• एन्डी लाउको कन्सर्ट नहुने

    कार्यक्रम रोक्नुपरेको बताउँदै भावुक लाउ
  • क्यान्तोन-पप संगीतका सुपरस्टार एन्डी लाउ ताक-वाहको कार्यक्रम रद्द भएको छ । यस अघि डिसेम्बर १५ देखि जनवरी ३ सम्म हुने तय गरिएको कार्यक्रम लाउको गलामा समस्या भएपछि स्थगित गरिएको थियो ।

    “माई लभ एन्डी लाउ वर्ल्ड टुर इन हङकङ २०१८” का आयोजक फोकस ईन्टरटेन्मेन्टले कार्यक्रमको टिकट खरिद गरेका ८० हजार फ्यानले पैसा फिर्ता पाउने शुक्रबार साँझ जनाएको छ ।

    स्थगित कार्यक्रम फोकस ईन्टरटेन्मेन्टले सन् २०१९ को अन्त्यतिर गर्ने सम्भावना देख्यो । सोही अनुसार कम्पनीले लिजर एन्ड कल्चरल सर्भिसेस डिपार्टमेन्टलाई वर्षको अन्त्यमा कोलेसियमको कार्यक्रम स्थल उपलब्ध गराईदिन आवेदन पनि पठायो । तर डिपार्टमेन्टले आवदेन स्वीकृत गरेन ।

    “डिसेम्बर २०१९ मा हङकङ कोलेसियम बुकिङ गर्ने हाम्रो आवेदन अस्वीकृत भएको घोषणा गर्नुपर्दा हामीलाई दुख लागेको छ,” कम्पनीले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको छ । टिकटको पैसा फिर्ता लिने प्रकृयाबारे जनवरी ३१ मा घोषणा गरिने कम्पनीले बताएको छ । आवेदन स्वीकृत नहुनुको कारणबारे कम्पनीले केही खुलाएको छैन ।

    क्यान्टो-पप सुपरस्टार एन्डी लाउ

    एक घण्टाभन्दा थोरै समयमा प्राप्त १४ कमेन्टमा, फ्यानहरूले निराशा र दुख अभिव्यक्त गरेका छन् । प्रतिक्रिया दिनेमध्ये एक जोमेल ङले सरकारले त्यस्तो निर्णय गर्नुको कारण खुलाउन कम्पनीसँग अनुरोध गरेकी छिन् ।

    “कार्यक्रम रद्द हुँदा ८० हजारभन्दा धेरै फ्यानहरू प्रभावित भएका छन् । मजस्ता धेरै फ्यानहरू सिंगापुरबाट आएका छन् र वास्तविक मुल्यभन्दा साढे दुई गुणा बढी मुल्यमा टिकट खरिद गरेका छन्,” उनले लेखेकी छिन्,“फोकस ईन्टरटेन्मेन्टले कुनै स्पष्टिकरण नदिई, हामीबाट समझदारी खोज्दै आवेदन अस्वीकृत भएको भन्ने वक्तव्य मात्रै लेख्नुहुँदैन ।”

    ५७ वर्षिय लाउको कोलेसियममा यो १४औं कार्यक्रम थियो भने आठ वर्षको अन्तरालमा पहिलो विश्व यात्रा पनि हो । तर डिसेम्बर २८ मा भएको १४औं कार्यक्रममा लाउको गला अवरूद्ध भयो । उनले गाउन सकेनन् र कार्यक्रम स्थगित भयो । परिणाम स्वरूप बाँकी ७ वटा कन्सर्ट पनि रद्द गरिएका छन् । यो लाउको “वर्ल्ड टुर” को पहिलो चरण थियो । यस पटक २० वटा कन्सर्टको श्रृंखला तय गरिएको थियो ।

    “डाक्टरले मलाई गायन छोड्न भनेका छन्, तर म गायनलाई माया मार्न सक्दिनँ,” लाउले हजारौंको संख्यामा आएका आफ्ना दर्शक तथा श्रोतालाई खस्रो स्वरमा भनेका थिए ।

    लाउले विश्राम गरून् भनेर शुरूमा तीन वटा कार्यक्रम स्थगित गरिएको थियो । तर लाउ चाँडै निको नहुने छाँट देखिएपछि बाँकी कार्यक्रम पनि रद्द गरिएको आयोजकले पछि घोषणा गर्‍यो ।

  • कमेन्ट गर्नुहोस्