• सार्वजनिक यातायातमा छुट

  • हङकङका यात्रुवर्गले आजदेखि सार्वजनिक यातायातमा तीन सय हङकङ डलरसम्म अनुदान पाउनेछन् ।

    पब्लिक ट्रान्सपोर्ट सब्सिडी स्किम जनवरी १ देखि लागु गरिएको छ । कार्यकारी प्रमुख क्यारी लामले यात्रुलाई सुविधा दिन सन् २०१७ को नीति सम्बोधनमा योजनाबारे घोषणा गरेकी थिइन् ।

    योजना अन्तर्गत‚ सार्वजनिक यातायातमा मासिक चार सय हङकङ डलरभन्दा धेरै खर्च गर्नेलाई २५ प्रतिशत अनुदान दिइनेछ । यस्तो अनुदान रकम बढीमा तीन सय हङकङ डलर हुनेछ । अनुदान दिएवापत सरकारले वार्षिक २ अर्ब ३० करोड हङकङ डलर आर्थिक भार बोक्नुपर्नेछ ।

    जनवरीमा मात्रै‚ १८ करोड ६० लाख हङकङ डलर बराबरको अनुदान वितरण गरिएको छ । यसबाट सार्वजनिक यातायात प्रयोग गर्ने २३ लाख यात्रु लाभान्वित भएका छन् ।

    योजनाका लागि आवेदन दिनुपर्छ ? उमेर वा आम्दानीको हदबन्दी छ कि ?

    कुनै आवदेन वा अक्टोपस प्रि–रेजिष्ट्रेसन आवश्यक छैन । मासिक अनुदान हिसाब गर्दा अक्टोपस कार्डबाट भुक्तान गरिएको मासिक यातायात खर्च पनि स्वत: समावेश गरिनेछ ।

    लाभान्वितका लागि उमेर वा आयस्तरको कुनै हदबन्दी छैन । सार्वजनिक यातायातको मासिक खर्च चार सय हङकङ डलर नाघेसम्म सबै यात्रु यो योजनाबाट लाभान्वित हुनेछन् । वृद्ध वा अपांगताजस्ता भाडा छुटजस्ता योजनाका लाभान्वितहरू पनि यसमा समावेश हुनेछन् ।

    योजनामा कुन सार्वजनिक यातायात सेवा वा रूट समावेश गरिएका छन् ?

    योजनामा यातायात विभागबाट अनुमति पाएका एमटिआर‚ फ्रान्चाइज्ड बस सेवा‚ ग्रिन मिनिबस‚ फेर्री‚ ट्राम‚ रेड मिनिबसका तोकिएका रूट‚ काइतो–बाहिरी द्विपवासीलाई सेवा दिने साना फेर्री‚ रेजिडेन्ट र कर्मचारीलाई सेवा दिने नन–फ्रान्चाइज्ड बस सेवा लगायत वृहत सार्वजनिक यातायात समावेश छन् ।

    अनुदानप्राप्त रूटको पहिचानमा सहजिकरण गर्न‚ अक्टोपसका विज्ञापनभन्दा माथि वा कुनै प्रमाणित सवारी साधन वा जहाजमा योजनाको लोगो राखिनेछ ।

    योजनामा समावेश नगरिएका कुनै सार्वजनिक यातायात खर्चहरू पनि छन् ?

    तल उल्लेख गरिएका सार्वजनिक यातायात खर्च र यातायात टिकटहरू योजनामा समावेश गरिएका छैनन् ।

    • नगदमा भुक्तान गरिएका भाडा
    • ट्याक्सी भाडा
    • एमटिआरको एकतर्फी यात्राको टिकक (एयरपोर्ट एक्सप्रेस लगायत)‚ हाइस्पिड रेल टिकट‚ इन्टरसिटी टिकट‚ त्यही दिन फर्किने एयरपोर्ट एक्सप्रेस टिकट‚ लगायत ट्राभल एजेन्टबाट खरिद गरिएका एयरपोर्ट एक्सप्रेस राउन्ड ट्रिप टिकट
    • एकतर्फी एयरपोर्ट यात्राको बस टिकट
    • पर्यटकका लागि बुझाइएको टिकट खर्च
    • न्यु वर्ल्ड फर्स्ट बस सर्भिसेसको “रिक्सा साइटसिइङ बस” का लागि दिवा पास
    • अस्थायी अक्टोपस कार्डबाट भुक्तान गरिएका भाडा
    • फेर्रीमा साइकल‚ फ्राइट‚ सवारी साधन र घरपालुवा जनावर बोकेको भाडा

    मासिक अनुदान कसरी हिसाब गरिन्छ ?

