• पूर्व कार्यकारी प्रमुख डोनाल्ड चाङ रिहा

  •  

    पूर्व कार्यकारी प्रमुख डोनाल्ड चाङ १२ महिना जेल सजाय पूरा गरी मंगलबार छुटेका छन् । सार्वजनिक पदको दुरूपयोग गरेको अपराधमा उनलाई जेल सजाय भएको हो ।

    जेलबाट रिहा भएपछि रिस र घृणालाई पन्छाएको र मनमा कृतज्ञता मात्रै भएको चाङले बताए । उनलाई क्विन मेरी हस्पिटलको कस्टडियल वार्डबाट रिहा गरिएको हो । कठिन समयमा साथ दिने समर्थकहरूलाई धन्यवाद दिदैं ७४ वर्षिय चाङले बाँकी जीवन पत्नि सेलिना चाङसँग गुमनाम बिताउन चाहेको पनि बताए ।

    “आजबाटम घर जान सक्छु ।” चाङले मुस्कुराउँदै भने, “ परिवारसँग पुनर्मिलन हुनेछ । अबको सामान्य र शान्त अवकाश जीवन मेरी पत्निसँग बिताउनेछु ।”

    चाङले यसो भन्दा पत्नि सेलिनाले उनको हात समाईरहेकी थिईन् ।

    महिनौंपछि सञ्चारकर्मीसँग भएको भेटमा चाङलाई धेरैले प्रश्न सोधे । उनी पछि कार्यकारी प्रमुख बनेका ल्योङ चुन–यिङ विरूद्ध कुनै अभियोग नलगाउने अभियोजकहरूको पछिल्लो निर्णय कस्तो लाग्यो भनी सञ्चारकर्मीहरूले प्रश्न गरेका थिए । ल्योङमाथि लगाईएको भ्रष्टाचारको आरोप पछि फिर्ता लिईएको थियो ।

    “तपाईंलाई अप्ठ्यारो नभए म त्यस्तो तुलनामा गर्न चाहन्नँ । किनभने यसले मलाई मेरो मनमा भएको रिस र घृणाको स्मरण गराउनेछ,” चाङले भने ।

    “आज मेरो मनमा एउटै मात्र कुरा छ: कृतज्ञता ।”

    उनको ट्रेडमार्क बो–टाईमा सजिएका चाङले आफ्नो स्वास्थ्यबारे ठट्टा पनि गर्न भ्याए । उनलाई जेलबाट गएको शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।

    “म ७४ वर्ष पुगें । केही गडबडी भएको हुनसक्छ,” उनले भने । जेल बसाइँले पनि स्वास्थ्यमा प्रभाव पारेको हुनसक्ने उनले बताए । तर तुरून्तै स्वास्थ्यमा कुनै गम्भिर समस्या नभएको चाङले हाँस्दै सुनाए ।

    “मेरो स्वास्थ्यमा कुनै गम्भिर समस्या छैन,” उनले भने । यद्यपि स्वास्थ्य परीक्षणका लागि उनलाई शुक्रबार अस्पताल बोलाईएको छ ।

    जेलबाट निस्किएपछि सबैभन्दा पहिले पत्निसँग कुरा गर्न चाहेको उनले बताए । उनीहरूको विवाह भएको ५० वर्ष पुगेको छ ।

    “हामीलाई सातामा एक पटक मात्रै भेट्न दिईन्छ । एउटा शिशाको वारिपारि बसेर कुरा गर्छौं । छेवैमा हाम्रो कुरा सुन्ने कोही न कोही हुन्छ नै । म उनीसँग कुरा मात्रै गर्न चाहन्छु,” उनले भने ।

    उनी क्याथोलिक हुन् । दैनिक चर्च जाने उनको चाहना छ । उनले लामो समयदेखि एक कप कफीको आनन्द लिन चाहिरहेका छन् ।

    उनको मुद्दाको अन्तिम फैसला मे महिनामामा हुने चाङले बताए । गत जुलाईमा, कोर्ट अफ अपिलमा मुद्दा हारेपछि चाङलाई पुन: अति सुरक्षित स्ट्यान्ली प्रिजनमा पठाईएको थियो । तथापि उनको सजाय २० महिनाबाट घटाएर एक वर्ष कायम गरिएको थियो ।

    व्यापारी बिल वोङ चो–बाउको अप्रत्यक्ष स्वामित्वमा शेन्जनेको फेशनेबल फुतियान डिस्ट्रिक्टमा रहेको एउटा तीन तले पेन्टहाउसलाई लिएर उनी विरूद्ध मुद्दा लगाईएको थियो ।

