• कोच र लाइट रेल ट्रेन ठोक्किदाँ ३० जना घाइते

  • चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा न्यु टेरिटोरिजको हुङ शुई किउमा एउटा कोच र लाइट रेल ट्रेन एक-आपसमा ठोक्किदाँ दुई चालक र २८ जना यात्रु घाइते भएका छन् ।

    दुर्घटनाका कारण ट्राफिक अव्यवस्थित भएपछि पारिवारिक भेटघाटका लागि आउँदैजाँदै गरेका त्यस क्षेत्रका स्थानीय प्रभावित भए ।

    दुर्घटना क्यासल पिक रोडस्थित नाइ वाइ लाइट रेल स्टेसन नजिकै सोमबार अपरान्ह ५:०७ मिनेटमा भएको हो । दुर्घटना हुँदा कोच खाली थियो भने ट्रेनमा कम्तिमा पनि २८ जना सवार थिए ।

    घटनास्थलको तस्बिरहरूमा ट्रेनले ६६ सिट क्षमताको कोचलाई दायाँपट्टि ठक्कर दिएको देखिन्छ । कोचका फुटेका सिसाहरू जमिनमा छरिएका थिए । कोचमा भएको संकेतले ग्रेट लिडर बसको उक्त कोच वान चाइदेखि तुयन मुनको आवासिय ब्लकसम्मको रूटमा चल्ने बुझिन्छ ।

    न्यु टेरिटोरिज नर्थ ट्राफिक हेडक्वार्टरको दुर्घटना अनुसन्धान टोलीका ईन्स्पेक्टर ली मान-याउले घाइतेहरूलाई घटनास्थल वरपरका तीन अस्पतालमा पठाउँदा सबै जना होशमै रहेको राती पौने आठ बजे जानकारी दिएका छन् । घाइतेमध्ये ८ देखि ७६ वर्षका १३ जना महिला र १५ जना पुरूष रहेका छन् ।

    “चालकले ट्राफिक संकेत हेरेनन्, सवारी साधन र चालकहरूको मानसिक अवस्था सबैबारे हामी अनुसन्धान गर्नेछौं,” लीले भने ।

    ६० वर्षिय कोच चालक बिहान पौने सात बजेदेखि काम गरिरहेको र  ब्रेथलाइजर परिक्षण पास गरेको पनि जानकारी दिए । हालसम्म कसैलाई पनि गिरफ्तार गरिएको छैन ।

    एमटिआर कर्पोरेसनका एक प्रतिनिधिले प्रहरीको अनुसन्धानमा कम्पनीले पूर्ण सहयोग गर्ने बताए ।

    “लाइट रेलमा भएको सुरक्षा क्यामेराको फुटेज समिक्षा गरेपछि, चालकले ट्राफिक संकेतको पालना गर्दै ट्रेन अघि बढाएको देखिन्छ,” उनले भने ।

    दुर्घटनाले ‘ओभरहेड इलेक्ट्रिकल केबल’ र धातुका टेकोमा गम्भिर क्षति पुर्‍याएको तथा मर्मत गर्नलाई कम्तिमा पाँच घण्टा लाग्ने पनि उनले बताए ।

    एमटिआर कर्पोरेसनले जनाए अनुसार दुर्घटनाका कारण प्रत्येक दिशामा रहेका लाइट रेल रूट ६१०, ६१४, ६१५ र ७५१ को मार्ग परिवर्तन गरेको तथा लाम तेइ र हुङ शुइ किउ स्टेसनमा रोकिने छैनन् ।

    ट्रेन सेवा सुचारू नभएसम्म प्रभावित यात्रुलाई बोक्न सिउ होङ र युएन लोङ तथा सिउ होङ र तिन शुइ वाइबीच नि:शुल्क शटल बस सेवा चलाईएको एमटिआर कर्पोरेसनका प्रतिनिधिले जनाएका छन् ।

  • कमेन्ट गर्नुहोस्