• आन्दोलनकारीहरु मूलभूमिवासीको समर्थन खोज्दै

    विरोध कार्यक्रमको उद्गम बिन्दू सेल्सबेरी रोड चिमसाचुइमा प्रदर्शनकारीहरु । तस्बिर: एससीएमपी ।
  •  

    जुलाई ८ । सुपुर्दगी विधेयक खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरुले मूलभूमिवासीको समर्थन खोज्न थालेका छन् । सोही प्रयोजनका लागि हिजो उनीहरुले चिमसाचुईदेखि काउलुन वेस्टसम्म प्रदर्शन गरे ।

    परम्परागत प्रदर्शन स्थल हङकङ आइल्याण्डका कजवे बे, वानचाई, एडमिराल्टी, सेन्ट्रल कौलुनको मङ्कक भन्दा बाहिर गरिएको प्रदर्शनमा उल्लेखनीय सहभागिता रहेको थियो । आयोजकहरुले २ लाख ३० हजारको सहभागिता दावी गरेको प्रदर्शनी प्रहरीको अनुमानमा ५६ हजार रहेको थियो ।

    आन्दोलनकारीहरुको लक्ष्य काउलुन वेस्टस्थित सीमापार हाईस्पिड रेल स्टेसन रहेको थियो, जहाँ मूलभूमिवासीको बढी आवाज–जावत हुने गरेको छ । उक्त प्रदर्शनी जुलाई १ का दिन विधायिका परिषद् भवन कब्जामा जमाएको घटनापछिको सबै भन्दा ठूलो रहेको थियो ।

    प्रदर्शन शुरु भएपछि हाइस्पिड रेलका टिकट विक्री बन्द गरिएको थियो । टिकट काटेर स्टेसनभित्र प्रवेश गरेका एक प्रदर्शनकारीले अघिल्ला प्रदर्शनमा पक्राउ गरिएकाहरुलाई रिहा गर्न भन्दै नारा लगाएका थिए । उनले रेलमा चढ्न इन्कार गरेपछि बाहिर निकालिएको थियो ।

    विगतको तुलनामा शान्त देखिएका प्रदर्शनकारीहरु प्रहरी चिफ सुपरिवेक्षक रुपट डोभरप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए । जुन १२ का दिन प्रदर्शनकारीमाथि लाठी चार्ज र अश्रुग्यास प्रयोग भएको प्रहरीको नेतृत्व गरेका डोभरलाई दुव्र्यवहारका प्रयास भएका थिए । उनी त्यहाँबाट हिडेपछि प्रदर्शनकारीहरु शान्त बनेका थिए ।

    अत्याधिक बल प्रयोग गरिएको आरोपसहित प्रहरी ज्यादतीको निष्पक्ष छानबिन गर्न आन्दोलनकारीहरुले माग गरेपछि रक्षात्मक बनेको प्रहरी तुलनात्मक रुपमा नरम देखिएका थिए । प्रदर्शनीमा सहभागी प्रजातान्त्रिक विधायकहरुले पनि प्रहरीले अनावश्यक बल प्रयोग नगरेको बताएका छन् ।

    प्रदर्शनकारीहरुले  हङकङको झण्डा श्वेत–श्याम  रुपमा प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण सेल्सबेरी रोड, क्यान्टोन रोड, जोर्डन रोडलगायतका यातायात आवगमनमा असर परेको थियो भने नाथन रोड समेत प्रभावित भएको थियो ।

  • कमेन्ट गर्नुहोस्