• को हुन् ‘कोईन योङ मास्टर’ ?

    कोईन योङ मास्टर नामले परिचित वोङ चिङ-कित शाम शुई पोमा
  • एउटा महँगो कार, विलासी बंगला र अरूलाई देखाउने नगद – क्रिप्टोकरेन्सीका युवा प्रवर्द्धकले शनिबार हङकङेलीमाझ बलियो छाप छोडे । शहरको सबैभन्दा गरिब डिस्ट्रिक्टमध्ये एक शाम शुई पोको एउटा भवनबाट कम्तिमा पनि ६ हजार हङकङ डलर नगद बर्षा गराएकोमा घटनामा उनको संलग्नता भएको शंका गरिएको छ ।

    घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका वोङ चिङ–कितलाई दोश्रो पटक पनि सोही क्षेत्रमा उपस्थित भएपछि आईतबार गिरफ्तार गरिएको थियो । आकाशबाट वर्षिएका नगद संकलन गर्न मानिसहरूबीच हंगामा मच्चिएको थियो ।

    मंगलबार धरौटीमामा रिहा भएपछि घटनाले नाटकिय मोड लियो । गरिबलाई खाना ख्वाउनका लागि वोङले शाम शुई पोको एउटा रेस्टुरेन्टलाई ९२ हजार हङकङ डलर अनुदान दिएका छन् । यसले वोङबारे उत्सुकता त जागेको छ तर उनले प्रहरीसँग अलि बढी नै बठ्याईं गरेकी भन्ने प्रश्न पनि उठेको छ ।

    पैसाको वर्षा हुँदा घटनास्थलमा उपस्थित दर्शक

    को हुन् “कोईन योङ मास्टर” ?

    २४ वर्षिय वोङ अनलाईन जगतमा “कोईन योङ मास्टर” भनेर परिचित छन् । न्यु टेरिटोरिजको साई कुङस्थित उनको बंगलामा यो नाम गर्वका साथ राखिएको छ । महँगा कारहरूको संग्रहले उनको छविलाई भड्किलो बनाएको छ । माजराटी र मर्सिडिज–बेञ्ज लगायतका महँगा कारहरू उनको विलासी घरअगाडी पार्क गरिएका हुन्छन् ।

    यो वर्षको प्रारम्भदेखि, क्रिप्टोकरेन्सीमा लगानी प्रवर्द्धन गर्न वोङले एउटा फेसबुक पेज र “फाईल क्यास कोईन” लगायत विभिन्न अनलाईन समूहहरू सञ्चालन गरिरहेका छन् । यसलाई उनले सह–स्थापना गरेको दाबी गरेका छन् । जुन विलासी कार चढेर उनी शनिबार शाम शुई पो पुगेका थिए, त्यस्मा पनि यो नाम कुँदिएको छ । उनले पोस्ट गरेको एउटा प्रवर्द्धनात्मक भिडियोमा पनि उनले यो नाम उल्लेख गरेका छन् ।

    धेरै घटनाहरू क्रिप्टोकरेन्सी प्रवर्द्धन गर्न गरिए पनि, फाईल क्यास कोईनको मुल्य आईतबार ४.७४ अमेरिकी डलरमा झरेको छ । यस अघिको मुल्य १४.६९ अमेरिकी डलर थियो । अभिलेखहरूको अध्ययन गर्दा वोङलाई कोईन्स ग्रुपको निर्देशक तथा मालिक भनी सूचीकृत गरिएको छ जसको कार्यालय चुन वानमा छ ।

    शाम शुई पोस्थित फुक वा स्ट्रिटको एउटा भवनबाट बर्षिरहेको पैसा

    हङकङ ईन्फोर्मेसन टेक्नोलोजी फेडेरेसनका अध्यक्ष फ्रान्सिस फोङ पो–किउले फाईल क्यास कोईनको कारोबार नियमन नगरिएको चेतावनी दिएका छन् । उनका अनुसार शेयर कारोबारजस्तै सो कम्पनीले प्रारम्भिक कोईन निष्कासन नगरी सर्वसाधारणबाट कहिले पनि लगानी संकलन नगरेको बताए ।

    “यो चरण पूरा नगरेर, उनीहरूले मनिटरी अथोरिटी अन्तर्गतको नियमनबाट उम्कन खोजेको हुनसक्छ,” फोङले भने ।

    हाल्डानिस नामक कानुनी परामर्श कम्पनीका अनुभवी अपराधी प्रतिवादी वकिल एन्ड्रयु पोनरले क्रिप्टोकरेन्सी नियमन नगरिएको तर आपराधिक गतिविधीसँग जोडिए पनि हालका लागि हङकङमा एकदमै वैधानिक रहेको बताए ।

    केहीले दाबी गरेजस्तै उनको क्रिप्टोकरेन्सी व्यवसाय कुनै धोका हो कि भनेर सञ्चारकर्मीहरूले मंगलबार गरेको प्रश्नले वोङले भने : “म सबै आरोपहरू अस्वीकार गर्दछु । यदि कसैलाई ठगीको शिकार भएजस्तो लाग्छ भने उसले प्रहरीलाई उजुरी गर्नुपर्छ ।”

    “कोईन योङ मास्टर” भनेर लोकप्रिय हुनु अघि, वोङले पौडी प्रशिक्षकका रूपममा काम गरेका थिए । उनको जन्मको नाम क्वान च–कित हो । सन् २०१२ मा उनलाई चोरी गरेको अपराधमा १ सय ६० घण्टाको सामुदायिक सेवा गर्ने आदेश दिईएको थियो । त्यसपछि उनले आफ्नो नाम परिवर्तन गरेका हुन् ।

    पैसा बर्साउने घटनामा वोङको संलग्नता छ ?

