एक तिहाई प्रिस्कूलमा ईन्फ्लुएन्जाको महामारी
सोमबार रातीसम्म हङकङका झण्डै एक तिहाई प्रिस्कूलमा ईन्फ्लुएन्जाको महामारी देखा परेको छ । शीतकालीन ज्वरोबाट प्रभावित विद्यालयहरू एक सातासम्म बन्द हुने भएका छन् ।
प्रभावित किन्डरगार्टेन र बालस्याहार केन्द्रको संख्या ३ सय १ पुगेको छ । सेन्टर फर हेल्थ प्रोटेक्सनको तथ्याङ्क अनुसार शहरका करिब एक हजार किन्डरगार्टेन र बालस्याहार केन्द्रमध्ये झण्डै ३० प्रतिशत शीतकालीन ज्वरोबाट प्रभावित भएका छन् । नयाँ संक्रमणहरू शनिबार अपरान्ह ४ बजेदेखि सोमबार अपरान्ह ४ बजेसम्म दर्ता गरिएका छन् ।
अधिकारीहरूले शुक्रबार पहिलो पटक प्रभावित विद्यालयहरू बन्द गर्ने घोषणा गरेका थिए । रोग फैलिन नदिन केही विद्यालयहरू शनिबारदेखि बन्द गरिए । चार दिनमा तीन जना संक्रमित भए विद्यालयमा महामारी फैलिएको मानिन्छ ।
सेन्टरका नियन्त्रक डा. वोङ का-हिङले महामारी “संकटग्रस्त चरण” पुगेको र संक्रमितको संख्या “अत्यन्तै उच्च” रहेको बताए । शहरका सबै १८ डिस्ट्रिक्टका थप अन्य किन्डरगार्टेनमा पनि संक्रमण फैलिएको छ । काउलुन सिटी, शा तीन र तुयन मुनमा सबैभन्दा धेरै संक्रमण फैलिएको छ । प्रत्येक स्थानमा थप ६ वटा विद्यालयहरू अस्थायी रूपमा बन्द हुँदैछन् । सबैभन्दा धेरै शा तीनका किन्डरगार्टेन बन्द भए । त्यहाँ भएका ८१ मध्ये ३५ वटा किन्डरगार्टेन प्रभावित छन् ।
“स्थानीय मौसमी ईन्फ्लुएन्जाको गतिविधि बितेको दुई सातामा निरन्तर वृद्धि भएको र केही समय अझै बढ्नसक्ने पछिल्लो तथ्याङ्कले देखाएको छ,” एक अधिकारीले बताए । महामारीबाट बच्न बालबालिका, ५० वर्षमाथिका व्यक्ति र बिरामी जोकोहीलाई यथाशिघ्र खोप लगाउन उनले आग्रह गरेका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार प्रिस्कूलहरूमा नयाँ संक्रमण देखिएको छ । गत साता विभिन्न स्थानमा २ सय ७ वटा नयाँ संक्रमण पहिचान गरिएका थिए । तीमध्ये १ सय ५५ वटा संक्रमण किन्डरगार्टेन र बालस्याहार केन्द्रमा देखापरेको थियो । शीतकालीन ज्वरो शुरु भएको डिसेम्बर र यो आईतबारबीच, विभिन्न संस्थाहरूमा ३ सय ३४ वटा संक्रमण देखापरेको छ । आईतबारसम्म १ सय ५५ जना वयस्क र ११ जना बालबालिका गम्भिर ज्वरोबाट ग्रस्त छन् । उनीहरूमध्ये ६४ जना वयस्कको मृत्यु भइसकेको छ ।
सोमबार साँझ, तीन वर्षे बालकलाई ईन्फ्लुएन्जा ‘ए’ को गम्भिर संक्रमण भएको जानकारी प्राप्त भएको छ । उनलाई याउ मा तेईस्थित क्वोङ वाह हस्पिटलमा जनवरी १५ मा भर्ना गरिएको छ । श्वासप्रश्वासमा समस्या भएपछि बालकलाई अस्पतालको बालरोग विभागको सघन उपचार केन्द्रमा सारिएको थियो । उनको स्वास्थ्यमा सुधार भएको बुझिएको छ ।
चुन वानस्थित अपांगता भएका व्यक्तिहरूका लागि सञ्चालित एउटा आवासीय स्याहार गृह र युन लङको एउटा बालस्याहार केन्द्रमा पनि ज्वरोको संक्रमण देखा परेको जानकारी भएको छ ।
ईन्फ्लुएन्जा संक्रमण भएका वा संक्रमणको शंका भएका व्यक्तिलाई हङकङ मेडिकल एसोसिएसनले एन्टीभाईरल उपचार गर्न चिकित्सकहरूलाई सोमबार सुझाव दिएको छ ।
“स्वास्थ्य परिक्षणबाट संक्रमण भएको पुष्टि भए, सकेसम्म चाँडो एम्पेरिकल एन्टीभाईरल उपचार शुरू गर्नुपर्छ,” संरूवा रोग सम्बन्धि एसोसिएसनको परामर्श समितिले वक्तव्य जारी गर्दै भनेको छ,“उपचार शुरू गर्नलाई, विशेष गरी मौसमी ईन्फ्लुएन्जा महामारीको समयमा, प्रयोगशालाबाट ईन्फ्लुएन्जा भाईरसको संक्रमण भएको पुष्टि गर्न आवश्यक छैन ।”