• तेल र रसायन बोक्ने ट्याङ्करमा आगलागी

    लाम्मा आईल्यान्डभन्दा करिब एक नटिकल माईल पर तेल र रसाय बोक्ने अल्याक फर्च्युनमा भएको आगलागी
  • लाम्मा आईल्यान्डको समुद्रमा तेल र रसायन बोकेको एउटा ट्याङ्करमा मंगलबार आगो लागेपछि एकको मृत्यु हुनुका साथै अन्य तीन बेपत्ता भएका छन् ।

    आगोबाट बच्न पानीमा हाम फालेका वा खसेका २४ जना नाविक सकुशल उद्धार गरिएका छन् । उपचारका लागि चार जनालाई वान चाईस्थित रतनजी हस्पिटल लगिएको बुझिएको छ ।

    भियतनाममा दर्ता गरिएको तेल र रसायन बोक्ने उक्त ट्याङ्करको नाम अल्याक फर्च्युन हो । लाम्मा आईल्यान्डभन्दा करिब एक नटिकल माईल दक्षिणमा रहेको उक्त ट्याङ्करमा बिहान साढे एघार बजेतिर आगो लागेको प्रहरीले जनाएको छ ।

    घाइतेलाई मरिन पुलिस एबरडिन बेस लैजाँदै अग्निनियन्त्रकहरू

    घटना भएको समयमा कम्तिमा २५ जना चालक दल जहाजमा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    “एउटा विस्फोट भयो र जहाजबाट केही मानिसहरू पानीमा खसे,” एक प्रहरी अधिकृतले बताए ।

    मरिन पुलिसका जहाज सहित तीन वटा फायरबोट र एउटा सरकारी हेलिकप्टरलाई उद्धार कार्यमा परिचालन गरिएको ती अधिकारीले जानकारी दिएका छन् । उद्धारकार्य अझै जारी छ ।

    अल्याक फर्च्युन मंगलबार सुर्योदयअघि नै हङकङ आएको र अन्तिम पोर्ट कल ग्वाङदोङ प्रान्तस्थित दोङग्वानमा भएको बुझिएको छ ।

    डिस्कभरी बे र मुई वोसम्मका स्थानीयले ठूलो विस्फोट सुनेको र झ्यालमा कम्पन भएको बताएका छन् ।

  • कमेन्ट गर्नुहोस्