    शनिबार पैसाको वर्षा हुनु केही क्षणअघि, वोङलाई एउटा महँगो कारबाट बाहिरिदैं गरेको र सो क्षेत्रमा छोटो भाषण गर्दै गरेको देखिएको थिए ।

    “आकाशबाट पैसा बर्षिन्छ भन्ने विश्वास गर्नुहुन्छ ?,” उनले अनलाईन पोस्ट गरेको भिडियोमा शाम शुई पोमा मानिसहरूलाई सोधेका थिए । तर घटनापछि, पैसा बर्षाउने आफु नभएको बताउँदै घटना कुनै संलग्नता नरहेको बताएका थिए । त्यसपछि वोङले आईतबार अपरान्ह ४ बजे एउटा रेस्टुरेन्टबाहिर खानाको कुपन वितरण गर्ने घोषणा गरे तर उनी उपस्थित हुने बित्तिकै प्रहरीले हिरासतमा लियो । प्रहरीले शनिबारको घटनामा वोङको हात हुनसक्ने शंका गरेको छ भने थप व्यक्तिहरू पक्राउ पर्न सक्ने पनि बताएको छ ।

    वोङ चिङ-कितको कार

    वोङलाई किन पक्राउ गरियो ?

    प्रहरीले वोङलाई सार्वजनिक स्थलमा उच्छृंखल व्यवहार गरेकोमा पक्राउ गरेको हो । दोषी प्रमाणित भए जरिवानावापत अधिकतम ५ हजार हङकङ डलर र १२ महिनाको जेलसजाय हुनसक्छ ।

    अनुभावी अपराधी ब्यारिस्टर ओस्मोन्ड लामले घटनास्थल र अनलाईन दुवैमा वोङको “हाई–प्रोफाईल” प्रवर्द्धनले घटनामा उनको संलग्नता रहेको र सार्वजनिक व्यवस्थामा खलल पुग्नेतर्फ ईंगित गर्दछ ।

    “उनले गोप्य रूपममा पैसा वितरण गरेको भए, कसलाई के मतलब ?,” लामले भने,“उनले यो सबै कार्य सम्भवत: सञ्चार माध्यमको ध्यानाकर्षण गराउनलाई सार्वजनिक रूपमा गरे ।”

    प्रहरीले वोङको चुन वानस्थति कार्यालयमा सोमबार छापा मारेको छ भने क्रिप्टोकरेन्सी सम्बन्धि अन्य सम्भावित अपराधका लागि उनीमाथि थप अनुसन्धान हनुसक्ने लामले बताए ।

    घटनास्थलमा उभिएका मानिसहरूले पैसा उठाएर कानुनको उल्लंघन गरे ?

    केही विधायकहरूले पैसा उठाउनेहरूले चोरी गरेको जोखिम उठाएको बताए पनि लाम सहमत छैनन् । उनले भने,“यदि कुनै ढुवानी गर्ने सवारी साधनबाट पैसा खसेको भए, त्यो पैसा बैंकको हुने थियो । तर यहाँ नगद भवनबाट फ्याँकिएको छ, उपहार जसरी ।”

    सय हङकङ डलरको नोट उठाउँदै एक स्थानीय

    घटनास्थलमा उपस्थित अन्य व्यक्तिहरूलाई दोषी ठहराउने नमिल्ने विचारसँग सहमत वकिल ड्यानियल वोङ क्वोक-तुङले “सावधानी” स्वरूप प्रहरीले मानिसहरूलाई पैसा उठाउनबाट रोकेको हुनसक्ने बताए । पैसाका मालिकले त्यसरी वितरण गर्न नचाहेको सम्भावना पनि रहेको उनले बताए । “यस्तो भएको खण्डमा पनि त्यो पैसा उनकै रहने देखिन्छ ।”

    घटनास्थलबाट करिब ६ हजार हङकङ डलर संकलन भएको प्रहरीले जनाएको छ ।

    के यस्ता अन्य घटनाहरू पनि भए ?

    सन् २०१४ को क्रिसमस ईभमा बैंक अफ चाईनाले भाडामा लिएको एउटा ढुवानी भ्यानबाट सडकमा पैसा छरिंदा सवारी चालक तथा बटुवाहरूबीच हंगामा मच्चिएको थियो । पैसा संकलन गरेका तीन व्यक्तिलाई सन् २०१५  चोरी गरेकोमा दोषी करार गरिएको थियो । तीमध्ये ८ हजार हङकङ डलर संकलन गरेकोमा एक महिने जेलसजाय सुनाईएका एकलाई १८ महिनासम्म निलम्बन गरिएको थियो । १ लाख ६१ हजार ५ सय हङकङ डलर लिएर भागेका अर्को व्यक्तिलाई ५ महिनाको जेलसजाय सुनाईएको थियो । ५ लाख हङकङ डलर हात पारेका तेश्रो व्यक्तिलाई दुई साताको जेल सजायपछि सजाय घटाएर २ सय ४० घण्टाको सामुदायिक सेवाको निर्देशन दिईएको थियो ।

    गरिबहरूलाई खाना ख्वाउने रेस्टुरेन्ट व्यवसायीलाई अनुदान सहयोग गर्दै वोङ चिङ-कित

    अब वोङलाई के हुन्छ ?

    वोङ हाल धरौटीमा रिहा भएका छन् र नियमति रूपमा प्रहरीकहाँ उपस्थित हुनुपर्नेछ । बुधबारसम्म उनलाई कुनै अभियोग लगाईएको छैन । यसबीच, प्रहरी श्रोतले घटनाको अनुसन्धान गरिररहेको र कानुनी परामर्श लिईरहेको जनाएको छ ।

  • कमेन्ट गर्नुहोस्