• न्युनतम ज्याला वृद्धि हुने

  • हङकङको न्युनतम ज्यालामा अहिलेसम्मकै धेरै वृद्धि हुने भएको छ ।

    सरकारले औपचारिक रूपमै अनुमोदन गरेपछि मंगलबारदेखि न्युनतम ज्याला प्रति घण्टा ३७.५० (४.८० अमेरिकी डलर) हङकङ डलर कायम हुनेछ ।

    यो निर्णयबाट करिब १ लाख ५० हजार कामदार लाभान्वित हुनेछन् । तीमध्ये अधिकांश सेक्युरिटी र सेवा रोजगारमा रहेका छन् । उनीहरू हाल न्युनतम ३४.५० हङकङ डलर प्रति घण्टा ज्याला दरमा काम गरिरहेका छन् । यसले व्यावसायिक क्षेत्रमा थप ७० करोड हङकङ डलरको आर्थिक भार थप्ने अनुमान गरिएको छ ।

    कार्यकारी परिषद्ले मंगलबारको बैठकमा ज्याला वृद्धि गर्ने प्रस्ताव अनुमोदन गरेको श्रोतले बताएको छ । छलफल गोप्य भएकोले नाम नखुलाउने शर्तमा श्रोतले यसको जानकारी दिएका हुन् । मिनिमम वेज कमिशनले गएको वर्ष नै ज्याला वृद्धि गर्न सुझाव दिएको बुझिएको छ ।

    कमिशन १३ सदस्यीय स्वतन्त्र निकाय हो । यसमा श्रम क्षेत्र, व्यावसायिक समुदाय, प्राज्ञिक समूह र सरकारका प्रतिनिधिहरू सदस्य हुन्छन् । समायोजन गरिएको नयाँ न्युनतम ज्याला दर मे १ देखि लागु हुनेछ ।

    हङकङले सन् २०११ देखि न्युनतम ज्याला नीति अवलम्बन गरेको हो । सो वर्ष न्युनतम ज्याला प्रति घण्टा २८ हङकङ डलर कायम गरिएको थियो । प्रत्येक दुई वर्षमा यसको पुनरावलोकन गरिन्छ । सन् २०१३ र २०१५ मा क्रमश: ७ र ८.३ प्रतिशतले वृद्धि गरिएको न्युनतम ज्याला सन् २०१७ मा ६.२ प्रतिशतले वृद्धि गर्दै प्रति घण्टा ३४ हङकङ डलर पुर्‍याईएको थियो ।

    पछिल्लो वृद्धिका बावजुद, हङकङको न्युनतम ज्याला अन्य धेरै विकसित मुलुकको तुलनामा अझै पनि थोरै नै छ । अष्ट्रेलियाले विश्वमै सबैभन्दा बढी ज्याला दिने गर्दछ । यहाँको न्युनतम ज्याला प्रति घण्टा १८.९३ अष्ट्रेलियाली डलर (१३.६० अमेरिकी डलर) कायम गरिएको छ । जर्मनीमा प्रति घण्टा १० अमेरिकी डलर र ताईवानमा भर्खरै मात्र ४.९ अमेरिकी डलर न्युनतम ज्याला कायम गरिएको छ ।

    हङकङ कन्फेडेरेसन अफ ट्रेड युनियन्सका कार्यकारी प्रमुख मुङ सिउ-तातले नयाँ कायम गरिएको ज्याला दरले न्युन आय भएका कामदारको जीवनशैलीमा खासै सुधार नल्याउने बताए । सन् २०११ यता शहरको कुल ग्राहस्थ उत्पादन १७ प्रतिशत बढेको र अर्थतन्त्र अनुसार नै वृद्धि हुँदा नयाँ ज्याला दर ४४ हङकङ डलर प्रति घण्टा हुने उनले बताए ।

    “मालिकहरूले पैसा कमाएका छन्, तर कामदारले त्यसको कुनै फल पाउँदैनन् । त्यसमाथि सरकारले न्युनतम ज्याला दर दुई वर्षमा पुनरावलोकन गर्छ । यसले गरिब कामदारको पारिश्रमिकलाई बजारको प्रवृत्ति र मुद्रास्फितीभन्दा धेरै पछाडी पारेको छ,” मुङले भने ।

    लिबरल पार्टीका विधायक फेलिक्स चुङ क्वोक-पानले कमिशनले अघिल्लो वर्ष नै सिफारिश गरेकाले यो वृद्धि अपेक्षित रहेको बताए ।

    “कार्यकारी परिषद्को अनुमोदन प्रकृया मात्रै हो । तर यो कुबेलाको निर्णय हो किनभने कमिशनले सिफारिश गरेको समयभन्दा अहिले हङकङको आर्थिक अवस्था भिन्न छ,” अमेरिका र चीनको व्यापार युद्धलाई उद्धृत गर्दै चुङले भने ।

    अक्सफाम हङकङ र चाईनिज युनिभर्सिटीले अघिल्लो महिना गरेको अध्ययनमा शहरको जीवनशैलीको आधारभूत मापदण्ड सुनिश्चित गर्न हङकङेलीहरूले कम्तिमा पनि ५४.७० हङकङ डलर प्रति घण्टा ज्याला पाउनु पर्ने निष्कर्ष निकालिएको थियो ।

  • कमेन्ट गर्नुहोस्