• सुँगुरको मासुको मुल्य बढ्ने सम्भावना

  • सुँगुरको मासुको मुल्य बढ्ने भएको छ । मूलभूमी चीनका सुँगुर फार्मबाट शहरमा हुने आपुर्ति बुधबार २० प्रतिशतले घटेपछि मिसेलिन–स्टार पाएको एउटा स्थानीय रेस्टुरेन्टले एउटा परिकार कटौती गरेको छ ।

    मूलभूमीमा अफ्रिकी स्वाईन फ्लु फैलिएसँगै, सीमा पारीबाट आयात गरिने सुँगुरको संख्या ५१ प्रतिशतले घटेको छ । फुड एन्ड ईन्भाईरोन्मेन्टल हाईजिन डिपार्टमेन्ट (एफईएचडी) को तथ्याङ्क अनुसार डिसेम्बर २० मा ४ हजार ३ सय २६ वटा सुँगुर आयात गरिएकोमा डिसेम्बर २६ मा जम्मा २ हजार १ सय ३५ वटा मात्रै आयात गरिएको छ ।

    हङकङ लाइभस्टक ईन्डस्ट्री एसोसिएसनका अध्यक्ष चोङ चुङ–पिङले विशेष गरी विदाको समयमा माग घट्ने भएकाले शहरमा थोरै संख्यामा सुँगुर ढुवानी भईरहेको बताए ।

    “हङकङमा सुँगुरको अभाव भए, मासुको मुल्य वृद्धि भएको प्रष्ट देख्न सकिन्छ । तर सुँगुरको मासुको मुल्य स्थिर छ, यसको अर्थ अहिलेलाई आयात गरिएका सुँगुरको संख्या पर्याप्त छ,” उनले भने ।

    तर पोर्क ट्रेडर्स जेनरल एसोसिएसन अफ हङकङका महासचिव हुई वाई–किनले शहरमा मूलभूमीबाट सुँगुर आपुर्ति अस्थिर हुनसक्ने संकेत दिएका छन् ।

    “सुँगुरको मासुको मुल्यवृद्धि हुने निश्चित छ,“ उनले भने ।

    हङकङ र मकाउलाई सुँगुर निर्यात गर्ने मूलभूमीका १५४ मध्ये २० वटा फार्मले सीमापारी पठाउन बन्द गरेको जेनरल एडमिनिस्ट्रेसन अफ कस्टम्सले बुधबार जनाएको छ । जियाङसी प्रान्तमा पछिल्लो समय प्रभावित दुई फार्म संक्रमित क्षेत्र नजिकै रहेका छन् । छिमेकी ग्वाङदोङ प्रान्तमा १७ वटा र हुबेई प्रान्तमा एउटा फार्म प्रभावित भएका छन् ।

    मानिसमा नसर्ने अफ्रिकी स्वाईन फ्लु अगष्टको प्रारम्भमा लियाओनिङ प्रान्तका फार्महरूमा पहिलो पटक देखापरेको थियो । त्यसयता स्वाईन फ्लु फिभरको कम्तिमा ९२ वटा घटनाहरू मूलभूमीका सुँगुर फार्ममा देखिए  । योसँगै आपुर्ति नियन्त्रण गर्न थालिएको हो । राज्यद्वारा सञ्चालित चाईना न्युज सर्भिसले जनाए अनुसार २३ प्रान्त वा क्षेत्रमा स्वाईन फ्लुका घटना देखिएका छन् भने ६ लाख ३० हजारभन्दा धेरै सुँगुर मारिएका छन् ।

    हङकङमा हालसम्म यो भाईरस देखा परेको छैन । एफईएचडीका एक अधिकारीले शहरमा सुँगुर निर्यात गर्ने अनुमति पाएको कुनै पनि फार्मले संक्रमण भएको जानकारी नदिएको बुधबार राती बताएका छन् । पछिल्ला दिनहरूमा बजार मुल्य स्थिर रहेकोले सुँगुरको मासुको मुल्य कहिले बढ्छ भन्न नसकिने हुईले बताए ।

    “केही पसलहरूले थोरै मुल्यवृद्धि गरेका हुनसक्छन् । तिनीहरू बेग्लै घटना हुन् । तर समग्रमा, हामीले मुल्य समान राखेका छौं,” उनले भने ।

    तर केही स्थानीय रेस्टुरेन्टमा प्रभाव पर्न थालिसकेको छ ।

    हङकङमा सबैभन्दा सस्तो मिसेलिन–स्टार डिम सम उपलब्ध हुने भनिएको तिम हो वान रेस्टुरेन्टका व्यवस्थापक माक क्वाई–पुईले स्वाईन फ्लु देखिएपछि शाम शुई पो शाखामा सुँगुरको कलेजो आपुर्ति बन्द भएको बताएका छन् । रेस्टुरेन्टमा सामान्यतया २० क्याट्टी (१२ केजी) कलेजो आपुर्ति हुने गरेकोमा बुधबार ११ वा १२ क्याट्टी मात्रै आएको उनले बताए । माक र उनका सेफहरूले “पोर्क लिभर राईस नुडल रोल” नामक लोकप्रिय परिकारका लागि सुँगुरको कलेजो बचाउने निर्णय गरेका छन् ।

    “बाँकी रहे, हामी सिउ माई बेच्नेछौं । नभए, बेच्दैनौं,” उनले भने ।

    लोकप्रिय चीनियाँ डम्प्लिङ सिउ माई बुधबार दिउँसो २ बजे नै सबै बिक्री भएको उनले बताए । माकले रेस्टुरेन्टको सुँगुरको मासुको थोक मुल्य स्थिर रहेको बताएका छन् । रेस्टुरेन्टसँग गरिएको सम्झौता अनुसार आपुर्तिकर्ताले मुल्यवृद्धि हुनु एक वा दुई महिना अघि नै अग्रिम सूचना दिनुपर्ने शर्त गरिएको छ । त्यसैले रेस्टुरेन्टले डिम समका लागि बढी शुल्क तोकेको छैन ।

    तियान्जिनमा सुँगुरको रगत प्रयोग गरेर बनाईएको प्रोटिन पाउडरका दुई ब्याचमा भाईरस देखा परेको मूलभूमीका भन्सार अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् । तर हङकङको एग्रिकल्चर, फिशरीज एन्ड कन्जर्भेसन डिपार्टमेन्टले निरीक्षणका क्रममा स्थानीय सुँगुर फार्महरूले त्यसता उत्पादन प्रयोग नगरेको पाईएको बताएको छ ।

  • कमेन्ट गर्नुहोस्