• “कोईन योङ मास्टर” बाट पैसा फिर्ता माग्दै लगानीकर्ताहरू

  • थुप्रै हङकङेलीहरूले क्रिप्टोकरेन्सी “उत्पादन गर्ने मेसिन” मा लगानी गर्न फसाईएको दाबी गरेका छन् । अघिल्लो महिना आकाशबाट पैसा बर्साउने ”कोईन योङ मास्टर” को लगानी योजनामा उनीहरूले करिब ३० लाख हङकङ डलर गुमाएको बताएका छन् ।

    २४ वर्षिय क्रिप्टोकरेन्सी व्यापारी वोङ चिङ–कितलाई चार जना लगानीकर्ताले सबै लगानी फिर्ता गर्न आईतबार माग गरेका छन् । समूहलाई डेमोक्रेटिक पार्टीले सहयोग गरिरहेको छ । वोङको क्रिप्टोकरेन्सी उत्पादन गर्ने मेसिनमा लगानी गरेपछि ठगिएको दाबी गर्ने २० जनाभन्दा धेरैबाट उजुरी परेको पार्टीले जनाएको छ । “क्रिप्टो माईनिङ” यस्तो प्रकृया हो जसले एउटा कम्प्युटर प्रोग्राम प्रयोग गरेर “भर्चुअल करेन्सी” उत्पादन गर्दछ ।

    पीडित लगानीकर्ताहरू २० देखि ४९ वर्ष उमेरका छन् । प्रत्येकले २० हजार देखि १० लाख हङकङ डलरसम्मको घाटा बेहोरेको पार्टीले जनाएको छ । केहीले यस अघि नै प्रहरीमा उजुरी पनि गरेका छन् ।

    वोङलाई अनलाईन जगतमा “कोईन योङ मास्टर” भनेर पनि चिनिन्छ । गत महिना शाम शुई पोको एउटा भवनबाट कम्तिमा ६ हजार हङकङ डलर नगद “वर्षा” गरिएको घटनामा उनी संलग्न भएको अनुमान छ । वोङले आफ्नो संलग्नता नरहेको बताएका छन् । तर घटनाको केही क्षणअघि वोङले पोस्ट गरेको एउटा भिडियोमा उनी एउटा महँगो गाडीबाट निस्किएको र वरपरका मानिसहरूलाई “आकाशबाट पनि पैसा खस्छ” भन्नेमा विश्वास गर्छन् किन गर्दैनन् भनेर प्रश्न गरेका थिए ।

    आफुलाई “फाईल क्याश कोईन” को सह–संस्थापक बताउने वोङ क्रिप्टोकरेन्सी प्रवर्द्धन गर्ने एउटा फेसबुक पेज र थुप्रै अनलाईन समूह सञ्चालन गर्दछन् ।

    शाम शुई पोको घटनापछि, सार्वजनिक स्थलमा उच्छृंखल व्यवहार गरेको शंकामा उनलाई गिरफ्तार गरिए पनि धरौटीमा छुटेका थिए । आईतबारको दिनसम्म उनीमाथि कुनै अभियोग छैन ।

    आफुलाई  लगानीकर्ता बताउने व्यक्तिहरूले वोङले उनीहरूलाई “फाईलकोईन” नाम डिजिटल मुद्रा “उत्पादन गर्ने मेसिन” खरिद गर्न झुक्याएको आईतबार बताएका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत् वोङको क्रिप्टोरकेन्सीबारे थाहा पाएको र उनीहरूको लगानी तीन महिनाभित्र नाफामा परिणत हुने बताईएको दाबी गरेका छन् ।

    तर बजारमा अहिलेसम्म क्रिप्टोकरेन्सी कारोबार हुने वातावरण तयार नभएको उनीहरूले बुझे । लगानी फिर्ता गर्ने वाचा गरिए पनि पूरा नगरिएको उनीहरूले बताएका छन् ।

    आफुलाई चिउ बताउने एक लगानीकर्ताले १ लाख २० हजार हङकङ डलरभन्दा धेरै लगानी गरेको बताएकी छिन् ।

