्स डल बाँडीचुँडी प्रयोग गर्ने सेवा वा “गर्लफ्रेन्ड शेयरिङ” बेईजिङमा शुरु गरिएको थियो । यस्ता उत्पादनको खुद्रा बिक्रेता टचले उक्त सेवालाई समग्र देशमा विस्तार गर्ने योजना बनाएको थियो । प्रयोगकर्ताहरूले डिपोजिट वापत ८ हजार युआन जम्मा गरेपछि दैनिक २ सय ९८ युआनमा अल्पकालीन संसर्गका लागि सेक्स डल भाडामा लिन सकिने भन्दै बजार प्रवर्द्धन पनि गरिएको थियो ।

    योजनाले चर्को बहस निम्त्याएको थियो भने सेवा शुरू गरिएको चार दिनमै स्थानीय निकायले सेवामा रोक लगाएका थिए ।

  • कमेन्ट गर्नुहोस्