• प्रो–डेमोक्रेसी समूहलाई दिइने अनुदानमा कमी

  • यो वर्षको चिनियाँ नयाँ वर्ष मेलामा आएका खरिदकर्ताबाट हङकङका प्रो–डेमोक्रेसी समूहले थोरै मात्र अनुदान पाएका छन् । यसो हुनुमा हङकङको राजनीतिक शिथिलता मुख्य कारण भएको पार्टीका नेताहरूले बताए ।

    भिक्टोरिया पार्कमा सञ्चालन गरिएको उक्त ६–दिने मेलामा स्मारिका बिक्री र अनुदान सहयोगबाट डेमोसिस्टोले करिब ४ लाख ८० हजार हङकङ डलर संकलन गरेको जनाएको छ । समूहले लगातार तेश्रो वर्ष पनि अन्य समूहभन्दा धेरै रकम संकलन गरेको हो ।

    यद्यपि‚ डेमोसिस्टोका सदस्य एग्नेस चाउ चिङलाई व्यवस्थापिका परिषद्को उपनिर्वाचनमा उठ्नबाट प्रतिबन्ध गरिएको बेला गत फेब्रुअरीमा समूहले ७ लाख ८० हजार हङकङ डलर संकलन गरेको थियो ।

    हङकङ अलायन्स इन सपोर्ट अफ प्याट्रियोटिक डेमोक्रेटिक मुभ्मेन्ट्स अफ चाइना यो वर्ष दोश्रो स्थानमा आएको छ । सञ्चालन खर्च घटाउनुअघि समूहले यो वर्ष ३ लाख ५० हजार हङकङ डलर संकलन गरेको छ । झण्डै २ लाख ७७ हजार हङकङ डलर संकलन गरेको जस्टिस डिफेन्स फन्ड तेश्रो स्थानमा रह्यो । समूहले सन् २०१४ को अक्युपाइ आन्दोलनका ९ जना नेताको सुनुवाइ लगायत थुप्रै अभियन्ता र उदारवादी विद्वानहरूको कानूनी लडाइँमा सहयोग गर्नेछ । सन् २०१८ मा अलायन्सले करिब ३ लाख ७५ हजार र फन्डले झण्डै ३ लाख १० हजार हङकङ डलर संकलन गरेको थियो ।

    अन्य प्रमुख राजनीतिक दलका अनुदानहरू पनि यो वर्ष उल्लेखनीय रूपमा तल झर्‍यो । अघिल्लो वर्ष २ लाख ७० हजार हङकङ डलर उठाएको सिभिक पार्टीले यो वर्ष १ लाख ७४ हजार हङकङ डलर मात्रै संकलन गरेको छ । डेमोक्रेटिक पार्टीले पनि ९४ हजार हङकङ डलर मात्रै संकलन गर्‍यो । यो सन् २०१८ भन्दा ४० प्रतिशत थोरै हो ।

    कोष संकलनबारे डेमोक्रेटहरूको मिश्रित भावना थियो । यो नै पार्टीका अभियानमा नागरिक सहयोगको सूचक रह्यो । थुप्रै अभिन्ताहरूलाई जेलसजाय भएको सन् २०१८ को राजनीतिक उथलपुथलपछि कोष ओरालो झर्नु स्वाभाविक भएको केहीले बताए । अन्यले नागरिकले कम खर्च गर्न थालेको बताए ।

    चाउको अयोग्यता र अक्युपाई आन्दोलनको सुनुवाइपछि पूर्व विधायक नेथन ल क्वुन–चुङ जेलबाट रिहा भएकोले अघिल्लो वर्ष धेरै अनुदान संकलन भएको डेमोसिस्टोका अध्यक्ष इभान लाम लङ–यिनले बताए । समूहले सन् २०१७ मा कोष संकलन शुरू गर्दा ३ लाख ६० हजार हङकङ डलर संकलन गरेको थियो ।

    “पोहोर मेलाको समयमा राजनीतिक विवाद चलिरहेको थियो‚” लामले भने । “जनतालाई राजनीतिक थकान भयो भनेर म खासै चिन्तित छैन ।”

    उत्तरपूर्वी न्यु टेरिटोरिजमा नयाँ शहर निर्माण गर्ने सरकारको योजना विरूद्ध प्रदर्शन गरेका लिग अफ सोसल डेमोक्रेट्सका उपाध्यक्ष राफाइल वोङ हो–मिङलाई जेलसजाय भएपछि पार्टीले अघिल्लो वर्ष ३ लाख २० हजार हङकङ डलर संकलन गरेको थियो । पार्टीले संकलन गरेको यो सबैभन्दा धेरै रकम थियो । पछि उनलाई सर्वोच्च अदालतले रिहा गरेको थियो ।

    यो वर्ष समूहको पनि कोष संकलन घटेको छ । समूहले २ लाख ४० हजार हङकङ डलर संकलन गरेको छ । सन् २०१७ को चिनियाँ नयाँ वर्षको मेलामा समूले १ लाख ८० हजार हङकङ डलर संकलन गरेको थियो ।

    पार्टी अध्यक्ष एभरी उङ मान–युएनले अनुदान सहयोग गर्नेहरू सरकारका पछिल्ला नीतिबाट अझै रिसाएको बताए । सरकारले वृद्ध भत्ता पाउने न्युनतम उमेर ६० बाट बढाएर ६५ पुर्‍याएको छ ।

    “उनीहरूले यो वर्ष थोरै रकम अनुदान दिए‚ तर वोङको जेलसजायबाहेक अन्य धेरै कारण हुनसक्छ‚” उङले भने ।

    सिभिक पार्टीका उपाध्यक्ष बिल ले यान–पाउ पनि यो वर्ष कुनै जल्दोबल्दो राजनीतिक मुद्दा नभएकोमा सहमत भए पनि पार्टीले मेलाका लागि रणनीति परिवर्तन गरेको बताए ।

    “मेलालाई हामी कोष संकलनभन्दा पनि प्रवर्द्धनको स्थलका रूपमा प्रयोग गरिरहेका छौं‚” आफ्ना सबै सामग्री बिक्री भएको उल्लेख गर्दै लेले बताए ।

    जून फोर संग्रहालयका लागि रकम संकलन गरिरहेको अलायन्सका उपाध्यक्ष रिचर्ड चोइ यिउ–च्योङले पनि समर्थकबाट त्यस्तै व्यवहार देखिएको बताए ।

    “समग्रमा राम्रो प्रतिक्रिया पाएका छौं तर यो वर्ष अर्थतन्त्र ओरालो लाग्न सक्ने भएकाले मानिसहरूले थोरै मात्र खर्च गरे‚” उनले भने ।

  • कमेन्ट गर्नुहोस्