• कियोस्कबाटै राहदानी नवीकरणको आवेदन

  • करिब ७८ लाख हङकङेलीले आउने मंगलबारदेखि फोटो बुथबाटै राहदानी नवीकरणका लागि आवेदन दिन सक्नेछन् । त्यसको पाँच दिनपछि नयाँ राहदानी पाइनेछ ।

    फोटो बुथलाई सेल्फ–सर्भिस कियोस्कको रूपमा पनि प्रयोग गर्न मिल्नेछ । अध्यागमन विभागका निर्देशक एरिक चाङ क्वोक–वाइले अझ सुरक्षित नयाँ राहदानीको डिजाइन तीन महिना अघि सार्वजनिक गरेका थिए ।

    वान चाइस्थित इमिग्रेसन टावर र ६ ओटा अन्य शाखामा त्यस्ता २८ ओटा सेल्फ–सर्भिस कियोस्क जडान गरिने विभागका सहायक निर्देशक च्यान तिन–चीले बताए । चार फूट १० इन्च (१.२५ मिटर) भन्दा अग्ला आवेदकले ती कियोस्कबाट फोटो खिच्नेबाहेक व्यक्तिगत विवरण भर्ने र आवेदन शुल्क पनि बुझाउन सक्नेछन् । सम्पूर्ण प्रक्रिया पूरा गर्न केहि मिनेट मात्रै लाग्ने च्यानले बताए । आवेदन बुझाएको पाँच दिनपछि आवेदकले कर्मचारी खटाइएको कुनै काउन्टरबाट राहदानी लिन पाउनेछन् ।

    “अन्तर्राष्ट्रिय मापदण्डको क्यामेरा जडान गरिएको छ । मेसिनले नै फोटो ठीक भए–नभएको तुरून्तै जाँच्नेछ । आवेदकले आँखा बन्द गरेको‚ मुख खोलेको वा चश्मा टल्किएको भए अर्को फोटो खिच्नुपर्ने जानकारी दिनेछ‚” च्यानले बताए ।

    क्यामेराले तीनोटा फोटो खिच्नेछ । आवेदकले मनपरेको तस्बिर रोज्न सक्नेछन् । कुनै पनि फोटो मन नपरे  थप ६ पटक प्रयास गर्न सक्नेछन् । मेसिनबाट फोटो खिच्न नचाहनेहरूले आफैं पनि फोटो ल्याएर बुझाउन सक्ने च्यानले बताए । ३२ पृष्ठको राहदानीका लागि तीन सय ७० हङकङ डलर र ४८ पृष्ठको राहदानीका लागि चार सय ६० हङकङ डलर शुल्क लाग्नेछ ।

    सेल्फ–सर्भिस कियोस्कबाहेक आवेदकहरूले विभागको मोबाइल एप‚ वेबसाइट‚ कुनै काउन्टर वा हुलाकबाट पनि राहदानी नवीकरणका लागि आवेदन दिन सक्नेछन् । विभागले सेल्फ–सर्भिस कियोस्कबाटै राहदानी संकलन गर्ने र नयाँ राहदानीमा आइडीको तस्बिर प्रयोग गर्ने सम्भावनाको अध्ययन गरिरहेको च्यानले बताए ।

    विभागले अघिल्लो वर्ष सात लाख एक हजार चार सय ६७ अओटा राहदानी जारी गरेको छ । सन् २००७ मा राहदानीको अहिलेको संस्करण सुरू भएपछि ७८ लाख राहदानी जारी भएका छन् ।

    नयाँ राहदानीमा अल्ट्राभायोलिट डिजाइन र बायोडाटा पृष्ठ छ । त्यसमा बहरको बहिनिया प्रतिकमाथि राष्ट्रिय ध्वजा राखिएको छ । यो बायोमेट्रिक राहदानीको २० ओटा अन्य विशेषता छन् ।

    डिसेम्बरमा सार्वजनिक गरिएको आर्टन क्यापिटलको विश्वव्यापी सूचक अनुसार हङकङको राहदानी विश्वकै १३औं शक्तिशाली राहदानी हो । हङकङका राहदानीवाहकलाई एक सय ६५ देश र क्षेत्रले बिना भिसा प्रवेश वा अन–अराइभल भिसा दिएका छन् ।

  • कमेन्ट गर्नुहोस्