• वृद्ध भत्ता सम्बन्धी तनाव अन्त्य गर्न नयाँ भुक्तान योजना

  •  

    वृद्ध भत्ता संशोधन गर्ने सरकारको प्रस्ताव विरूद्ध भईरहेको चौतर्फी विरोध अन्त्य गर्न कार्यकारी प्रमुख क्यारी लामले विपन्न वृद्धका लागि दुई कल्याणकारी परिवर्तन सहित नगद भुक्तान गर्ने नयाँ योजना शुक्रबार घोषणा गरेकी छिन् ।

    कम्प्रिहेन्सिभ सोसल सेक्युरिटी एलोवेन्स (सीएसएसए) योजनामा गरिने परिवर्तनबारे सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको स्वीकार्दै सुधार गर्ने स्थान भएको कार्यकारी प्रमुखले बताईन् । तर दबाबसामु नझुक्ने लामले बताएकी छिन् ।

    नयाँ ईम्प्ल्वाईमेन्ट सपोर्ट सप्लिमेन्ट १ हजार ६० हङकङ डलर हुनेछ । सीएसएसएको नयाँ नियम अनुसार वयस्क र ६५ वर्ष माथिका वृद्धको दरबीच ठ्याक्कै यत्ति नै फरक छ ।

    वृद्ध भत्ता पाउनलाई न्युनतम उमेर ६५ वर्ष पुर्‍याएर ६० देखि ६४ वर्षका मानिसबाट त्यति रकम उठाउने विषयले शहरवासी आक्रोशित भएका थिए । अरू बेला विभाजित हुने व्यवस्थापिका परिषद्को च्याम्बर पनि यस पटक यो विषयमा एकजुट भएको थियो । प्यान–डेमोक्रयाट र प्रो–बेईजिङ क्याम्प एक भएको दुर्लभ घटना पनि भयो । यो सबैको एउटा साझा मुद्दा थियो ।

    मासिक भत्ता ६० देखि ६४ वर्षका सबै सक्षम सीएसएसए प्रापकले प्राप्त गर्ने लामले बताईन् ।

    “प्रापकले पाउँदै आएको अन्य कल्याणकारी सुविधासहित सप्लिमेन्ट पनि भुक्तान गरिनेछ र त्यसका लागि प्रापकले बेग्लै आवेदन दिनुपर्ने छैन,” लामले भनिन् ।

    सीएसएसए परिवर्तन गर्ने विषयमा एक साता लामो विरोध भएपछि सो मुद्दालाई प्रभावकारी रूपमा व्यस्थापन गर्न सकिन्थ्यो भन्ने उनको बुझाई छ ।

    “आज म के भन्दै र स्वीकार्दै छु भने, वास्तविक कार्यान्वयन र योजनामा सुधार गर्ने ठाउँ छ । र आजको घोषणा नीतिगत अभियान अझ प्रभावकारी र करूणामय रूपमा कार्यान्वय भएको सुनिश्चित गर्ने एउटा सुधारात्मक उपाय हो,” उनले भनिन् ।

    “म यसलाई पछि हटेको, दबावसँग गलेको वा प्रचारबाजी गरेको मान्दिनँ ।”

    लेबर एन्ड वेलफेयर सचिव डा. ल ची–क्वोङले नयाँ उपायहरू संक्रमणकालीन अर्थात् सप्लिमेन्टलाई पछि फिर्ता लिने कुनै योजना नभएको बताए ।

    लामले अन्य योजनाहरू पनि घोषणा गरेकी छिन् । सन् २०२० को मार्चसम्म मानिसहरूलाई रोजगार खोज्न सहयोग गर्ने सामाजिक कार्यकर्ताहरूको समूहको संख्या योजनाबद्ध रूपमा कटौती गर्ने योजनालाई स्थगित गर्ने उनले बताईन् । त्यसैले गरी सरकारी कन्ट्रयाक्टरले नियुक्त गरेका अदक्ष कर्मचारीको श्रम सुरक्षामा सुधार गर्ने अर्को योजनाबारे पनि उनले खुलाएकी छिन् । गत वर्ष घोषणा गरिएका सम्झौताका नयाँ शर्तहरू लागु भएपछि डिसेम्बर १०, २०१८ देखि मार्च ३१, २०१९ सम्म रोजगारमा नियुक्त गरिएकाहरू योजनाबाट लाभान्वित हुनेछन् ।

