• आकाशबाट बर्सिएको पैसाको घटनामा एक पुरूष गिरफ्तार

  • शाम शुई पोमा शनिबार पैसा बर्सिएको घटनामा संलग्न रहेको आशंकामा आईतबार एक पुरूषलाई गिरफ्तार गरिएको छ । शहरकै गरिब डिस्ट्रिक्टमध्ये एक शाम शुई पोको एउटा भवनबाट कम्तिमा ६ हजार हङकङ डलर बराबरका नोटहरू बर्साईएको थियो ।

    घटनामा संलग्न रहेको आशंकामा प्रहरीले शाम शुई पोबाटै अपरान्ह ४ बजे वोङ चिङ-कितलाई हिरासतमा लिएको हो । उनी यस्तै अर्को तमाशा गराउने तयारीमा एउटा महँगो कारबाट ओर्लिदैं गर्दा पक्राउ परेका हुन् ।

    सामाजिक सञ्जालमा शनिबार निकै चर्चा बटुलेको एउटा भिडियोमा एक सय हङकङ डलरका बिटा घरबाट खसिरहेको र पैसा समात्न मानिसहरु तँछाडमछाड गरिरहेका थिए । शनिबारको घटनापछि एउटा महँगो कारबाट ओर्लिरहेका व्यक्तिले वरपरका मानिसहरूलाई आकाशबाट पैसा खस्छ भन्नेमा कति विश्वास लाग्छ भनी सोधेको बताईन्छ । यो तमाशा ती व्यक्तिले प्रवर्द्धन गरिरहेको क्रिप्टोकरेन्सीसँग सम्बन्धित रहेको विश्वास गरिएको छ ।

    २४ वर्षिय वोङले फेसबुक मार्फत् प्रहरी अधिकारीहरूले प्रहरी भ्यानभित्र हिरासतमा लिएको प्रत्यक्ष प्रसारण गरेका थिए ।

    “वोङ चिङ-कित तपाईंलाई गिरफ्तार गरिन्छ,” उक्त भिडियोमा एक प्रहरीले भनेको सुनिन्छ । पक्राउ पर्नुको कारण भने ती अधिकारीले खुलाएका छैनन् । समाचारका दृश्यहरूमा पैसाको बिटा बोकेका वोङ प्रहरी हिरासतमा भएको देखिन्छ ।

    वोङले शाम शुई पोको एउटा रेस्टुरेन्ट बाहिर अपरान्ह ४ बजे आईतबर खानाको कुपन बाँड्ने शनिबार घोषण गरेका थिए तर त्यसो गर्नु अघि नै उनी पक्राउ परे । फेसबुकको प्रत्यक्ष भिडियो अनुसार उनलाई शाम शुई पोस्थित प्रहरी कार्यालय लगिएको छ ।

    “क्रिमिनल ईन्भेस्टिगेसन डिपार्टमेन्टले मलाई गिरफ्तार गरेको छ,” वोङले मुस्कुराउँदै क्यामेरालाई भने ।

    एक जना अधिकारीले प्रहरीको कारवाहीमा बाधा पुर्‍याएकोमा थप सजाय हुनसक्ने बताएपछि उनले दृश्य छायाँङ्कन गर्न बन्द गरे ।

    आईतबार साँझ चिफ ईन्सपेक्टर केभिन चोङ किउ-वाईले सार्वजनिक स्थलमा उच्छृंखल गतिविधि गरेकोले वोङलाई गिरफ्तार गरिएको बताए । शनिबारको पैसा बर्सिने तमाशापछि वोङको हात हुनसक्ने प्रहरीको विश्वास रहेको चोङले बताए । उनले थप व्यक्ति पनि हिरासतमा लिन सकिने बताएका छन् ।

    “यो घटनामा एकभन्दा धेरै व्यक्तिको संलग्नता हुनसक्छ,” चोङले भने । शनिबार कति पैसा छरियो भन्नेबारे प्रहरीलाई यकिन थाहा नभएको पनि उनले बताए ।

    “हामीसँग यकिन संख्या त छैन तर प्रहरीले एक सय हङकङ डलरका करिब ६० वटा नोट जफत गरेको छ,” चोङले भने ।

    त्यसरी छरिएका पैसा उठाउने व्यक्तिले कानुन उल्लंघन गरेको ठहर्छ कि भन्ने जिज्ञासामा चोङले भने,“उनीहरूले कानुन उल्लंघन गरे वा गरेनन् त्यो त म भन्न सक्दिनँ । यो लामो प्रहरी अनुसन्धानको विषय हो ।” भेटिएका सम्पत्तिलाई सर्वसाधारणले प्रहरीको जिम्मा लगाउनुपर्ने नभए कानुनको उल्लंघन गरेको जोखिम मोल्नुपर्ने उनले बताए ।

    कम्पनीहरूको अभिलेखको अनुसन्धान गर्दा कोईन्स ग्रुप नामक कम्पनी वोङको स्वामित्वमा छ । क्रिप्टोकरेन्सीमा लगानी प्रवर्द्धन गर्ने एउटा फेसबुक पेजमा पनि उनको संलग्नता छ ।

    शनिबार आकाशबाट खसेको पैसा धेरैले समाए पनि प्रहरीले उनीहरूलाई पैसा हस्तान्तरण गर्न भनेको थियो । प्रहरीका एक श्रोतले ती नोटहरू सक्कलीजस्तै देखिएको बताएका छन् ।

  • कमेन्ट गर्नुहोस्