• सेन्ट्रल–वान चाई बाईपास खुल्यो

  • सेन्ट्रल–वान चाई बाईपास आईतबारदेखि खुलेको छ । बाईपास ३६ अर्ब हङकङ डलरको लगानीमा झण्डै एक दशक लगाएर बनाईएको हो ।

    साढे चार किलोमीटर लामो सेन्ट्रल–वान चाई बाईपासमा एउटा फ्लाईओभर र ३.७ किलोमीटर लामो एउटा सुरूङ पनि छ । यसले नर्थ प्वाईन्ट र सेन्ट्रल, विशेष गरी ग्लुचेस्टर रोड, हार्कोट रोड र कनट रोड सेन्ट्रलमा हुने ट्राफिक जाम हटाउने अपेक्षा गरिएको छ ।

    यस अघि सेन्ट्रलदेखि आईल्यान्ड ईस्टर्न करिडरसम्म यात्रा गर्दा आधा घण्टा लाग्ने गर्थ्यो । अब यो दुरी पूरा गर्न पाँच मिनेट मात्रै  लाग्नेछ भने शहरका अन्य भागको ट्राफिक पनि घटाउनेछ ।

    सबैभन्दा पहिले बाईपास पुग्नेमध्ये ५५ वर्षिय ट्याक्सी चालक ल्योङ तात–चोङ पनि एक थिए । मोटर ट्रान्सपोर्ट वर्कर्स जेनरल युनियनका कार्यकारी सदस्य समेत रहेका ल्योङले बाटोमा राखिएका ट्राफिक चिन्हहरू सवारी चालकले प्रष्टसँग देख्न सक्छन् कि सक्दैनन् भनेर हेर्न आएको बताए ।

    “कुनै विशेष समस्या छ कि भनेर म केही पटक यहाँ ओहोरदोहोर गर्नेछु र त्यसबारे युनियनलाई बताउनेछु । त्यसपछि युनियनले ट्रान्सपोर्ट डिपार्टमेन्टसँग कुरा गर्नेछ,” उनले भने ।

    ट्राफिक जाम हट्नु ट्याक्सी व्यवसायका लागि राम्रो हुने भएकोले यो बाईपास लिंकले ट्याक्सी उद्योगलाई धेरै फाईदा पुग्ने ल्योङले बताए । सेन्ट्रल र साई वान जाने यात्रुले वान चाई नर्थमा ट्राफिक जाममा बस्नु नपर्ने उनले बताए ।

    “स्थानीयहरूले यो यात्रा छिटोछरितो भएको पाउनेछन् । छिटो भए उनीहरू ट्याक्सी चढ्न ईच्छुक हुनसक्छन्,” उनले भने ।

    हङकङ ट्याक्सी ओनर्स एसोसिएसनका अध्यक्ष वोङ पो–क्योङले छिटोछरितो र आरामदायी यात्राका कारण ट्याक्सी चालकहरूको आम्दानीमा ५ प्रतिशत वृद्धि हुने अनुमान गरेका छन् ।

    “मैले भर्खर पूर्व र पश्चिमबाट यो बाटो गाडी कुदाएँ । यात्रा एकदमै आरामदायी छ र सबै ट्राफिक चिन्ह र बत्तिहरू पनि प्रष्ट देखिन्छ्न् । बाईपास काट्नलाई पाँच मिनेटभन्दा कम समय लाग्यो,” उनले आईतबार बिहान बताए ।

    “प्रवेश गर्नु अघि सवारी चालकहरूले कुन रूट समात्ने भन्ने निर्णय गर्नुपर्छ किनभने लेन परिवर्तन गर्न पाईदैन । हामीजस्ता व्यावसायिक चालकहरूलाई नयाँ रूटसँग परिचित हुन कुनै समस्या हुने म देख्दिनँ । नीजि कार चालकहरूलाई पनि यो सहज हुनेछ.” उनले भने ।

    बाईपासले वान चाईस्थित ग्लुचेस्टर रोड, भिक्टोरिया पार्क र वान चाई पायर वरपरका ट्राफिक जाम हटाउने वोङले विश्वास गरेका छन् ।

    “काममा जाँदा जाममा धेरै बेर फस्नु पर्दैन । त्यही भएर सबै यात्रुलाई यसबाट फाईदा पुग्नेछ,” उनले भने ।
    बाईपास दुई चरणमा खुल्नेछ । पहिले पूर्वतर्फ सुरूङ खण्ड जाने बाटो खोलिनेछ । बाईपास र रम्सी स्ट्रिट फ्लाईओभरको पश्चिम जाने सडक बन्न अझै एक महिना लाग्नेछ ।

    सन् २००९ मा निर्माण कार्य शुरू भएको बाईपास सन् २०१७ मा खुल्ने अपेक्षा गरिएको थियो । तर बजेट वृद्धि र प्राविधिक कठिनाइका कारण ढिलाई  भयो । शुरूमा २८ अर्ब हङकङ डलरको बजेटले नपुग्ने भएपछि सरकारले सन् २०१३ मा थप ८ अर्ब हङकङ डलर माग गरेको थियो । यसबाट विधायकहरू रूष्ट बनेका थिए ।

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad