• अमेरिकाको क्यालिफोर्नियामा भूकम्प

  •  

    जुलाई ५ । संयुक्त राज्य अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको रिजक्रेस्टमा यस भूकम्पको केन्दबिन्दु रहेको प्राप्त समाचारमा जनाइएको छ । उक्त स्थान यस राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको छ । अधिकारीहरुले रिजक्रेस्ट शहरमा केन्द्रविन्दु रहेको भूकम्प ६.४ रेक्टर स्केलको मापन गरिएको बताएका छन् ।

    अमेरिकाको यस पश्चिमी राज्य क्यालिफोर्नियाको यस भूकम्पबाट भौतिक क्षति पुगेको अनुमान गरिएको छ । गएको करिब दुई दशकयताकै शक्तिशाली मानिएको यस भूकम्पबाट भएको हुनसक्ने भौतिक तथा मानवीय क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन । अमेरिकी सञ्चारमाध्यमहरुले नै भौतिक या मानवीय क्षतिको बारेमा कुनै जानकारी प्राप्त नभएको जनाएका छन् ।

    क्यालिफोर्नियामा सन् १९९९ पछि यो पहिलो पटक यति शक्तिशाली भूकम्प आएको अधिकारीहरुले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु रहेको रिजक्रेस्ट क्यालिफोर्निया राज्यको दक्षिणी भूभागमा पर्दछ । करिब ६.६८ किलोमीटरको गहिराईमा भूकम्पको केन्द्रविन्दु रहेको पत्ता लागेको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ । क्यालिफोर्नियाको छिमेकी राज्य नेभादाको लस भेगासमा पनि भूकम्पको धक्का महसुश गरिएको बताइएको छ । तर पनि क्षति भने दक्षिणी क्यालिफोर्नियामा बढी भएको अनुमान गरिएको छ ।

    अमेरिकाको स्वतन्तत्रा दिवसको यहाँ भूकम्प गएको छ । भूकम्पपछि यहाँका केही स्थानमा आगलागी भएको पनि अधिकारीहरुले जनाएका छन् । तर ठूलो सङ्ख्याका उद्वारकर्मीहरु उद्वारको काममा खटिसकेका बताइएको छ । प्रारम्भिक सूचनामा केही नागरिक घाइते भएका र उनीहरुलाई उद्धार गरेर अस्पतालसम्म पुर्याइएको जनाइएको छ ।

    भूकम्पको केन्द्रविन्दु रहेको रिजक्रेस्ट यहाँको बाक्लो आवादी रहेको क्षेत्रभन्दा धेरै नै पर रहेकोले क्षति कम भएको अनुमान गरिएको केही अधिकारीहरुको भनाई छ । क्यालिफोर्नियाको आपतकालीन कार्यालयले भूकम्प र आगलागीपछि खोज तथा उद्धारको कार्य जारी रहेको बताएको छ ।

    उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थिति खराब नरहेको, नियन्त्रणमा रहेको जानकारी दिनुभएको छ । भूकम्पलगत्तै उहाँले गर्नुभएको ट्वीटमा यस्तो बताउनुभएको हो । यहाँका भौगर्भिक अधिकारीहरुले भूकम्पपछि निरन्तर परकम्प गइरहेको जनाएका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले पराकम्पहरु गइरहेको भन्दै अरु पनि कैयौँ परकम्प जानसक्ने बताएको छ ।

    –सिन्ह्वा

  • कमेन्ट गर्नुहोस्