प्लास्टिकको बोतल ल्याउनुहोस्, नगद लिनुहोस्
एससीएमपी
January 23, 2019
हङकङको सबैभन्दा ठूलो पेय पदार्थ उत्पादकका अनुसार एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकका बोतल “रिसाईकल” गरे वापत हङकङवासीले चाँडै आर्थिक प्रोत्साहन पाउने भएका छन् । कम्पनीले अझ धेरै वाटर डिस्पेन्सर राख्ने योजना पनि बनाएको छ ।
प्लास्टिकजन्य फोहोर न्युनिकरणबारे सर्वसाधारणलाई शिक्षा दिन, वाटसन्स वाटरले ४ सय वटा “वाटर बोटल रिभर्स भेन्डिङ मेशिन” ल्याउने बुधबार घोषणा गरेको छ । ती मेशिनहरूले सबै ब्रान्डका २ सय ३० मिलिलीटर देखि १.८ लीटर क्षमताका एक हजार बोतल संकलन गर्नेछ ।
“हामीले यसलाई व्यावसायिक परियोजना बनाउने प्रयास गरेको होईन । पुनर्चक्रण गर्नु सबैको जिम्मेवारी हो त्यसैले हामी सबै ब्रान्ड संकलन गरिरहेका छौं । सबैलाई स्वागत छ, यद्यपि, शुरूमा पानीका बोतल मात्रै संकलन गरिनेछ,” ए. एस. वाट्सनका प्रबन्ध निर्देशक मिसेल च्यान वेन-मीले भनिन् । कम्पनीले यो अभियानलाई विस्तार गरी अन्य पेय पदार्थका बोतल संकलन गर्ने आशा गरेको उनले बताईन् ।

मेशिनमा बोतल राखेपछि, प्रयोगकर्ताहरूले कुपन वा उपहार पाउनेछन् ।
“उनीहरूले ‘ड्रप्स अफ फन’ नामक मोबाईल एप्लिकेसन डाउनलोड गर्नुपर्छ,” वाट्सन्स वाटरका मार्केटिङ महाप्रबन्धक एडमन्ड यु ताक-चिउले भने ।
“सदस्य बन्नुहोस्, मेशिनमा सदस्यता कोड स्क्यान गर्नुहोस्, त्यसपछि पानीको बोतलमा भएको बार कोड स्क्यान गर्नुहोस् र मेशिनमा बोतल राख्नुहोस् । प्रत्येक वाटसन्स बोतलका लागि, प्रयोगकर्ताले पाँच अंक पाउनेछन् र २५ अंक जम्मा भए उनीहरूले ५० हङकङ डलर बराबरको अनलाईन नगद कुपन पाउनेछन् । ती कुपनलाई उनीहरूले पार्कएन्डशपमा प्रयोग गर्न सक्नेछन् । पार्कएन्डशप यो परियोजनामा हाम्रो साझेदार हो ।”
गैर-सदस्यहरूले समेत मेशिन प्रयोग गर्न सक्ने भए पनि, उनीहरूले अंक पाउने छैनन् । एक पटक प्रयोग हुने पानीका बोतल पुनर्चक्रण गर्ने न्युन दरको पछाडि प्रोत्साहनको अभाव भएको युले बताए ।
“के फाईदा हुन्छ भन्ने सोंचेर मानिसहरू पुनर्चक्रण गर्दैनन । कहिलेकाँही ‘रिसाईक्लिङ बिन’ पुग्नु अघि नै उनीहरूले नजिकैको फोहोर राख्ने बिनमा बोतल फ्याँकिसकेका पनि हुनसक्छन्,” उनले भने ।
“सहजता मुख्य कुरा हो, त्यसपछि आउँछ प्रोत्साहन । त्यसैले हामीले पुरस्कार दिने प्रणाली शुरू गरेका हौं – जुन सेवा रिसाईक्लिङ बिनले दिन सक्दैन ।”
कम्पनीले सय वटा ‘रिफिलिङ मेशिन’ शुरू गर्ने योजना पनि बनाएको छ । परिक्षणकालमा ती मेशिनहरूले हङकङ डलर १ मा एक सय मिलिलिटर पानी बिक्री गर्नेछन् । यसले ग्राहकहरूलाई आफ्नै बोतल ल्याउन प्रोत्साहन गर्नेछ ।
गो ग्रिन परियोजना अन्तर्गत, पानी वितरक वाट्सन्स वाटरले आफुले उत्पादन गरेका बोतल आउने पाँच वर्षमा ५० प्रतिशत र सन् २०२९ सम्म शतप्रतिशत बोतल संकलन गर्ने लक्ष्य राखेको छ ।
ईन्भाईरोन्मेन्ट प्रोटेक्सन डिपार्टमेन्टका अनुसार सन् २०१६ मा, नगरबाट १० हजार ३ सय ४५ टन बराबरको ठोस फोहोर उत्पादन भएको थियो । सन् २०१५ को दाँजोमा यो १.८ प्रतिशत धेरै हो । दैनिक २ हजार १ सय ३२ टन उत्पादन हुने प्लास्टिक, खाना र कागजजन्य फोहोरपछि तेश्रो धेरै उत्पादन हुने फोहोर थियो ।
परियोजनामा विद्यालय, सामाजिक संस्था, व्यवस्थापन कम्पनी र खुद्रा व्यवसायी गरी कम्तिमा ५० वटा संस्थाले सहकार्य गर्न सहमत भएका छन् ।
आउने महिना हुने स्ट्यान्डर्ड चार्टर्ड हङकङ म्याराथोनमा दुई वटा मेशिन राखिनेछन् । मार्चसम्म थप १० वटा डिस्पेन्सर क्वुन तोङ, चुन वान, ताई पो, सेन्ट्रल र व्वाह्मपोका फोर्ट्रेस, पार्कएन्डशप र वाट्सन्सका खुद्रा पसलमा राखिनेछ ।
कमेन्ट गर्नुहोस्

















