• नयाँ वर्षको काउन्टडाउनमा तीन लाख सहभागी हुने अनुमान

  • नयाँ वर्षको पूर्वसन्ध्यामा सन् २०१९ को ‘काउन्टडाउन’ मनाउन भिक्टोरिया हार्बरमा करिब तीन लाख मानिस सहभागी हुने प्रहरीको अनुमान छ ।

    सोमबार हुने १ करोड ४० लाख हङकङ डलर लागतको आतिशबाजी र हार्बर क्षेत्रको ‘लाईट शो’ हेर्न हङकङ आईल्यान्डको समुद्रकिनार नजिकै ३० हजार र काउलुन वेस्ट मा २ लाख ३० हजारदेखि २ लाख ७० हजार सहभागी हुने प्रहरीले अनुमान गरेको छ । यसका लागि प्रहरीले सडक बन्द गर्ने तयारी गरेको शुक्रबार जनाएको छ ।

    भीड व्यवस्थापनका लागि वेस्ट काउलुन र हङकङ आईल्यान्डका केही प्रमुख सडकहरू बन्द गरिनेछन् । चीम चा चुई र ईस्ट चीम चा चुईमा नेथन रोड, क्यान्टोन रोड र हुङ होम बाईपास बेलुका ८ बजेदेखि बन्द गरिनेछ । स्टार फेर्री टर्मिनस र काउलुन पार्क ड्राईभ पनि राती साढे आठ बजेदेखि बन्द गरिनेछ ।

    कार्यक्रम सम्पन्न भएपछि भीडको सहज प्रस्थान सहजीकरण गर्न, हुङ होम प्रोमिनाड वरपरका क्षेत्र राती ११ बजेदेखि बन्द गरिनेछ । किम्बर्ली स्ट्रिट र हिलवुड रोड लगायतका क्षेत्रमा पनि साढे एघार बजेदेखि सडक बन्द गरिनेछ ।

    काउलुन वेस्ट ट्राफिक युनिटका सुपरिन्टेन्डेन्ट चुङ हुङ–यीपले भीडभाडबाट बच्न मानिसहरूलाई सार्वजनिक यातायात सकेसम्म धेरै प्रयोग गर्न सुझाव दिएका छन् ।

    “ट्राफिक जाम निम्त्याउन सक्ने गैरकानुनी रूपमा पार्क गरिएका सवारी साधन जफत गर्ने लगायत प्रहरीले कडा कारवाही गर्नेछ,” चिङले भने ।

    हङकङ आईल्यान्डपट्टि ईस्ट प्वाईन्ट रोड र लकहार्ट रोडजस्ता कजवे बेका शपिङ क्षेत्रमा अपरान्ह ४ बजेदेखि सडक बन्द गरिनेछ । परिस्थितीको आधारमा साउथबाउन्ड ग्लोचेस्टर रोड, ग्रेट जोर्ज स्ट्रिट र सुगर स्ट्रिटमा बेलुका ६ बजेदेखि र किङ्स्टन स्ट्रिट र क्लिभलेन्ड स्ट्रिटमा बेलुका ८ बजेदेखि सडक बन्द हुनसक्नेछ । राती ९ बजेदेखि, कजवे बे टाईफुन शेल्टर बाहिर रहेको भिक्टोरिया पार्क रोडस्थित ‘ले–बाई’ पनि बन्द हुनेछ ।

    वान चाईमा, राती ९ बजेदेखि एक्सपो ड्राईभ बन्द गरिनेछ । लान क्वाई फोङ, विङ वाह लेन र ओन लान स्ट्रिट बेलुका ६ बजेदेखि बन्द गरिनेछ । वेलिङ्टन स्ट्रिट र विन्डहम स्ट्रिट बेलुका ७ बजेदेखि कुनै पनि समयमा बन्द हुनेछ ।

    सुपरिन्टेन्डेन्ट अफ ईन्फोर्समेन्ट एन्ड कन्ट्रोल अफ ट्राफिक हङकङ आईल्यान्ड, ली मान–यिउले सवारी चालकहरूले सडक बन्द गर्नेबारे रेडियोमा गरिने घोषणाहरू ध्यान दिएर सुन्नुपर्ने बताए ।

    “खतराबाट जोगिन, राजमार्गमा सवारी चलाई रहँदा कार रोकेर वा गति कम गरेर आतिशबाजी नहेर्नुहोला,” लीले भने ।

    काउन्टडाउनको क्रममा पर्यटन बोर्डको १० मिनेट लामो “पाईरोम्युजिकल” प्रदर्शन गरिनेछ । यसमा आतिशबाजी, पाईरोटेक्निक्स, बत्तिको झिलिमिली र संगीत भिक्टोरिया हार्बरमा प्रदर्शन गरिनेछ ।

    च्योङ क्वान ओस्थित ईस्टप्वाईन्ट सिटी, डायमन्ड हिलस्थित प्लाजा हलिवुड, शा तीनको न्यु टाउन प्लाजा, तुयन मुनस्थित हङकङ गोल्ड कोस्ट पियाज्जा र चीम चा चुईको द वान लगायतका शपिङ सेन्टरमा पनि काउन्टडाउन आयोजना गरिनेछ ।

  • कमेन्ट गर्नुहोस्