    “फाईलकोईन समयमा शुरू नभए लगानी फिर्ता हुने बताएका थिए,” उनले  भनिन्,“तर हामीले पैसा फिर्ता माग्दा, उनले ढिलाई गरे र हामीलाई खाली हात पठाउने विभिन्न बहाना बनाए ।”

    ती लगानीकर्ताहरूलाई सहयोग गरिरहेका शाम शुई पो डिस्ट्रिक्ट काउन्सिलर तथा डेमोक्रेट रेमन युएन होई–मानले कडाईका साथ क्रिप्टोकरेन्सी नियमन गर्न सरकारसँग आग्रह गरेका छन् ।

    त्यसको केहि समयपछि कसैले फोन मार्फत धम्की दिएको र त्यसबारे प्रहरीमा उजुरी गरेको उनले बताए । फोन गर्ने व्यक्तिले वोङ सम्बन्धि केही पनि नबताएको उनले बताएका छन् ।

    वोङले पनि आफ्नो फेसबुक पेजमा एउटा पोस्ट गर्दै आलोचकप्रति खनिएका छन् । लगानीकर्ताहरूको आरोपबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि उनलाई अन्यायपूर्ण ढंगले लक्षित गरिएको पोस्टमा उल्लेख गरेका छन् ।

    “म ‘माईनिङ मेसिन’ मात्र बिक्री गर्छु तर मलाई मानव हत्या गरेजस्तै व्यवहार गरियो । उनीहरूले पैसा कमाउँदा धन्यवादसम्म भन्दैनन् । घाटा हुँदा चाँहि, ठगी  गर्‍यो भन्छन्,” उलने भने ।

    “उनीहरूले पैसा कमाउँदा मसँग नाफा बाँड्दैनन् । तर पैसा गुमाउँदा, मसँग पैसा फिर्ता माग्छन् ।”

    उनको व्यापार प्रतिस्पर्धीहरूले चलाएको झूठो अभियान हो भन्ने आरोप विरूद्ध वोङले गत महिना खण्डन गरेका थिए ।

    उनले भनेका थिए, “के तपाईं ठगीको परिभाषा दिनु सक्नुहुन्छ ? उनीहरू मैले धोका दिएँ भन्छन् । उनीहरूले पैसा कमाएको भए, के उनीहरूले ठगियौं भन्थे ? व्यापारमा कि त पैसा कमाईन्छ कि गुमाईन्छ ।”

    “यदि कसैलाई धोका भएजस्तो लाग्छ भने उसले प्रहरीकहाँ उजुरी दिनुपर्छ ।”

    वोङको क्रिप्टोकरेन्सी व्यवसायमा लगानी गरेर ९ लाख ४० हजार हङकङ डलर ठगिएको दाबी गर्दै २९ देखि ४१ वर्षका नौ जना पुरूष र एक महिलाले प्रहरीमा उजुरी दिएको एक प्रहरी अधिकारीले बताएका छन् । प्रहरीले यस अघि वोङको अनुसन्धान गर्ने र अवैध नगद कारोबार गरे–नगरेकोबारे पनि छानविन गर्ने जनाएको थियो । उनको बैंक खातामा आठ अंक बराबरको रकम बचत रहेको देखिन आएको छ ।

    “ती २४ वर्षिय युवाले त्यति धेरै रकम कसरी आर्जन गरे खुलाउनुपर्छ । आम्दानीको श्रोत खुलाउन नसके अवैध नगद कारोबार गरेको हुनसक्ने सम्भावना हुन्छ,” ती अधिकारीले बताए ।

    वोङको जन्म नाम क्वान च-कित हो । यस अघि उनले पौडी प्रशिक्षकका रूपमा काम गरेका थिए । सन् २०१२ मा चोरी गरेको आरोपमा अदालतले दोषी गर्दै सजाय स्वरूप १ सय ६० घण्टा सामुदायिक सेवा गर्न फैसला गरेको थियो । त्यसपछि उनले आफ्नो नाम परिवर्तन गरेका हुन् ।

  • कमेन्ट गर्नुहोस्