• गैरकानुनी माजोङ पार्लरबाट १ सय १४ जना गिरफ्तार

  • गैरकानुनी रूपमा खेलिने जुवातास विरूद्ध प्रहरीले मंगलबार गरेको कारवाहीमा एउटा २२ तले भवनबाट १ सय १४ जना गिरफ्तार गरिएका छन् ।

    शाउ केई वान मेन स्ट्रिट ईस्टस्थित ईस्टवे टावर्सको जुवा अखडामा छापा मार्दा १ सय ७० जनाभन्दा धेरैलाई प्रहरीले गिरफ्तार गरेको छ । भवनका ९ वटा पसलमा माजोङ पार्लर सञ्चालन गरिएका थिए । कारवाहीमा ४१ देखि ९१ वर्षका ६६ जना पुरूष  ४८ जना महिला समातिएका छन् । प्रहरीले ३३ हजार हङकङ डलर नगद र जुवाका चिप्स सहित ६१ वटा माजोङ टेबल र १ सय १७ थान माजोङ पनि जफत गरेको छ ।

    प्रारम्भिक अनुसन्धानमा ती पार्लरहरू थुप्रै गिरोहले कम्तिमा तीन महिनादेखि सञ्चालन गरेको खुलेको ईस्टर्न डिस्ट्रिक्टका चिफ ईन्सपेक्टर च्यान कित-फुङले बताए । पार्लरका अधिकांश ग्राहक पाका उमेरका स्थानीयहरू छन् ।

    “उनीहरूमध्ये केही नातिनातिनालाई विद्यालय छाडेर फुर्सदको समय कटाउन त्यहाँ आएका थिए,” उनले भने ।

    ती पार्लरहरू दैनिक बिहान १० देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने गरेको च्यानले बताए । त्यहाँ आउने ग्राहकहरूलाई  निशुल्क पेय पदार्थ दिने गरिएको थियो । एक घण्टा खेलेवापत प्रति व्यक्ति पचासदेखि एक सय हङकङ डलर सेवा शुल्क वा कमिशन लिने ती गिरोहले दैनिक एक लाख हङकङ डलरसम्म कमाउने गरेको च्यानले बताएका छन् । प्रहरीले शंका नगरोस् भनेर, केही जुवा अखडाहरूले नियमित ग्राहकलाई मात्रै सेवा दिने गरेको पनि उनले जानकारी दिए ।

    तीन महिना अघि भवनमा शंकास्पद गतिविधि भइरहेको सूचना पाएपछि प्रहरीले उक्त कारवाही गरेको हो । मंगलबार भएको प्रहरी कारवाहीमा एन्टी-ट्रायड स्टाफदेखि पुलिस ट्याक्टिल युनिटसम्म सहभागी थिए । कारवाहीको क्रममा ती ९ वटा माजोङ पार्लरभित्र पनि थुप्रै पार्लर सञ्चालन गरिएको पत्ता लागेको थियो । सबैभन्दा ठूलो पसलभित्र १० वटा कोठामा माजोङ पार्लर चलाईएको थियो ।

    गिरफ्तार गरिएका चार पुरूष र चार महिलाले जुवा अखडा व्यवस्थापन गर्ने गरेको शंका गरिएको छ । अन्यलाई गैरकानुनी जुवास्थलको संरक्षण र प्रवर्द्धन गरेको भन्दै हिरासतमा लिईएको हो । संदिग्ध सञ्चालकहरू ट्रायड सदस्य हुनसक्ने विश्वास गरिएको छ । समाचार तयार पार्दासम्म सोधपुछका लागि उनीहरूलाई हिरासतमै राखिएको थियो ।

    हङकङमा जुवाको अखडा सञ्चालन गर्नेलाई अधिकतम सात वर्ष जेलसजाय र ५० लाख हङकङ डलर जरिवाना हुने व्यवस्था छ । गैरकानुनी स्थानमा जुवा खेले अधिकतम ९ महिना जेलसजाय र ३० हजार हङकङ डलरसम्म जरिवाना हुनसक्छ ।

  • कमेन्ट गर्नुहोस्