    प्रत्येक अक्टोपसमा रेकर्ड गरिएका सार्वजनिक यातायात प्रयोग गर्दा भएका वास्तविक मासिक खर्चहरूको आधारमा प्रत्येक महिनाको अनुदान हिसाब गरिन्छ । सार्वजनिक यातायातमा चार सय हङकङ डलर खर्च गर्ने यात्रुलाई सरकारले २५ प्रतिशत अनुदान दिनेछ । यस्तो अनुदान अधिकतम तीन सय हङकङ डलरसम्म हुनेछ ।

    उदाहरणका लागि‚ कुनै महिना एक हजार दुई सय हङकङ डलर खर्च गर्ने यात्रुले अनुदान वापत दुई सय हङकङ डलर पाउनेछ ।

    अनुदान कसरी दाबी गर्ने ? यसको कुनै समयसीमा छ ?

    प्रत्येक महिनाको १६ तारिख र त्यसपछि‚ यात्रुले अक्टोपस एपबाट अघिल्लो महिनाको अनुदान संकलन गर्न सक्नेछन् । अक्टोपस सर्भिस पोइन्ट‚ एमटिआर स्टेसन‚ लाइट रेल ग्राहक सेवा केन्द्र‚ तोकिएका फेर्री घाट र कुनै पनि सेभेन–इलेभेन‚ सर्कल के वा वेलकप सुपरमार्केट लगायत शहरका एक हजार आठ सयभन्दा धेरै संकलन केन्द्रबाट पनि अनुदान संकलन गर्न सकिनेछ ।

    संकलन केन्द्र नीलो रंगका हुनेछन् । ती स्थानहरूमा भएका रिडरमा यात्रुवर्गले आफ्नो अक्टोपस कार्ड ट्याप गरे पुग्नेछ । अनुदान अक्टोपसमा जम्मा हुनेछ ।

    प्रत्येक महिनाको अनुदान तीन महिनाभित्र संकलन गर्न सकिनेछ । त्यसपछि मासिक रकम झिक्न पाइने छैन ।

    मासिक अनुदान रकमबारे कसरी जाँचबुझ गर्ने ?

    यात्रुवर्गले सार्वजनिक यातायातको मासिक खर्च र उनीहरूको अक्टोपसको अनुदान रकम उल्लिखित माध्यमबाट जाँचबुझ गर्नसक्नेछन् : योजनाको वेबसाइछ‚ अक्टोपस एप वा हटलाइन २९६९ ५५०० ।

    नगद वा अक्टोपसको भुक्तान सेवाबाहेकका माध्यमबाट तोकिएको यातायात टिकट शुल्कलाई कसरी समावेश गर्ने ?

    एउटा महिनामा भएको कुल सार्वजनिक यातायात खर्च हिसाब गर्न प्रयोगकर्ताले त्यसलाई अक्टोपस रेकर्डसँग समावेश गर्न सक्नेछन् ।

    फेर्री वा ट्रामका मासिक पास र एयरपोर्ट एक्सप्रेसको दुईतर्फी टिकट लगायत तोकिएको यातायात टिकटको आधारमा‚ यात्रुवर्गले टिकट खरिद गर्दा उनीहरूको अक्टोपस कार्ड बुझाएर अथवा एमटिआर स्टेसन‚ लाइट रेल ग्राहक सेवा केन्द्र र सम्बन्धित टिकट बिक्री गर्ने फेर्री घाटहरूमा भएका यातायात टिकटको सेल्फ–रेजिष्ट्रेसन पोइन्टमा टिकट दर्ता गराउन सक्नेछन् ।

    यस्ता सेल्फ–रेजिष्ट्रेसन मेसिनहरू हरियो रंगका हुन्छन् । यात्रुवर्गले पहिले भौतिक टिकट र त्यसपछि अक्टोपस कार्डलाई रिडरमा ट्याप गर्नुपर्नेछ ।

     

    –क्यानिक्स याउ

  • कमेन्ट गर्नुहोस्