• फेरी अर्को स्कूल बस ठोक्कियो, प्राथमिक विद्यालयका सात सहित नौ जना घाईते

  • काउलुन ईस्टस्थित क्वुन तोङ बाईपासमा मंगलबार बिहान कंक्रिटको डिभाईडरमा एउटा स्कूल बस ठोक्किदाँ प्राथमिक विद्यालयका सात विद्यार्थी सहित नौ जना घाईते भएका छन् । प्रहरीले घटनाबारे मंगलबार बिहान करिब पौने आठ बजे जानकारी पाएको थियो ।

    “एक जना पुरूष चालक, एक जना महिला सुसारे र सात विद्यार्थीसहित नौ जना घाईते भएका छन्,” एक प्रहरी प्रवक्ताले भने । “सबै जना होशमा छन् ।”

    बसमा कति जना विद्यार्थी थिए भन्ने तत्काल स्पष्ट भएन । सो बस काई चिङ ईस्टेटबाहिर राजमार्ग हुँदै शा तिनतर्फ गईरहेको थियो । बिहान पौने नौ बजेसम्म घटनास्थल खुला गरिएको थिएन । सडकको अधिकांश खण्ड बन्द गरिएका थिए । सवारी साधनको लामो लाम करिब ५ किलोमीटर टाढा लगुना सिटीसम्म पुगेको  थियो । बाईपासलाई प्रिन्स एडवार्ड रोड ईस्टसँग जोड्ने सहायक मार्गमा पनि अवरोध पुगेको थियो । सडक खण्ड बिहान ९ बजेतिर खुले पनि त्यस क्षेत्रको ट्राफिक अत्यधिक बढेको थियो । लाम तिन र काउलुन ईस्टको काउलुन बे जोड्ने क्वुन तोङ बाईपास ५.२ किलोमीटर लामो ढलान भएको मोटरवे हो । यसको प्रत्येक दिशामा तीन लेन छ भने अधिकतम गति ७० देखि ८० किलोमीटर प्रति घण्टा छ ।

    २४ घण्टाभित्र स्कूल बस संलग्न यो दोश्रो दुर्घटना हो । सोमबार दिउँसो १९ सीट क्षमताको एउटा स्कूल बस नर्थ प्वाईन्टस्थित च्योङ होङ स्ट्रिटको एउटा ओरालोमा अकस्मात गुड्किएर हेई वो स्ट्रिटको एउटा भवनमा ठोक्किएको थियो । उक्त घटनामा परी चार जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।

    कार्यकारी प्रमुख क्यारी लाम चेङ युएत-ङोरले सोमबारको दुर्घटनामा परी ज्यान गुमाएकाहरू परिवारलाई मंगलबार बिहान समवेदना व्यक्त गरेकी छिन् । लामले घाईते ११ जनाको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । तीन जनाको अवस्थामा चिन्ताजनक छ भने एक जनाको अवस्था गम्भिर बताईएको छ ।

    नोभेम्बरको अन्त्यसम्म हङकङका सडकमा ९९ वटा प्राणघातक दुर्घटनाहरू भएका छन् । सन् २०१७ को सोही अवधिको तुलनामा यो वर्ष सडक दुर्घटना वृद्धि भएको छ ।  ट्रान्सपोर्ट डिपार्टमेन्टलाई उद्धृत गर्दै अघिल्लो वर्ष जम्मा ९० वटा सांघातिक सडक दुर्घटना भएको लामले बताईन् । दुवै वर्ष झण्डै उस्तै अर्थात् करिब १४ हजार दुर्घटना भएका छन् ।

    सन् २०१८ मा सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरूको संख्या १ सय १८ पुगेको छ । अघिल्लो वर्ष यो संख्या ९४ थियो । यसरी हेर्दा सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरूको संख्यामा २५ प्रतिशत वृद्धि भएको छ ।

    “एउटा मात्रै गम्भिर सडक दुर्घटना हुनु पनि धेरै हो, ” लामले भनिन् ।

    सवारी चलाउँदा आफ्नो “महत्वपूर्ण जिम्मेवारी” बारे विचार गर्न लामले सबै सवारी चालकलाई आग्रह गरेकी छिन् । सडकको डिजाईन र मर्मतसम्भारमा सुधार ल्याउन अधिकारीहरूले तिव्रता दिने तथा सडक सुरक्षा सम्बन्धि सचेतना अभियान पनि वृद्धि गरिने लामले बताएकी छिन् ।

  • कमेन्ट गर्नुहोस्