• आकाशबाट नोट बर्सिदाँ शाम शुई पोमा हंगामा

  • हङकङकै गरिब क्षेत्रमध्ये एक शाम शुई पोमा शनिबार दिउँसो चलचित्रको दृश्यजस्तै घटना भयो । आकाशबाट नोटको बर्षा भयो । वरपर उभिईरहेका मानिसहरुबीच हंगामा मच्चियो ।

    एक प्रहरी प्रवक्ताले कसैले फुक वा स्ट्रिट, शाम शुई पोमा पैसा वितरण गरिरहेको खबर पाएको र घटनास्थलतर्फ प्रहरी खटाईएको बताईन् । गोल्डेन कम्प्युटर आर्केड नजिकै पोस्टका पत्रकारले एक सय हङकङ डलरका केही नोटहरू देखेका  थिए । प्रहरीले कसैलाई पनि पैसा नउठाउन अनुरोध गरेको थियो । घटनास्थलबाट करिब ५ हजार हङकङ डलर संकलन गरिएको तर कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले पछि जनाएको छ ।

    फेसबुकमा देखिएको एउटा भिडियोमा कालो “हुडी” लगाएका एक पुरूषले यस्तो घोषणा गरिरहेको देखिन्थ्यो – “आज डिसेम्बर १५ एफसीसीका लागि ट्रेडिङ रेस घोषणा गर्ने ठूलो दिन हो । यो महत्वपूर्ण कार्यक्रमलाई यहाँ सबैले ध्यान दिनेछन् भन्ने मैले आशा गरेको छु…तपाईंमध्ये कसैलाई आकाशबाट पैसा खस्नसक्छ भन्ने विश्वास छ कि छैन त्यो त मलाई थाहा छैन ।”

    भाषणपछि, क्यामेरा दाहिनेतर्फ घुम्दा एउटा भवनको छतबाट पैसा फ्याँकिएको दृश्य देखियो । घटनामा संलग्न पुरूषको खोजी भईरहेको प्रहरी श्रोतले जनाएको छ । ती पुरूष क्रिप्टोकरेन्सीको प्रवर्द्धन गर्ने फेसबुक पेज ईपोक क्रिप्टोकरेन्सीका सञ्चालक भएको विश्वास गरिएको छ । उनी अनलाईन जगतमा “कोईन योङ मास्टर” भनेर लोकप्रिय छन् । उनको वास्तविक नाम वोङ चिङ–कित हो ।

    घटनाको केही बेरमा पोस्ट गरिएको एउटा फेसबुक भिडियोमा, वोङले “गरिबलाई सहयोग गर्न आफुले धनीलाई लुटिरहेको” दाबी गरेका छन् । यसो गर्नुको कारण सोध्दा, वोङले केही बेर सोंचेर भने : “मलाई दोष नदिनुहोस्, आकाशबाट किन पैसा खस्छ भन्नेबारे मलाई पनि थाहा छैन ।”

    भिडियो हेरिरहेका दर्शकहरूलाई उनले यो “अनौठो घटना” शहरमा फेरी कहाँ भएको देख्न चाहन्छन् भनी सोधेका छन् । यी युवाले क्रिप्टोकरेन्सी सिर्जना गर्न आफुले प्रयोग गरेको २७ हजार ५ सय हङकङ डलर मुल्यको एउटा कम्प्युटर लगायत विभिन्न बहानामा सञ्चार माध्यमहरूलाई अन्तर्वार्ता दिएका छन् । कम्पनीको खोजी प्रतिवेदनमा कोईन्स ग्रुप नामक कम्पनीको स्वामित्व वोङसँग भएको देखिएको छ । कम्पनीलाई सन् २०१७ मा ओस्कार होल्डिङ  ग्रुप भनिन्थ्यो तर यो वर्षको जुलाई ३ देखि कम्पनीको नाम फेरिएको छ ।

    ब्यारिस्टर अल्बर्ट लुक वाई–हुङलाई “कोईन योङ मास्टर” ले सार्वजनिक स्थलमा उपद्रव गरेर सार्वजनिक सुव्यवस्था विधेयकको उल्लंघन गरेजस्तो लागेको बताएका छन् ।

    “उनले यो घटनाको प्रवर्द्धन कसरी गरे ? यसो गर्नलाई उनी अशान्ति सिर्जना गर्न थाहन्थे,” उनले भने । यस्तो कार्यमा दोषी सिद्ध भए ५ हजार हङकङ डलरसम्मको जरिवाना र १२ महिना जेलसजाय हुनसक्ने उनले बताए । सामान्यतया बटुवाले हराएको पैसा भेट्दा प्रहरीलाई सूचीत नगर्नु पनि कानुनको उल्लंघन भएको लुक बताउँछन् । तर यो घटनामा “कोईन योङ मास्टर” ले पैसा वितरण गर्ने नियत राखेकाले, पैसा संकलन गर्नेहरूले खराब नियत नराखेको उनले बताए । कानुनसँग असमझदारी हटाउन, मानिसहरूले त्यसरी खसेका नोटहरूलाई बेवास्ता गर्नुपर्ने वा प्रहरीलाई जिम्मा लगाउनुपर्ने लुकले सुझाव दिएका छन् ।

    डीएबीका विधायक भिन्सेन्ट चेङ विङ–शुनले प्रहरीलाई घटनाको अनुसन्धान गर्न आग्रह गरेका छन् । उनी शाम शुई पोका डिस्ट्रिक्ट काउन्सिलर पनि हुन् । उनले पैसाको श्रोतबारे चिन्ता व्यक्त गरेका छन् । सप्ताहन्तमा व्यस्त हुने क्षेत्रहरूमा यस्तो घटना भएको बताउँदै ध्यानाकर्षण गराउने यस्तो तरिकासँग आफू सहमत नभएको उनले बताएका छन् ।

    अर्का डीएबी विधायक एन चियाङ लाई–वानले पनि त्यसरी वितरण गरिएका पैसा वैधानिक माध्यमबाट प्राप्त गरे–नगरेको अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेकी छिन् । त्यसरी संकलन गरिएका पैसा प्रयोग गरे कानुनको उल्लंघन हुने–नहुनेबारे सर्वसाधारणलाई प्रष्ट पार्न उनले अनुरोध गरेकी छिन् ।

  • कमेन्ट गर्नुहोस्