    स्थानीय रेडियो स्टेशन वेभ मिडियालाई विभिन्न अनुमतिपत्र दिने जिम्मेवार व्यक्ति भए पनि कार्यकालमा सम्झौताबारे जानकारी नगराएकोले स्वार्थ बाझिएको भन्दै अभियोजकहरूले बहस गरेका थिए । उक्त रेडियो स्टेशनमा वोङकै बहुमत स्वामित्व छ ।

    दमबाट पीडित चाङलाई शुक्रबार राती पोक फु लामस्थित क्विन मेरी हस्पिटल लगिएको थियो । उनको उपचारबारे प्रष्ट जानकारी प्राप्त भएको छैन । दोषी करार गरेपछि उनलाई पटक–पटक अस्पताल पठाईएको थियो ।

    जेलबाट छुट्ने दिनसम्म अस्पतालमा भर्ना भएका कैदीबन्दीलाई अस्पतालबाटै रिहा गरिने करेक्सनल सर्भिसेस डिपार्टमेन्टका एक अधिकारीले जानकारी दिएका छन् । थप उपचार आवश्यक भए सम्बन्धित कैदीलाई कस्टडियल वार्डदेखि अन्य वार्डमा सार्न सकिने पनि उनले बताए ।

    सन् २०१७ मा अदालतले चाङलाई दोषी करार गरेपछि उनले केही सजाय पनि काटे तर उनको अपिल विचाराधिन भएकोले दुई महिनापछि उनी धरौटीमा रिहा भएका थिए । गत जुलाईमा अपिल कोर्टमा मुद्दा हारेपछि उनले थप ६ महिना जेलमा बिताए । विदा र असल व्यवहारको आधारमा चाङले जेलमा एक वर्षभन्दा कम समय बिताए ।

    बितेको दुई वर्षमा, चाङको दुईटा मुद्दाको सुनुवाई भयो । एउटामा उनले भ्रष्टाचारको आरोपबाट मुक्ति पाए । भ्रष्टाचारको दोश्रो मुद्दामा दुई भिन्न न्यायाधिश निर्णयमा पुग्न सकेनन् ।

    जेलमुक्त भएपछि पूर्व कार्यकारी प्रमुख चाङले अंगरक्षक र सवारी चालक सेवा फिर्ता पाएका छन् । कालो र नीलो सुट लगाएका ६ जना अंगरक्षक उनी अस्पतालबाट छुट्नु अघि नै आईपुगेका थिए ।

    उनी दोषी भएको फैसलाले एउटा प्रश्न उब्जिएको छ । सार्वजनिक सेवामा चार दशकभन्दा लामो समय बिताएका चाङजस्ता व्यक्तिले पेन्शन पाउँछन् कि पाउँदैनन् ? यसअघि प्रकाशित समाचारहरूमा उनको मासिक पेन्शन ८० हजार हङकङ डलर भएको खुलाईएको थियो ।

    सिभिल सर्भिस ब्युरोका एक अधिकारीले कानुन उल्लंघन गर्ने सार्वजनिक पद धारण गरेका व्यक्तिले शहरको छवि र सरकारी सेवामा सर्वसाधारणको विश्वासमाथि गम्भिर क्षति पुर्‍याए वा पुर्‍याएनन् भनेर कार्यकारी प्रमुखले निर्णय गर्नुपर्ने बताए । पेन्शन अर्डिनेन्सलाई उद्धृत गर्दै परिस्थितिको आधारमा यस्ता सरकारी कर्मचारीको पेन्शन कटौती वा रद्द पनि हुनसक्ने उनले बताए ।

    सफाई नपाए पूर्व कार्यकारी प्रमुखलाई प्रदान गरिने सेवा सुविधा चाङले प्रयोग गर्न हुन्छ कि हुँदैन भनेर केहीले प्रश्न गरेका छन् ।

    यस अघि कन्स्टिच्युसनल एन्ड मेन्ल्यान्ड अफेयर्स ब्युरोका एक अधिकारीले यस्तो बताएका थिए : “कुनै पूर्व कार्यकारी प्रमुखले प्रवर्द्धनात्मक र प्रोटोकल सम्बन्धी कार्यसम्पादन नगरे…सो अवधिमा सम्बन्धित श्रोतलाई सरकारले अन्य उपयुक्त प्रयोगमा पुनर्वितरण गर्नेछ ।”

    –क्रिस लाउ

  • कमेन्ट गर्नुहोस्