    यी तीन उपायले “तीन वटा उपयुक्त र तार्किक श्रम तथा कल्याणकारी नीतिको कार्यान्वयनमा सुधार” ल्याउने लामले बताईन् ।

    तर प्रतिपक्षका उक विधायकले नयाँ भत्तालाई तथ्याङ्कले सहयोग नगरको भन्दै आलोचना गरेका छन् ।

    आरटीएचकेको एउटा कार्यक्रममा शुक्रबार बिहान बोल्दै विधायक फर्नान्डो च्योङले भने,“सीएसएसएबाट लाभान्वित ६० देखि ६४ वर्षका कति वृद्धहरू अहिले काम गरिरहेका छन् ? तीमध्ये कति जना शारीरिक अपांगताका कारण काम गर्न सक्दैनन् ? सरकारले कुनै सान्दर्भिक संख्या दिन सक्दैन ।”

    घोषणा गरिएका नयाँ उपायहरू नयाँ वर्षको पहिलो संकटमा प्रशासनको लाज जोगाउनलाई घोषणा गरिएको उनले बताए ।

    “यो विपन्न वर्गलाई वास्तविक सेवा नभएर प्रशासनको लाज जोगाउने उपाय हो,” उनले भने ।

    प्रारम्भिक सीएसएस परिवर्तन गत वर्षको बजेटमा समावेश गरिएको थियो । विधायकहरूले नै बजेट पारित गरेकोले, अघिल्लो साता चौतर्फी आक्रोश पोखिंदा, उनीहरू आक्रोशित भएको देख्दा आफु चकित भएको लामले बताईन् । तर सो परिवर्तन एउटा ठूलो र महत्वपूर्ण दस्तावेजको सानो अंश भएको र एउटा नीतिगत परिवर्तनका लागि त्यसमा ढिलाई गर्न नसक्ने विधायकहरूले बताएका थिए ।

    सीएसएसले वयस्कलाई मासिक २ हजार ५ सय २५ हङकङ डलर र वृद्धलाई ३ हजार ५ सय ८५ हङकङ डलर भुक्तान गर्दछ । वृद्ध भत्ता पाउनलाई योग्य उमेर फेब्रुअरी १ देखि लागु हुनेछ ।

    रोजगारको खोजीमा रहेकाहरूलाई सहयोग गर्न सोसल डिपार्टमेन्ट सपोर्ट फर सेल्फ–रिलायन्त्र स्किम अन्तर्गत २६ वटा गैरसरकारी संस्थाले ४१ वटा समूह खडा गरेको थियो । उनीहरूले सीएसएसएका लाभान्वितहरूलाई सेवा पुर्‍याउँछन् । अडिट कमिशनको सिफारिशमा उनीहरूको संख्या यही मार्चमा कटौती गर्ने यस अघि योजना बनाईएको थियो ।

    लामले गत वर्ष डिसेम्बर १० मा कन्ट्रयाक्टरका लागि नयाँ शर्तहरू घोषणा गरेकी थिईन् । शुक्रबारको समाचारपछि सोही मितिदेखि ती शर्तहरू लागु हुनेछन् । शर्तहरू अप्रिल १ देखि लागु हुने अपेक्षा गरिएको थियो ।

    नयाँ शर्त अनुसार निरन्तर १२ महिनासम्म कामा गर्ने कर्मचारीका लागि ६ प्रतिशत उपदान; एक महिनाभन्दा धेरै काम गरेका कर्मचारीलाई वैधानिक विदाको समयमा पूर्ण पारिश्रमिक; र प्रतिकूल मौसममा काम गरेको प्रत्येक दिनमा ५० प्रतिशत बढी पारिश्रमिक वृद्धि वृद्धि गरिनेछ ।

  • कमेन्ट गर्नुहोस्